हिरो ‘मेयर’ बन्न मिहिनेत गरिरहेका अभिनेता खगेन्द्रलाई अख्तियारले दिएको धक्का

हिरो ‘मेयर’ बन्न मिहिनेत गरिरहेका अभिनेता खगेन्द्रलाई अख्तियारले दिएको धक्का

काठमाडौँ : निर्देशक दीपेन्द्र के खनालले ‘मेयर’ फिल्मको निर्देशन गर्ने घोषणा गर्दा धेरैले बालेन शाहमाथि फिल्म बन्ने अड्कन गरेका थिए। तर हैन रहेछ। खनालले छानेको मेयर निस्किए दबङ पृष्ठभूमिबाट राजनीतिमा आएर दोस्रो पटक बागमती नगरपालिकाको मेयर बन्न सफल भरत थापा।

बागमती मत्स्य पोखरीलाई सरकारी खर्चमा तालको आकार दिएर आफ्नै नामबाट’ भरत ताल’ का रूपमा प्रचार गराउन सफल भरतको त्यही ‘सफलता’ हेरेर खनाल लोभिएका देखिए। यता दीपेन्द्र फिल्मका कलाकारहरू छान्न व्यस्त रहँदा उकेरामा भरतले सरकारी ओहदामा बसेर गरेका बहादुरीबारे समाचार प्रकाशित भइरहेका थिए।

ताल खन्दा निस्किएका गेग्रान विक्रीमा बदमासी गरेकोबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग छानबिनमै थियो। मधेस प्रदेशले भरत ताल क्षेत्रका लागि दिएको ३० करोडको खर्च अस्वाभाविक भएको विषय अख्तियारको छानबिनमा जोडियो। उता मधेस प्रदेशको सार्वजनिक लेखा समितिमा समेत थापाविरुद्ध उजुरी पर्यो।

तर खनाल रोकिएनन्। पर्दामा थापाको बहादुरी देखाउने पात्रको रूपमा अभिनयबाट समाजमा राम्रै छवि निर्माण गर्न सफल खगेन्द्र लामिछाने जोडिए। खगेन्द्रको अपोजिट भूमिकामा वर्षा राउत जोडिइन्। यतिमै रोकिएन कलाकारको लाइनअप।

अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी जस्ता कलाकार पनि लोभिए भरतको बहादुरीमा बन्न लागेको फिल्ममा अभिनय गर्न।

पहिला थापाकै परिवारका सदस्यहरू निर्माताको रूपमा देखिएका थिए। पछि निर्मातामा शर्मिला पाण्डे जोडिइन्। श्रृष्टिमां खनाल थिदै थिइन्। फिल्मका कार्यकारी निर्माता समेत रहेका निर्देशक खनालले फिल्मको मुर्हत गराउँदै ‘केही राम्रो काम गरेरै छोड्छु भन्ने दृढ सपना भएको मान्छेले कठिन परिस्थिति, घात प्रतिघातका बीचमा पनि सङ्घर्ष गरेर समाजलाई आर्थिक, सामाजिक र शैक्षिक रूपमा कसरी राम्रो बाटोमा डोर्याउन सक्छ भन्ने विषयमा फिल्म केन्द्रित हुने,’ दाबी गरेका थिए।

फिल्मको छायाङ्कन चलिरहँदा खगेन्द्रले सामाजिक सञ्जालहरूमा मेयर थापाको प्रभाव बाँड्न सक्रिय थिए। सर्लाहीमा थापाको प्रभाव कस्तो छ? उनले बनाएको भरत ताल कति भव्य छ भनेर पर्दामा देखाउन मात्रै हैन पहिल्यै समाजमा सकारात्मक छाप छाड्न सामाजिक सञ्जालमा खगेन्द्रले गरेको मिहिनेत खतरै थियो।

खनालकै भाषामा ’घात प्रतिघातका बीचमा पनि सङ्घर्ष गरेर समाजलाई आर्थिक, सामाजिक र शैक्षिक रूपमा कसरी राम्रो बाटोमा डोर्याउन सक्ने’ उनै पात्र थापाविरुद्ध बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयरको पहिलो कार्यकालमा देखिएको पाँच करोड ३३ लाख ५३ हजारको स्रोत देखाउन नसकेको भन्दै अकुत सम्पत्ति आर्जनको अभियोग लगाउँदै विशेष अदालतमा मुद्दा दायर गर्यो।

फिल्म मेयरको सुटिङमा अभिनेता खगेन्द्र र निर्देशक दीपेन्द्र के खनाल। तस्बिर स्रोत : खगेन्द्र लामिछाने।अब यो मुद्दा पनि फिल्मको एक भाग त पक्कै होला! किनकि फिल्मको सुटिङ सक्किएको छैन। थापा अदालत धाउने रियल सिनमा अभिनय गर्न खगेन्द्र पुन वर्कसपमा बस्नुपर्ने होला।

अनि यो बिचमा अन्य भ्रष्टाचारको मुद्दा दायर हुने सम्भावना पनि देखिएकै छ। अब दीपेन्द्रले खगेन्द्रमार्फत समाज बदल्ने थापाको क्यारेक्टरका लागि स्क्रिप्टमा कसरी काम गर्लान्? चासो त हुने नै छ।

सम्बन्धित समाचार

२८ चैत, २०८०, १६:५१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।