फिल्म मेयरमा बागमतीका विवादित मेयर भरत बन्दै अभिनेता खगेन्द्र

फिल्म मेयरमा बागमतीका विवादित मेयर भरत बन्दै अभिनेता खगेन्द्र

काठमाडौँ : सर्लाही वाग्मती नगरपालिकाका विवादित मेयर भरतकुमार थापाको कथामा उनको परिवारले बनाउन लागेको फिल्म ‘मेयर’ मा अभिनेता खगेन्द्र लामिछाने अनुबन्ध भएका छन्। खगेन्द्र मेयर थापाको चरित्रमा देखिन लागेका हुन्।

फिल्म मेयरमा आफू अनुबन्ध भएको अभिनेता लामिछाने आफैंले सार्वजनिक गरेका हुन्। उनले निर्देशक दीपेन्द्र के खनालसँगै तस्बिर राख्दै लेखेका छन्' मेयर पदको लागि होइन, चरित्रको लागि (चलचित्र मेयरमा) मलाई छनोट गर्नु भएकोमा निर्देशक दीपेन्द्र के. खनाल र निर्माताहरूमा धन्यवाद छ। तपाईंहरुले दिएको जिम्मेवारी म इमानदार भएर निर्वाह गर्नेछु।'

विवादित पृष्ठभूमिका थापा अवैध क्रसर सञ्चालनदेखि भरत ताल निर्माणमा भएको भ्रष्टाचारमा समेत मुछिएका पात्र हुन्। फिल्म दीपेन्द्र के खनालले निर्देशन गर्दैछन्। फिल्म माघको दोस्रो साताबाट छायाङ्कन लैजाने तयारी रहेको निर्माण टिमले जनाएको छ।

उनले ताल बनाउने आवरणमा निकालेको माटो विक्री गरेर अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो। 

सर्लाहीको बागमती नगरपालिकामा दोस्रो पटक मेयर बनेका उनले  झन्डै एक सय २१ बिघा क्षेत्रफल जग्गामा ५८ करोड सरकारी रकम खर्च गरेर ताल बनाए। तालको नाम बागमती पोखरी भए पनि आफ्नै नाममा 'भरत ताल' को रुपमा प्रचार गराए। 

फिल्मको निर्माता थापाकै छोरी अर्विसा थापा हुन्।  सागर मैनाली समेत निर्माणमा जोडिएका छन्। 

४ पुस, २०८०, १६:१८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।