बराहक्षेत्रमा बाह्रवर्षे महाकुम्भ मेला सुरू : राष्ट्रपतिले गरे उद्घाटन, यस्तो छ मेलाको धार्मिक आस्था

बराहक्षेत्रमा बाह्रवर्षे महाकुम्भ मेला सुरू : राष्ट्रपतिले गरे उद्घाटन, यस्तो छ मेलाको धार्मिक आस्था

काठमाडौं : सुनसरीको बराहक्षेत्रस्थित चतरामा बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला सुरू भएको छ।

आजबाट सुरू भएर वैशाख २८ गतेसम्म चल्ने पूर्ण महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे।  

कार्यक्रममा राष्ट्रपति पौडेलले कुम्भ मेलाले सबै जातजाति र धर्मलाई एकै सूत्रमा बाँध्ने मात्र नभई धार्मिक पर्यटन विस्तारमा समेत टेवा पुग्ने बताए। उनले मेलाले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहयोग पुग्ने बताए। 

राष्ट्रपति पौडेलले भने, ‘आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धन, विभिन्न जातजाति र धर्म, लिङ्ग र सम्प्रदायका व्यक्तिलाई एकै सूत्रमा बाँध्न सक्ने राष्ट्रियता, राष्ट्रिय एकता, स्वतन्त्रता, सार्वभौमिकताको संरक्षण, संवर्द्धन गर्न सकिने उद्देश्य राखेर आयोजना गरिएको कुम्भ मेला नेपालकै गौरव हो। गौरवपूर्ण यो अवसरलाई सदुपयोग गर्दै धार्मिक पर्यटकीय गनतव्यको विकास गर्ने कार्यमा योगदान पुग्नेछ भन्ने मैले विश्वास लिएको छु।’

यसपटकको कुम्भ मेलामा ३० लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्य रहेको मेला मूल आयोजक समितिका सचिव नारायण नेपालले बताए। 

उनले भने, 'एक महिनासम्म चल्ने उक्त मेलामा नेपालका सुदूरपश्चिम लगायत मध्यपश्चिम र अन्य भागबाट समेत श्रद्धालुहरूको सहभागिता रहने साथै भारत, भुटान, अमेरिका, अष्ट्रेलिया, क्यानडा, नर्वे, बेलायत लगायतबाट धार्मिक अगुवाको उल्लेखनीय सहभागिता रहने हाम्रो विश्वास छ।'

त्यस्तै, समितिले मेलामा आउने भक्तजनका लागि पाँच वटा स्थानमा स्नान स्थल निर्माणसँगै सुरक्षाका लागि दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ। 

भक्तजनका लागि खाने, बाहिरबाट आउने पाहुनालाई बस्ने र बिरामी हुँदा उपचारको व्यवस्थासमेत मिलाइएको सचिव नेपाल बताए। 'कुनै आपत् पर्दा २४ घण्टा नै दमकल र दुइवटा एम्बुलेन्स व्यवस्था गरिएको छ’, उनले भने। 

हिन्दु धर्मअनुसार अमृतको थोपा खसेको भारतको ४ स्थानमा प्रत्येक १२ वर्षमा महाकुम्भ स्नानको मेला लाग्ने गरेको छ। नेपालको सुनसरीस्थित चतरा र भारतको हरिद्वार, प्रयाग, नासिक र उज्जैन गरी विश्वमै जम्मा ५ स्थानमा १२/१२ वर्षमा कुम्भ मेला लाग्छ। जुन सबैभन्दा ठूलो मेलाका नामले चिनिन्छन्।

पाप पखालिने र मोक्ष प्राप्त हुने जनविश्वास रहेकाले विश्वभरका हिन्दु धर्मावलम्बी यो बेलामा कुम्भ मेलामा स्नान गर्न जाने गर्छन्। 

२७ चैत, २०८०, २२:०५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।