चौथो अंग : अनलाइन पत्रकारितामा फड्को मार्न सकिन्छ, तर शब्दमा मात्र बढी खेलेर प्रिन्टको डिजिटल भर्सन मात्र बन्दा बिग्रियो
शहरी बस्तीहरू बाढीमा किन डुबिरहेका छन् भन्ने समस्याबारे वैज्ञानिक अनुसन्धानको अभावमा आगामी वर्षहरूमा अवस्था अझै भयावह हुनेबारे विभिन्न अध्ययन तथा अनुसन्धानका प्रतिवेदनमा उल्लेख गरेको भेटिएपछि एक वर्ष अघि हामीले काठमाडौँको प्रमुख शहरी क्षेत्रमा कहाँ, कसरी, किन बाढी गइरहेको छ र कसलाई प्रभाव पारेको छ भनेर खोजी गर्यौ।
खोजी गर्दै जाँदा दुई सय यस्ता स्थान देखिए जहाँ पटक-पटक बाढी गइरहेको थियो। हामीले त्यहाँको स्थानीयसँग बाढीले पारेको प्रभाव बारे कुराकानी गर्यौ। ढलको अव्यवस्थित निकासदेखि खोलामा बस्ती बसेको लगायतका कुराहरू लेख्यौ।
कति स्थानमा पटक पटक बाढी जान्छ भनेर तथ्याङ्क कुनै सरकारी निकायले निकालेर दिएका होइनन्, हामीले सूचनाको लागि क्राउडसोर्सीङ गयौँ जसले पटक-पटक बाढी जाने स्थान पत्ता लगाउन सहयोग गर्यो।
यो सानो तथ्याङ्क होला तर यसले आफैँ तथ्याङ्क कसरी बनाउने भन्ने सिकिन्छ। पत्रकारितामा सरकारले अथवा सम्बन्धित निकायले व्यवस्थित रूपमा तथ्याङ्क नै राख्दैन। ढड्डामा हुन्छ अथवा अक्षरमा भएका कुरा कसरी बनाउने भन्ने सुनिन्छ। तर तथ्याङ्क तयारी अवस्थाको मात्रै प्रयोग गर्ने होइन, तथ्याङ्क आफैँ बनाउने पनि हो।
किनभने कुनै पनि सरकारी निकायले पत्रकार आउँछन्, उनीहरूलाई यो तथ्याङ्क चाहिन्छ भनेर मिलाएर राखिदिएका हुँदैनन्। उनीहरूले आफूलाई सहज हुने गरी तथ्याङ्क राख्छन्, पत्रकारलाई सजिलो हुनेगरी होइन।
तथ्याङ्क पत्रकारिता मूलरुपमा बुझ्ने कुरा नै के हो भने पत्रकारले जहाँबाट तथ्याङ्क ल्याउँछ त्यो तथ्याङ्क पत्रकारको लागि बनाइएको होइन। पत्रकारले संकलन गरेको तथ्याङ्क आफैंले फेरि बनाउनु पर्छ। अनि सरकारी निकायले दिएको तथ्याङ्क नै सही हुन्छ भन्ने पनि हुन्न। यसअर्थमा तथ्याङ्कमा बढी केन्द्रित हुने पत्रकार अलि बढी चनाखो हुनुपर्छ। तथ्याङ्क बनाउनेदेखि तथ्याङ्क भेरिफाई गर्ने र त्यसलाई कसरी प्रस्तुति दिने भन्ने काम पनि पत्रकारकै हो।
तथ्यांकदेखि भाग्ने होइन
२०६१ सालमा म नेपाल टेलिभिजनमा काम गर्थेँ। त्यतिबेला समाचार प्रोड्युसर भएर काम गरियो। जिल्लातिर समन्वय गर्नेसम्मको काम गरियो। पोखरा विश्वविद्यालयले स्नातक तहमा अन्य विषय पढेकाले पनि पत्रकारिता पढ्न सक्ने व्यवस्था गरेपछि धेरैजसो पत्रकारहरू पियू गए पढ्नलाई। म पनि गएँ। सँगै आइटीको स्कोप बढ्छ भन्ने लागेर उता पनि पढिरहेको थिएँ।
तथ्याङ्क कसरी बन्छ, व्यवस्थापन कसरी हुन्छ यो किन काम लाग्छ भन्ने सन्दर्भमा सूचना प्रविधी पढ्दै जाँदा झन् बढी चासो लाग्न थाल्यो। त्यसै सन्दर्भमा बेलायतको लन्डनमा तालिम लिन जाने अवसर पाएँ।
सन् २०१२ मा मल्टिमिडियाको खास चार्म थिएन यता। म भने त्यसबेला तालिम लिँदा अबको पत्रकारिता भनेको मल्टिमिडिया र तथ्याङ्क पत्रकारिता नै हो भन्नेमा अझ बढी कन्भिन्स हुँदै गए।
सन् २०१४ मा सेन्टर फर डेटा जर्नालिजम भन्ने संस्था औपचारिक दर्ता भयो। दर्ता त गरियो खास काम चाहिँ के गर्ने भन्नेमा हामी प्रस्ट थिएनौँ। पत्रकारसँग मात्रै समन्वय गर्ने की मिडिया हाउससँगै गर्ने हो की भन्नेमा हामी अलमलमै थियौँ। यो बीचमा म विभिन्न तालिम लिने र स्टोरीमा काम गर्ने गरिरहेको थिएँ। खोज पत्रकारिता केन्द्र नेपालको मल्टिमिडिया रहेर काम गर्ने अवसर पनि पाएँ।
२०१६ मा खोज पत्रकारिता केन्द्रले अवैध धनको विषयमा आइसिआइजेसँगको सहकार्यमा पानामा पेपर्सको खुलासा गर्यो। त्यस समूहमा मैले पनि काम गर्ने अवसर पाएँ। अन्तर्देशीय रिपोर्टिङ थियो त्यो। आइसिआइजेको टिमले उनीहरूले राखेको डकुमेन्टमा हामीलाई लामो समयपछि एक्सेस दिए। २७ सय फाइल अध्ययन गरियो। कर छली र सम्पत्ति लुकाउने नेपालीहरूबारेको त्यो समाचारले निकै राम्रो धक्का दियो।
जब फाइलहरू जस्तोसुकै अवस्थामा हुन सक्छन्। अनि प्रकाशित भएर आउँदा कुनै म्याप अथवा रेखाचित्र, अथवा कुनै फिगरहरु बनेर आउन सक्छन् तर त्यसको लागि आन्तरिक रूपमा धेरै काम भएको हुन्छ। कुनै तथ्याङ्कहरू देखाउन आवश्यक पनि हुन्छ। तर तथ्याङ्क देखाउनै पर्ने हुँदैनन्।
नेपालकै सन्दर्भमा कुरा गर्दा खोजपत्रकारीता केन्द्रले नै गरेको काठमाडौँमा १८ सय रोपनी सार्वजनिक जग्गा मिचिएको समाचार लेख्दा १३ सय पृष्ठको फाइल केलाइएको थियो। ५ हजार जनाले सार्वजनिक जग्गा मिचेको खुलासा भएको थियो त्यो समाचारमा।
त्यसमा पनि सरकारी प्रतिवेदन लिखित, अक्षरमा थियो। हामीले त्यसलाई तथ्याङ्कमा ढाल्यौँ। कसले जग्गा मिच्यो, कति मिच्यो, कसरी मिच्यो भन्ने त्यो प्रतिवेदनमा उल्लेख थियो। त्यसलाई सहज हुने गरी समाचार लेखिएको थियो।
तथ्याङ्क पत्रकारको काम भनेकै यसरी नै सर्वसाधारणले नबुझ्ने गरी राखिएका तथ्याङ्कलाई चित्रबाट,तालिकाबाट अथवा नक्साबाट बुझ्नसक्ने गरी प्रस्तुत गर्ने खुबी हो। एक त नेपालमा तथ्याङ्क पत्रकार थोरै छन्, जति छन् उनीहरूले राम्रै कामको प्रयास गरिरहेका छन्।
तथ्याङ्क देखेपछि भाग्ने होइन, बनाउने हो। अर्थ पत्रकारले अन्यको तुलनामा अधिकतम खेलाइरहेका छन् तर तथ्याङ्क अर्थमा मात्रै होइन अपराधमा पनि हुन्छ, स्वास्थ्यमा पनि हुन्छ, सामाजिक विषयमा पनि हुन्छ, राजनीतिक विषयमा पनि हुन्छ। मात्र पत्रकारले खोज्न सक्नु पर्यो। सहज रूपमा प्रस्तुत गर्न सक्नुपर्यो।
समाचार कक्षले पत्रकारको क्षमतामा लगानी बढाउन सकेनन्
हाम्रा समाचार कक्षहरू अलि परम्परागत रूपमा चलिरहेका छन्। ल्यापटप-कम्प्युटरमा प्रीति अथवा युनिकोडमा समाचार मात्रै लेख्ने काम होइन पत्रकारको। आफ्नो समाचारलाई अझ बढी भिज्युअलाइजेशन गर्नु पनि हो अहिले।
भिज्युअलाइजेशनमा कति काम भएको छ?, सरसर्ती नाम चलेका १० वटा अनलाइन हेर्दा थाहा भइहाल्छ। अहिले अनलाइन मिडियाको सङ्ख्या बढेका छन्। तर ती प्रिन्ट मिडियाको डिजिटल भर्सनजस्ता मात्र भएका छन्।
अनलाइन सञ्चारमाध्यमका समाचारमा भिज्युलाइजेशन लगायतका धेरै पक्षमा खेल्न सकिन्छ। पाठकलाई सहज रूपमा बुझाउन विभिन्न टुल्सको प्रयोग गर्न सकिन्छ। तर शब्द अनि केही हदसम्म तस्बिर बाहेक खेल्नै सकेनन्।
यसका लागि अनलाइन मिडियाहरूले टिम बनाउनु नसक्नु हो। प्रिन्टबाट अनलाइन भनेको माध्यम मात्र बदलिएको हैन। प्रस्तुतिका उपकरणहरू पनि बदलिएका छन्। अनलाइनमा एकै समाचारमा तस्बिर, अडियो, भिज्योल सबैको प्रयोग गर्न सकिन्छ जुन छापामा सम्भव छैन। तर त्यसको सदुपयोग हुन सकेको छैन। यो टिमको अभावले हो।
टिम बनाउँदा रिर्पोटिङमा पोख्त भएको मात्र हैन, तथ्याङ्कमा खेल्न सक्ने, बुझ्न सक्ने पत्रकार र त्यसलाई कसरी प्रस्तुति दिने भनेर सहजीकरण गर्ने समूह नै चाहिन्छ। तर त्यसो हुन सकेको छैन।
एउटै रिपोर्टरलाई शब्दमा पनि अनि तथ्याङ्क प्रस्तुति पनि गर्ने जिम्मा दियो भने भ्याउँदैनन्। प्रत्येक रिपोर्टरले वर्षमा एक दुईवटा खोजी पत्रकारिता गर्नैपर्ने अनि त्यसमा डेटाको भिज्युअलाइजेशन अनिवार्य गरिदिने हो भने प्रत्येक महिनाजसो अनलाइनमा राम्रो रिपोर्टिङ आउन सक्थे। तर त्यसो हुन सकेको छैन।
अनलाइन छापाजस्तै टेक्सटमा मात्रै केन्द्रित भए। तर शब्द मात्रैले भर्ने हैन स्टोरी। फोटो, भिडियो, नक्सा, जति सकिन्छ त्यो सबै प्रयोग गर्ने हो नि। अनलाइनमा यो सम्भव पनि छ। तर गर्दैनन्। प्रिन्टकै धङधङ हावी देखिन्छ।
यसका लागि समाचार कक्षमा मिडियाले लगानी बढाउनुपर्छ। लगानी बढाउनलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गर्न पनि सकिन्छ। तर एकाधले बाहेक प्रयास गरेको देखिन्न। जतिले प्रयास गरेका छन् त्यो पनि पूर्ण छैन।
हाम्रो मिडिया हाउसहरू विज्ञापनमा मात्रै बढी भर परे। अब त त्यसो गरेर हुँदैन। स्टोरी गर्दा समन्वय गर्न जरुरी छ। त्यसमाथि झन् अन्तरदेशिय रिर्पोटिङको प्रचलन आएको पनि धेरै भइसक्यो। मिडियाले आफूलाई फैलाउनु पर्ने हो। जति फैलायो त्यति स्टोरी धेरै आउने न हो। तर खै किन हो नेपाली मिडियामा यो प्रचलन बढ्न सकेको छैन।
लगानीसँगै पत्रकारलाई तालिमको व्यवस्था पनि गर्नुपर्छ अब। प्रविधि दिनैपिच्छे परिवर्तन हुँदै गइरहेका छन्। सुरुमा तालिम लिए पनि सधैँ त्यसले काम गर्दैन। कम्तीमा ६-६ महिनामा पुन आन्तरिक रूपमा तालिम गराउन सकिन्छ। जबसम्म लगानी हुँदैन तबसम्म स्टोरी आउँदैन। अहिले हाम्रोमा भएको यही हो। यदि अघि भनेका कुरामा मिडियाले ध्यान दिए भने स्टोरी फरक त आउँछन् नै।
सम्पादकले तथ्याङ्कको महत्त्व बुझेका छन् तर अभ्यस्त भएनन्
समाचार कक्षमा अलि बढी काम गर्नेलाई पनि उही तलब, कम काम गर्नेलाई पनि उही तलब। यसले पनि एक्सट्रा काम नभएको हो की भनेर सम्पादकहरू घोत्लिनुपर्ने देखिन्छ।
बाहिरतिर रिर्पोटरले रिपोर्टिङ र समाचार मात्रै लेख्नेको एउटा तलब र तथ्याङ्क खेलाउन आउने, कोडिगं आउने अनि त्यसलाई भिज्युलाइजेशनमा देखाउन सक्नेलाई त फरक तलब छ।
हाम्रोमा त थप काम गरे पनि, नगरे पनि पारिश्रमिक उही भएपछि जे गरे पनि उही पारिश्रमिक त हो नि भनेर पत्रकारले कम मिहिनेत गरेका हुन् कि! यसमा ध्यान दिने सम्पादकहरूले नै हो।
नयाँ पुस्ता अनि मीड करियरमा पुगेकाले अब तथ्याङ्कको भिज्युअलाइजेशन त हुनै पर्छ भन्नेमा कन्भीन्स भएर सिक्न थालिसकेका छन्। तर त्यो पत्रकार न्युजरुममा गएपछि निरन्तर अभ्यास गर्न पाएको छैन। छिटो समाचार चाहिने हुँदा तथ्याङ्क भिज्युअलाइजेशनको काम छिटो गर्न सकिँदैन। यसमा सम्पादकले बुझ्न जरुरी छ। लाग्छ अब सम्पादकहरूले तथ्याङ्क पत्रकारिताको तालिम लिने बेला भयो।
(सेन्टर फर डेटा जर्नालिजम नेपालमा आबद्ध कार्की तथ्याङ्क पत्रकारिता क्षेत्रमा काम गरिरहेका छन्। उनीसँग तथ्याङ्क पत्रकारितामा नेपाली मिडिया शीर्षकमा केन्द्रित भएर उकेराकर्मी प्रजु पन्तले चौथो अंगका लागि गरेको कुराकानीमा आधारित।)
चैत २७, २०८० मंगलबार १६:३९:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।