बुधबारबाट स्वास्थ्य अनुसन्धान परिषदको तीन दिने शिखर सम्मेलन, हजार बढी स्वास्थ्य अनुसन्धानकर्ता सहभागी हुने

बुधबारबाट स्वास्थ्य अनुसन्धान परिषदको तीन दिने शिखर सम्मेलन, हजार बढी स्वास्थ्य अनुसन्धानकर्ता सहभागी हुने

काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषदले बुधबारबाट तीनदिने शिखर सम्मेलन गर्ने भएको छ।

परिषदले चैत २८, २९ र ३० गते दशौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको शिखर सम्मेलन गर्न लागेको हो।

काठमाडौंमा हुने सो सम्मेलनको तयारी करिब पूरा भएको परिषदका कार्यकारी निर्देशक डा. प्रमोद जोशिले सोमबार पत्रकार सम्मेलन  गरी जानकारी दिए। सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने परिषदका कार्यकारी निर्देशक डा. जोशीले बताए।

स्वास्थ्य सम्बन्धी नीति र अभ्यासलाई मूर्तरूप दिन अनुसन्धानलाई प्रभावकारी रूपमा नीति र योजनामा पु¥याउन यस्ता सभा सम्मेलनको आवश्यकता परिषदले महसुस गरेको आयोजकको दाबी छ। सम्मेलनले स्वास्थ्य र जनसंख्याको क्षेत्रमा अनुसन्धान प्रवर्द्धन गर्न र राष्ट्रिय स्वास्थ्य प्राथमिकताका विषयमा छलफल गर्न अनुसन्धानकर्ता, स्वास्थ्य तथा जनसंख्याका साझेदार, शिक्षाविद्, चिकित्सक र नीति निर्माताहरूलाई एकै मञ्चमा ल्याउने परिषदले जनाएको छ। 

सम्मेलनमा देश तथा विदेशबाट गरि एक हजार जनाभन्दा बढी स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानकर्ता तथा अध्येताहरूको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।

त्यसैगरी सम्मेलनमा भारत, स्विट्जरल्यान्ड, बेलायत, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका लगायत देशबाट समेत स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ताको सहभागिता हुने परिषदले जनाएको हो। 

परिषदका अनुसार तीन दिनसम्म चल्ने सो सम्मेलनमा ७५ वटा अनुसन्धानमुलक पेपरहरुको मौखिक तथा दुईसय ६३ वटा पोष्टरहरुको प्रस्तुतीकरण हुने छ।

‘सम्मेलनका लागि तीन ५७ वटा  मौखिक तथा पोस्टर प्रस्तुतीकरणका लागि संक्षिप्त लेखहरू प्राप्त भएका थिए’, परिषदका कार्यकारी निर्देशक डा. जोशीले भने, ‘तिमध्ये मापदण्ड पुगेकालाई मात्र मौखिक तथा पोस्टरलाई प्रस्तुतिका लागि छनौट गरिएको हो।’ 

सम्मेलनमा प्रत्येक दिन स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानका विभिन्न बिषयमाथि सामूहिक छलफल समेत हुनेछन्। नेपालको वित्तीय स्वास्थ्य, प्रमाणमा आधारित औषधि र चिकित्सा अभ्यास, प्रभावकारी तथा उत्तरदायी स्वास्थ्य प्रणाली, गुणस्तरीय र समतामूलक स्वास्थ्य सेवा, वातावरणीय स्वास्थ्य र जलवायु परिवर्तन, सर्ने तथा नसर्ने रोगहरू, मानसिक स्वास्थ्य लगायतका  १५ वटा भन्दा बढी विषयमा सामूहिक छलफल हुने परिषदका रिसर्च शाखाका प्रमुख डा. मेघनाथ धिमालले जानकारी दिए। 

त्यसैगरी सो सम्मेलनले स्वास्थ्य क्षेत्रको अनुसन्धान कार्यको नियमन गर्न, असल अनुशासन सँस्कारको विकास गर्न र अनुसन्धानबाट प्राप्त नतिजाहरुलाई स्वास्थ्य क्षेत्रको नीति, योजना तथा कार्यक्रमलाई तथ्यपरक बनाउनका लागि पैरवी गर्ने परिषदले जनाएको छ। यस्ता सम्मेलनहरू नियमित रुपमा सञ्चालन गर्न सके युवा अनुसन्धानकर्ता, वैज्ञानिक तथा प्राविधिक जनशक्तिलाई अनुसन्धान गर्न प्रेरित गर्ने तथा अनुसन्धानबाट प्राप्त नतिजा र निष्कर्षहरुको प्रचार प्रसार हुने अपेक्षा परिषदले राखेको छ। त्यसैगरी सम्मेलनमा विभिन्न १० विधामा अवार्डहरू समेत प्रदान गर्ने परिषदको क्षमता अभिवृद्धि शाखाका प्रमुख प्रदीप बेल्बासेले जानकारी दिए।

परिषद्ले स्थापनाको उपलक्ष्यमा प्रत्येक वर्ष स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको शिखर सम्मेलन गर्दै आइरहेको छ। 
यो वर्षको सम्मेलनको नारा ‘दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि स्वास्थ्य र जनसंख्या सम्बन्धी अनुसन्धान र नवप्रवर्तन’  रहेको छ।

स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ता, नीति निर्माता, विकासका साझेदारबीच छलफल गरी नेपाल सरकारलाई स्वास्थ्य क्षेत्रका मुद्दाको अन्तर विषयात्मक नविनतम अनुसन्धानद्वारा सम्बोधन गर्ने उद्देश्यले २०७१ देखि हरेक वर्ष शिखर सम्मेलनको आयोजना गर्दै आइरहेको परिषदले जानकारी दिएको छ।

सम्मेलनले अनुसन्धान मार्फत सहकार्यलाई प्रवर्द्धन गर्ने, योजना र विकासमा टेवा पु¥याउने लक्ष्य राखेको छ। 

२६ चैत, २०८०, २१:५९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।