रास्वपा संसदीय दलको बैठक कांग्रेस मनाउन केन्द्रित, तर सहकारी ठगीमा एकपछि अर्को नेता जोडिदा सकस

रास्वपा संसदीय दलको बैठक कांग्रेस मनाउन केन्द्रित, तर सहकारी ठगीमा एकपछि अर्को नेता जोडिदा सकस

काठमाडौँ : सहकारी ठगीबारे संसदीय छानबिन समितिको मागमा नेपाली कांग्रेस थप कठोर बन्ने भएपछि पार्टी नेतृत्व सङ्कटमा परेको बेलामा बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक मूल रूपमा कांग्रेस मनाउने विषयमा केन्द्रित भयो।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय समिति गठनको माग गर्दै गृहमन्त्री समेत रहेका रास्वपा अध्यक्ष रवि लामिछानेलाई संसद्मा बोल्न दिइरहेको छैन।

पछिल्लो समय रास्वपाका उपसभापति तथा श्रममन्त्री रहेका डीपी अर्यालसमेत सहकारी ठगीमा जोडिएका छन्। कांग्रेसले रविलाई बोल्न नदिने बाहेक संसद्को अन्य गतिविधिमा अवरोध गरेको छैन।

तर यस अगाडिको बैठकमा बोल्दै कांग्रेस सांसद तथा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी दलले शालिनरुपमा उठाएको मागको बेवास्ता गर्ने हो भने संसद्को अन्य गतिविधि समेत अवरोध हुने चेतावनी दिएका थिए।

यसबारे सभामुख देवराज घिमिरेले एमाले,माओवादी केन्द्र अनि रास्वपाको नेतृत्वसँग छलफलको तयारी गरेका छन्। यसले सहकारी ठगीको छानबिनमा संसदीय समिति बनाउन सभामुखमाथि दबाब बढिरहेको देखिन्छ।

यही बेलामा आइतबार बसेको रास्वपाको बैठकमा समेत कांग्रेसलाई कसरी मनाउने भन्नेबारे छलफल भएको थियो।

रास्वपाका सांसद तथा प्रमुख सचेतक सन्तोष परियारले बैठकमा कांग्रेसले सदनमा गरेको अवरोध खुलाउने विषयमा छलफल भएको र संसद् खुलाउन पहल भइरहेको दाबी गरे।

‘संसद् अवरोध खुलाउने विषयमा निरन्तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग म आफैँ पनि पहल गरिरहेको छु, बैठकपछि परियारले पत्रकारमाझ भने'सभामुखज्यूसँग पनि पहलकदमी गरिरहेका छौँ। भोलि पार्टीका शीर्ष नेताहरू र प्रमुख सचेतकहरू बसेर संसद् अवरोध खुलाउने विषयमा छलफल गर्छौँ।’

उनले संसद् खुलाउन पहल भइरहेको दाबी गरे पनि कांग्रेससँग रास्वपाको सम्बन्ध सुमधुर हुनुको थप बिग्रँदै गएको देखिन्छ।

कांग्रेस सांसद र रास्वपाको नेतृत्वतहबीच सार्वजनिक मञ्चहरूमा एक अर्काप्रति आरोप प्रत्यारोपको शृङ्खला नै चलिरहेको छ। रास्वपाका सभापति लामिछानेले विशेषगरि कांग्रेस महामन्त्री गगन थापा लक्षित सार्वजनिक अभिव्यक्ति दिएपछि यो क्रम थप बढेको छ।

स्वर्णिम वाग्ले लगायतका रास्वपाका सांसदहरूले सदनमा ;सहकारी ठगीको आरोप लागेको पार्टी नेतृत्वको बचाउमा बोलिरहेका छन्। तर दैनिक रूपमा सार्वजनिक भइरहेका सहकारीको बचत रकम अपचलनको शृङ्खलाले रास्वपा प्रतिरक्षामा कमजोर बन्दै गएको छ।

यस अगाडि रास्वपाबाट रवि मात्रै सहकारीको बचत रकम अपचलनमा जोडिएका थिए। पछिल्लो समय डीपीसमेत सह-महामन्त्री कवीन्द्र बुर्लाकोटी र विपिन आचार्य र चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष तथा रविकी श्रीमती समेत रहेकी निकिता पौडेल समेत सहकारीको रकम अपचलनको अनुसन्धानको दायरामा देखिएका छन्।

रवि पोखराको शुर्यदर्शन सहकारीसँगै बुटवलको सुप्रिमसहितका सहकारीको वचतकर्ताहरुको अपचलनमा जोडिएको लामै समय भइसक्यो। शुर्यदर्शन र सुप्रिममा आचार्यसमेत जोडिए। हाम्रो नयाँ कृषी सहकारीमा पार्टी उपाध्यक्ष डीपी र कवीन्द्र जोडिएका छन्। निकिता उपाध्यक्ष रहेको ओम साई सहकारीबारे काठमाडौँ महानगरपालिकाले अनुसन्धान गरिरहको छ।

यसले संसद्मा कांग्रेस लचिलो हुनेभन्दा पनि सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठनको मुद्दालाई थप कसिलो बनाउने रणनीतिमा देखिन्छ।

सचेतक परियारका अनुसार आइतबार सिंहदरबारस्थित दलको संसदीय दलको कार्यालयमा भएको बैठकमा सरकारमा रहेको अवस्थामा खेल्नुपर्ने भूमिका र यसको प्रभावकारिता बढाउने विषयमा केन्द्रित रहेको दाबी गरे।

अहिले सरकारले विभिन्न विधेयकहरू ल्याएको र कामहरू भइरहेकाले त्यो कामलाई कसरी सम्प्रेषण गर्ने, कसरी एकरूपता ल्याउने भन्ने विषयमा समेत छलफल भएको उनले दाबी गरे।

परियारका अनुसार बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले एक महिनाको अवधिमा गरेका काम कारबाहीका बारेमा समेत ब्रिफिङ भएको बताए।

२५ चैत, २०८०, २१:०८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।