जोखबहादुर उर्फ प्रतापको छलाङ : प्रचण्डको प्रमुख स्वकीय सचिवदेखि लुम्बिनीको मुख्यमन्त्रीसम्म

जोखबहादुर उर्फ प्रतापको छलाङ : प्रचण्डको प्रमुख स्वकीय सचिवदेखि लुम्बिनीको मुख्यमन्त्रीसम्म

बुटवल : माओवादी भित्र प्रताप नामले परिचित छन् जोखबहादुर महरा। साबिक गजुल –२ रोल्पा, हाल सुनिलस्मृति–५ गजुल काट्रने रोल्पाका उनी विद्यार्थीकालबाटै राजनीतिमा प्रवेश गरेका थिए।

२०३५-३६ को विद्यार्थी आन्दोलनबाट राजनीतिमा आकर्षित भएका महरा २०३६ सालमा दाङको घोराहीबाट विद्यार्थी आन्दोलनमा होमिएका थिए। उनी २०३७ देखि २०३९ सम्म प्राविको शिक्षक भएर अध्यापन र राजनीतिमा सँगसँगै संलग्न भए।

२०३९ देखि २०४४ सम्म पनि मावि शिक्षकसँगै राजनीतिमा पनि सक्रिय रहेका उनी २०४२ सालमा अनेरास्ववियुको सचिव भएका थिए। विद्यार्थी राजनीतिकै बेला महराले २०४२ सालमा नेकपा मशालको पार्टी सदस्यता पाए।

पार्टीले २०४३ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्यको जिम्मेवारी तोकेका महरा २०४७ सालमा नेकपा मशालको रोल्पा जिल्ला कमिटी सदस्य बनेका थिए।

२०५० सालमा पार्टीको पूर्णकालीन कार्यकर्ता बनेका उनले राजनितिशात्र-अर्थशात्रमा महेन्द्र बहुमुखी क्याम्पस दाङबाट स्नातकसम्म अध्ययन गरेका छन्।

२०५० मा पूर्णकालीन भए लगत्तै महरा २०५१ मा माओवादीको रोल्पा जिल्ला सेक्रेटरी, २०५४ मा क्षेत्रीय ब्युरो सदस्य, २०५६ देखि २०६० साल सम्म अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी, २०६० सालमा माओवादीको केन्द्रीय सदस्य बने।

अविचलित राजनीतिमा रहेका महराले २०६४ सालमा माओवादीको तर्फबाट संविधान सभा सदस्य, २०६२ देखि २०६५ सम्म पार्टी अध्यक्ष प्रचण्डको प्रमुख स्वकीय सचिवको जिम्मेवारी निभाए। २०६६ मा पार्टीको बागलुङ, म्याग्दी र मुस्ताङ जिल्ला इन्चार्जको जिम्मेवारी पाए।

०७४ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख स्वकीय सचिव सहित २०७२ देखि २०७८ सम्म अध्यक्ष प्रचण्डको प्रमुख स्वकीय सचिव भएर महराले हेडक्वाटरको व्यवस्थापन गरेका थिए।

उनी अहिले माओवादी केन्द्रको स्थायी समिति सदस्य छन्। उनी विगत निर्वाचनमा रोल्पा जिल्ला प्रदेश सभा क्षेत्र नं.१ को बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार बनेर निर्वाचनमा विजयी भएका थिए।

माओवादी लुम्बिनी प्रदेश संसदीय दलका नेता रहेका महरासँग छोटो समय मुख्यमन्त्री लीला गिरीको बेला अर्थ मन्त्रालय सञ्चालनको अनुभव छ। पछिल्लो समय केन्द्रमा बदलिएको राजनीतिक समीकरणसँगै लुम्बिनी प्रदेश माओवादीको भागमा पर्दा उनी मुख्यमन्त्री बन्न सफल भए।

२५ चैत, २०८०, १६:२६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।