पूर्वमेयरसहित चारजना र एक निर्माण कम्पनीविरुद्ध मुद्दा दायर

पूर्वमेयरसहित चारजना र एक निर्माण कम्पनीविरुद्ध मुद्दा दायर

काठमाडौं : सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख(मेयर) गंगा पासवानसहित चार जना र एक निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आर्थिक वर्ष २०७८/०७९ मा  नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि भएको ठेक्कामा अनियमितता गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा तत्कालिन नगर प्रमुख पासवान र तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलले निर्माण स्थलको व्यवस्था नभई सार्वजनिक निकायले वोलपत्र आव्हान गर्न नहुने प्रावधान विपरीत कार्य गरेको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गराउने कार्य गरेको भन्दै अख्तियारले उनीहरु उपर एक करोड आठलाख रुपैंया बिगो कायम गरेको छ।

यस्तै, तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार र लेखापाल प्रविन कुमार महतोले सार्वजनिक खरिद ऐनको प्रावधान विपरित कार्य गरेकाले सोही रकम बमोजिम बिगो दावी गरेको छ।

महालक्ष्मी पाण्डेको नाममा रहेको कम्पनीको हकमा पेश्की भुक्तानी लिएपनि काम शुरु नगरेको र फिर्ता दाखिला नगरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको अख्तियारको ठहर छ।

१५ चैत, २०८०, ११:३४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।