टी२० विश्वकपअघि नेपाली दर्शकले एक सरप्राइज पाउनेछन् : मुख्य प्रशिक्षक मोन्टी देसाइ

टी२० विश्वकपअघि नेपाली दर्शकले एक सरप्राइज पाउनेछन् : मुख्य प्रशिक्षक मोन्टी देसाइ

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले आगामी जुनमा हुने टी२० विश्वकपअघि नेपालले घरेलु मैदानमा अन्तर्राष्ट्रिय सिरिज खेल्ने खुलासा गरेका छन्।

मंगलबार आयरल्याण्डको ‘ए’ टोली आयरल्याण्ड उल्भ्ससँगको खेलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्य प्रशिक्षक देसाइले यस्तो खुलासा गरेका हुन्। यद्यपि यसबारे उनले थप खुलासा भने गर्न चाहेनन्।

‘विश्वकपअघि एउटा सिरिज नेपालमा हुनेछ। तपाईंहरू सरप्राइज हुनुहुनेछ,’ सञ्चारकर्मीसँग उनले भने, ‘कुराकानी भइरहेको छ, तर म अहिले नै यो सार्वजनिक गर्न चाहन्न।’

आफूहरू आन्तरिक छलफलमै रहेको बताउँदै उनले सिरिज हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे।

‘हामी आन्तरिक रूपमा सम्भव भएसम्म हरेक देशसँग अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि कुरा गरिरहेका छौं,’ उनले थपे, ‘उक्त सिरिज हुनेमा म विश्वस्त छु।’

ओमानमा हुने एसीसी प्रिमियर कपपछि र विश्वकप अघिको छोटो समयमा उक्त सिरिज हुनसक्ने उनले बताए। यद्यपि पक्कापक्की नभएसम्म बाहिर ल्याउनुको कुनै तुक नभएको उनको तर्क छ।

क्यानले सार्वजनिक गरेको क्यालेन्डरअनुसार विश्वकपअघि नेपालमा हुने भनिएको अन्तर्राष्ट्रिय सिरिज र प्रतियोगिता हिजोसम्मको थियो।

अप्रिल १२ देखि नेपालले ओमानमा हुने एसीसी प्रिमियर कप खेल्नेछ।

१४ चैत, २०८०, १०:०४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।