जोनी वेरिस्टोको शतकमा कोलकातामाथि पञ्जाबले रेकर्डै रेकर्डको वर्षा

जोनी वेरिस्टोको शतकमा कोलकातामाथि पञ्जाबले रेकर्डै रेकर्डको वर्षा

काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएलमा पञ्जाब किंग्सले सर्वाधिक धेरै रन चेज गरेर रेकर्ड कायम गरेको छ। यो टी२० क्रिकेटको सर्वाधिक ठूलो रन चेज हो।

शुक्रबार राति कोलकाता नाइट राइडर्सले दिएको २६२ रनको विशाल लक्ष्य पञ्जाबले ८ बल बाँकी हुँदै २ विकेट गुमाएर पूरा गरेको थियो। पञ्जाबलाई ८ विकेटको शानदार जित दिलाउन लागि जोनी वेरिस्टोले शतकीय पारि खेल्दा प्रभसिमनर सिंह र शशांक सिंहले अर्धशतकीय पारी खेले।

विशाल लक्ष्य पछ्याउने क्रममा पञ्जाबले राम्रो सुरुआत गरेको थियो। पहिलो विकेटका लागि प्रभसिमरन र जोनी वेरिस्टोले ६ ओभरमा ९३ रनको साझेदारी गरेका थिए। २० बल खेलेका प्रभसिमरन ५४ रन बनाएर रनआउटको सिकार भए। उनले पाँच छक्का र चार चौका हिर्काए।

त्यसपछि रिले रुसोसँग वेरिस्टोले पारि अघि बढाए। रुसो १६ बलमा २६ रन बनाएर आउट हुँदा दुई छक्का र एक चौका प्रहार गरे। त्यसपछि शशांक सिंह र जोनी वेरिस्टोले पञ्जाबलाई जित दिलाए।

वेरिस्टोले ४८ बलमा १०८ रनको नटआउट शतकीय पारी खेले । उनले नौ छक्का र आठ चौका प्रहार गरे। यस्तै, २८ बलमा ६८ रन बनाएका शशांकले आठ छक्का र दुई चौका प्रहार गरे।

कोलकाताका सुनिल नारेनले एक विकेट लिए।

पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित ओभरमा ६ विकेट गुमाएर २६१ रन बनाएको थियो। कोलकाताले उत्कृष्ट सुरुआत गरेको थियो। १०.२ ओभरमा ओपनरद्वय फिल साल्ट र सुनिल नारेनले १३८ रनको साझेदारी गरको थिए।

नारेन ३२ बलमा ७१ रनको पारि खेल्दै आउट भए। उनले चार छक्का र नौ चौका प्रहार गरे। यस्तै, फिल साल्टले ३७ बलमा ७५ रन जोड्दा छ छक्का र छ चौका हानेका थिए।

बेंकटेश अय्यरले २३ बलमा ३९ रन जोड्दा कप्तान श्रीयस अय्यरले १० बलमा २८ रन बनाए । यसैगरी आन्द्रे रसेलले १२ बलमा २४ रन जोडेका थिए । पञ्जावका अर्षदीप सिंहले दुई विकेट लिए।

शुक्रबार रातिको जितसँगै पञ्जाब नौ खेलबाट छ अंकसहित तालिकाको आठौं स्थानमा रहेको छ भने पराजित भएको कोलकाता नाइट राइडर्स आठ खेलबाट १० अंकसहित तालिकाको दशौं स्थानमा छ।

यी हुन् कोलकाता र पञ्जाबबीचको खेलमा बनेका अनि टुटेका रेकर्डहरू:
२६२-
कोलकाताविरुद्ध पञ्जाबले पछ्याएको लक्ष्य। टी२० क्रिकेटको इतिहासमा कुनै पनि टोलीले पछ्याएको यो सबैभन्दा ठुलो लक्ष्य हो। यसअघि सन् २०२३, मे २६ मा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजविरुद्ध २ सय ५९ को लक्ष्य पछ्याएको थियो।

४२- कोलकाता र पञ्जाबविरुद्धको खेलमा हिर्काइएको छक्काको सङ्ख्या। कुनै पनि टी-२० खेलमा प्रहार भएको सबैभन्दा धेरै छक्का हो। यसअघि आईपीएलमा यो सिजनमा नै सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्स तथा रोयल च्यालेन्जर्स बैंगलुरु र हैदराबादबिचको खेलमा ३८ वटा छक्काहरू प्रहार भएका थिए।

२४- कोलकाताविरुद्ध पञ्जाबले हिर्काएको छक्काको सङ्ख्या। टी२० क्रिकेटमा कुनै पनि टोलीले प्रहार गरेको सर्वाधिक दोस्रो छक्का हो। यसअघि नेपालले गत वर्ष मंगोलियाविरुद्ध २६ वटा छक्का प्रहार गरेको थियो। पञ्जाबले हिर्काएको छक्काको सङ्ख्या आईपीएलमा भने सर्वाधिक हो। यसअघि हैदरावादले बैंगलुरु र दिल्ली क्यापिटल्सविरुद्ध २२ वटा छक्का प्रहार गरेको थियो।

४- कोलाकाता र पञ्जाबका चारै ओपनरले अर्धशतक बनाए। फिल साल्ट (७५), सुनिल नरेन (७१), प्रभसिमरन सिंह (५४) र जोन बेयर्सटो (१०८)। आईपीएलको कुनै पनि खेलमा चारै ओपनरले अर्धशतक बनाएको यो पहिलो अवसर हो।

१५ बैशाख, २०८१, ०७:४७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।