चौथो अंग : खेल समाचार भनेको हार-जीत मात्र लेख्ने हो भन्ने भ्रमले सन्दीप केसमा अधिकांश खेल पत्रकार नराम्रोसँग चुक्यौँ

चौथो अंग : खेल समाचार भनेको हार-जीत मात्र लेख्ने हो भन्ने भ्रमले सन्दीप केसमा अधिकांश खेल पत्रकार नराम्रोसँग चुक्यौँ

२०७२ साल माघमा  १२ औँ दक्षिण एसियाली खेलकुद (साग)को प्रशिक्षण चलिरहेको थियो। त्यतिबेला म नयाँ पत्रिकामा काम गर्थे। रंगशालामा खेलाडी सिसाका टुक्रा नाघ्दै अभ्यास गरिरहेका थिए। सागको तयारी गरिरहेका एथलेटिक्स, महिला फुटबल र हक्की खेलाडीको प्रशिक्षणमा प्रत्यक्ष असर परिरहेको थियो। यो समाचार पहिलो पृष्ठमा छापियो। रंगशाला सुधार हैन कि प्रवेशमा कडाइ गरियो।

रंगशालालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले केही पैसाको लोभा भाडामा दिएर कुरूप बनाएको थियो। व्यवस्थापन अस्तव्यस्त थियो। एक त भूकम्पले भत्काएको रंगशाला अर्को जथाभाबी फोहोर।

खेल समाचार भनेको प्रतियोगिता अनि त्यसको स्कोर लेख्ने मात्र पक्कै हैन। खेलसँग जोडिएका अर्थ राजनीति, नीति –नियम, खेलमा हुने अपराध, खेलाडी– प्रशिक्षक छनौटका मापदण्ड, खेल संघको आर्थिक स्थितिका विषय पनि खेल रिपोर्टिङ भित्रै पर्छन्। तर नेपाली मिडियामा खेल क्षेत्रबारे भइरहेको रिपोर्टिङ हेर्ने हो भने हार र जीत मात्र हो कि जस्तो भान पर्छ। समग्र खेल क्षेत्रको रिपोर्टिङ हुन सकेको देखिँदैन।

यसको कारणमध्ये एक पर्याप्त जनशक्ति नहुनु त हुँदै हो, खेलको समाचार भनेको जित र हार को त हो नि भन्ने समाचार कक्ष नेतृत्वको सीमित बुझाई पनि कारण हो।

आयोजक जंगिएपछि उठेर हिँड्नुपर्यो

मैले पत्रकारिता सुरु गरेको सन् २००८ देखि हो। त्यतिबेला क्यापिटल एफएममा इन्टर्न गरेँ। केही महिना काम गरेपछि पत्रिका, टेलिभिजन हुँदै अहिले अनलाइनमा काम गरिरहेको छु।

टेलिभिजनमा काम गर्दा नेटवर्किङ व्यवसाय अवैध भएको भन्दै प्रहरीले आरोपीहरूलाई पक्राउ गरिरहेको थियो। सामान्यतया यही रिपोर्टिङ गरियो। त्यसपछि म अन्वेषण अधिकारीसँग नजिक रहेर काम गर्ने मौका पाएँ। उहाँ खेलकुद हेर्नुहुन्थ्यो। एउटा रिपोर्टरलाई काम सिक्न कसको नजिक रहेर काम गर्छ भन्नेले धेरै फरक पर्ने रहेछ।

अफ्रिकामा भएको विश्वकप फुटबलको दैनिक ३० मिनेटको भिडियो रिपोर्टिङ बनाउने जिम्मेवारी आयो। यसले खेल क्षेत्र केही बुझ्ने अवसर पाएँ। त्यहिबेला ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद्( राखेप) नेतृत्वबीच झगडा भइरहेको थियो। अन्तर्राष्ट्रिय मान्यता पाएको एउटा समूह र राखेपले मान्यता दिएको अर्को समूह थियो कबड्डीतिरको। कबड्डी संघको अध्यक्ष थिए सुनिल राजकर्णिकार।

राखेपले मान्यता नदिएको टोली एसियन गेम्सका लागि चीन गयो। राजकर्णिकार पनि गएका थिए। फर्केर आउँदा उनलाई राखेपपक्षले जुत्ताको माला लगाइदियो। यो समाचारको भिडियो एक्सक्लुसिभ भनेर हामीले प्रसारण गर्यौ। भोलिपल्ट पत्रकार सम्मेलनमा राजकर्णिकार जंगिएपछि म कार्यक्रम स्थलबाटै उठेर हिँडेको थिएँ।

भूकम्पले रंगशाला नराम्रोसँग भत्काएको थियो। त्यतिबेला दशरथ रंगशाला कमजोर भएको, म्याद सकिएको भन्दै श्रृङ्खलाबद्ध समाचार लेख्यौँ।

हाम्रोमा प्राय समाचार कुन खेल नेपालले जित्यो अथवा नेपालले हार्यो भन्नेमा केन्द्रित हुन्छ। यो पनि समाचारको एक पक्ष त हो। तर हार्यो भने किन हार्यो भन्नेमा कमै मिडियाको ध्यान जान्छ।

हारको कारण केवल मैदानको प्रस्तुति मात्र कारण हुन्न। खेलाडी छनौटमा गडबडी भयो की, प्रशिक्षकले उत्कृष्ट खेलाडीलाई खेल्न दिएनन् की, उनीहरूको आवास तथा खानामा गडबड पो भयो की, आ–आफ्ना मान्छे पो विदेश पठाए की भन्नेमा कमैको ध्यान पुग्ने गरेको देखिन्छ। अझ कुनै खेलको कानुन छ कि छैन भन्नेसम्ममा पनि हाम्रो ध्यान जान सकेको छैन।

एउटा उदाहरण, नेपाल टी-२० क्रिकेटमा स्पट फिक्सिङमा खेलाडीले सफाइ पाए। अदालतले प्रस्टै भनेको छ यस सम्बन्धी कानुन भएन। यो भन्दा अगाडि म्याच फिक्सिङ भएको भन्दै फुटबलका राष्ट्रिय खेलाडीहरू पक्राउ परे। उनीहरूमाथि राष्ट्र द्रोहको मुद्दा चल्यो। पछि राष्ट्रद्रोह पुष्टि भएन भनेर सफाइ पाए। 

हामी खेल पत्रकार म्याच फिक्सिङ भएको हो कि हैन भन्नेमा मात्र केन्द्रित भयौँ तर यसको कानुन छ या छैन भन्ने पक्षमा ध्यान दिएनौँ। खेल क्षेत्रको कानुन पनि खेल पत्रकारको चासोको विषय हो नि। तर त्यता ध्यान गएको छैन।

यस्तो नहुनुको कारण खेल पत्रकार र समाचारकक्षको खेल समाचारप्रतिको बुझाई हो। खेल समाचार जित र हार मात्रै हो भन्ने बुझेपछि न नेतृत्वले अन्य विषय लेखाउने प्रयास गर्छन्, न रिपोर्टरले नै चासो देखाउँछन्। यसले खेल रिपोर्टिङमा जनशक्ति नै कम राखिन्छ। कम जनशक्ति हुँदा के भयो भन्ने अपडेट त भयो तर किन भयो भन्ने विश्लेषण आएन।

यसमा हामी खेल पत्रकारको पनि कमजोरी छ। हाम्रो सोचाई फराकिलो हुनै सकेन। त्यसले खेलसँग जोडिने बहु आयामिक पक्षलाई केलाउन सकेनौँ।

खेलको एंगलबाट मात्रै खेलाडीलाई हेर्नु गलत

खेल क्षेत्रमा पनि नीतिगत भ्रष्टाचार छन्। तर त्यसलाई हामी खेल क्षेत्रको रिपोर्टिङ गर्नेले किन ध्यान दिन सकेका छैनौँ?  हाम्रो जिम्मेवारी खेलाडी छनौटदेखि नीतसम्म केलाउनु हो नि।  आफूले विषयको उठान नगरेको अवस्थामा अन्य मिडियाले उठाए आफूले फलोअप गर्न सकिन्छ। तर अन्य मिडियाले इश्यु उठान गर्यो भने पनि देखेको नदेख्यै गर्छौँ।

यस्तो ठिक होइन। कसैले नीतिगत विषय, खेल क्षेत्रमा भइरहेको बदमासीबारे विषयको उठान गर्यो भने सबै मिलेर त्यो इश्युलाई स्थापित गर्ने प्रयास गर्दा राम्रो नतिजा आउन सक्छ।

त्यस्तै खेलाडीलाई खेल पत्रकारले खेलको दृष्टिकोणबाट मात्रै हेरेको हुन्छ। यो भनेको सोचाइको साँघुरोपन हो। क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेलाई बलात्कारको आरोप लाग्यो। अहिले त काठमाडौँ जिल्ला अदालतबाट पुष्टि समेत भइसक्यो।

त्यो बेलामा खेल पत्रकारले सन्दीप जोडिएको गम्भीर अपराधबारे खुलेर लेख्न सकेनन्। यस्तो हुनुमा मैले तीन कारण देखेँ। पहिलो खेल पत्रकारले सन्दिपलाई राम्रो खेलाडीको रूपमा मात्रै हेरे। सन्दीपको खेलबारे समाचार लेख्ने हाम्रो काम हो, उसको व्यक्तिगत जीवनबारे हैन भन्ने गलत सोच हाबी भयो।

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि क्लोज क्याम्पमा रहेका खेलाडी क्याम्प बाहिर आएर गम्भीर अपराधमा जोडिँदा पनि खेल क्षेत्रका पत्रकारले खेलाडी र जिम्मेवार खेल पदाधिकारीलाई जिम्मेवार बनाउन सकेनन्। लेखेनन्। सन्दीप सेलिब्रिटीसँगै राष्ट्रिय टिमको क्याप्टेन पनि थिए। उनको सामाजिक दायित्व पनि हुन्छ भन्ने खेल पत्रकारले बुझ्न चाहेनन् या बुझेनन्। यो दोस्रो कारण हो।

अनि तेस्रो कारण खेल रिपोर्टिङमा पुरुषहरू हाबी छन्। सन्दीप घटनामा पुरुषवादी चिन्तन हाबी भएको प्रस्टै देखियो।

खेल पत्रकारको रूपमा म अहिले पनि भन्छु सन्दीप राम्रो खेलाडी हुन् तर उनले जुन अपराध गरे त्यो जघन्य हो। ​​​​​​सेलीब्रिटिले आफ्नो सामाजिक प्रभावको दुरुपयोग गरेर कसैलाई हिंसा गर्न पाउँदैन। यो उसले देशलाई दिएको धोका हो, समाजलाई दिएको धोका हो। देशको प्रतिनिधित्व  र समाजको रोल मोडलले यो तहमा अपराध गर्न हुन्छ?

सन्दीपको फ्यानहरूको आक्रमणमा परिन्छ भनेर पनि खेल पत्रकारहरूले यस्तो गम्भीर विषयमा त्यति चासो नदेखाएको हो कि भन्ने पनि लाग्छ।

तर खेल पत्रकारहरूले चासो नराखे पनि यो विषय सेलाएर त गएन त! अदालतबाट स्थापित भयो। यो हामी खेल पत्रकारहरूले खेल पत्रकारिता भनेको हारजितको स्कोर मात्र हैन है भनेर स्थापित गर्न गुमाएको राम्रो अवसर हो।

आग्रह पूर्वाग्रह नराखीकन भएको घटना लेख्न किन डराउनु! सेलीब्रिटी खेलाडी हुनुको अर्थ अपराध गर्न लाइसेन्स पाउनु हो र! हैन भनेर विशेष गरी खेल क्षेत्रका पत्रकारहरूको कलम चल्नुपर्ने थियो। तर चलेन। फुटबलको म्याच फिक्सिङको रिपोर्टिङमा पनि हामी चुकेका थियौँ। सन्दीपको केसमा पनि हामी खेल पत्रकारहरू चुक्यौँ।

खेल समाचार भनिसकेपछि स्कोर र म्याचमा मात्रै केन्द्रित हुनु हुन्न। खेल र अनि खेलाडीसँग जोडिने सबै विषय हाम्रो कार्यक्षेत्र हो।

एक पटक क्रिकेट संघले खेलाडी वर्गीकरण गर्यो। तत्कालीन क्याप्टेन ज्ञानेन्द्र मल्लले वर्गीकरण चित्त बुझ्दो नभएको बताएपछि मैले स्टोरी गरेँ। सोमपाल कामी, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी र कमल सिंह ऐरीको समेत भनाई राखेँ। तर पछि मिडियामा बोल्यो भनेर कारबाही गरियो। स्पष्टीकरण सोधियो। बोल्न पाउने अधिकार भनेर खेलाडीहरूले स्पष्टीकरण दिए। पछि कारबाही फुकुवा भयो। यो पनि खेल क्षेत्रभित्र हुने राजनीति हो नि। खेलाडी भन्दैमा आफूमाथि भएको अन्याय अनि जायज विषयमा पनि बोल्नै नपाउने भन्ने हुन्छ र! तर धेरै खेलाडी बोल्दैनन्। किनकि खेल पत्रकारले महत्त्व नै दिँदैनन्।

राखेपमा २ सय भन्दा बढी खेल दर्ता छन्। कुन खेलको खेलाडी कसरी छनौट भए होलान्?, उनीहरूको अवस्था पनि  राम्रो समाचारको विषय हो नि। तर समाचार आउन सकेको छैन। वास्तवमा खेल क्षेत्र समाचारको खानी हो। तर पर्याप्त समाचार आउन सकेको छैन। यसमा जनशक्ति पनि एक कारण हो।

केही वर्ष अघि आइसिसीले नेपालको क्यानलाई मान्यता दिएको थिएन। त्यो बेला एभरेस्ट प्रिमियर लिग हुने भयो। क्यानलाई निलम्बन गरेपछि आइसिसीको अनुमतिबिना खेल खेलाउन पाइँदैन। किनभने त्यहाँ अनुगमन त हुनुपर्दथ्यो। त्यो खेलdf राष्ट्रिय खेलाडीलाई नखेलाउन भनेर आइसिसीले इमेल पठायो। ‘राष्ट्रिय खेलाडीलाई इपिएल खेल्न आइसिसीको बन्देज’ भनेर समाचार लेखियो।

त्यतिबेला धाकधम्की खुबै आयो तर इपिएलले २० हजार डलर तिरेर अनुमति लिएर खेल खेलायो। भन्न खोजेको भित्र के पाकिरहेको छ भन्नेमा पत्रकारहरू चनाखो हुन जरुरी छ। मैदानभित्र मात्रै खेल हुँदैन, मैदान बाहिर झन् ठुलो ‘खेल’ हुन्छ भन्नेमा पत्रकारले त बुझ्नै पर्छ।

सतही समाचारको ओइरो

सुरुदेखि भनेको छु, खेल समाचार सतही भए। समाचार कक्षले छुटाउन नहुने समाचारमा खेल समाचार त राख्छ तर कहिल्यै पनि खेल समाचारको दायरालाई फराकिलो बनाउने काम गरेको देखिँदैन।

खेलहरू बढ्दो छ, खेल पत्रकार घट्दो छन्। अर्थ विषयमा हेर्यो भने वाणिज्य हेर्ने छुट्टै जनशक्ति, सेयर हेर्ने छुट्टै जनशक्ति, अटो हेर्ने, सूचना प्रविधि अनि बजार हेर्ने अलग-अलग रिपोर्टर हुन्छन्।

अपवाद बाहेक अधिकांश मिडियामा खेल क्षेत्रमा फुटबल, क्रिकेटदेखि, मार्सल आर्ट्स, भलिबल अनि गल्फसम्मको समाचार एक्लैले लेख्नुपर्ने हुन्छ।

यस्तोमा अपडेट दिनु की खोज पत्रकारिता गर्नु ? यही समस्याले हुनसक्छ खेल क्षेत्रमा खोजी पत्रकारिता हुन सकेन। अर्कोतिर खेल पत्रकारलाई खोज पत्रकारिताको सिप सिकाउन कन्जुस पनि गरिएको देखिन्छ।

खेल पत्रकारिता कमजोर हुनुमा अलि फराकिलो दृष्टिकोणबाट हेर्दा राज्य देखि नै हेर्नुपर्छ। सरकारको कुल बजेटको १ प्रतिशत बजेट पनि खेल क्षेत्रमा विनियोजन हुँदैन। खेल मन्त्रालय राजनीतिक दलको पनि प्राथमिकतामा पर्दैन अनि समाचार कक्षले पनि जित र हारकै समाचारमा चित्त बुझाउँछ।

अर्को समाचार कक्षमा अन्य विषयबारे जसरी छलफल हुन्छ खेलबारे एकदमै कम छलफल हुन्छ। यसको एक कारण खेल क्षेत्र र मिडिया हाउसको रेभिन्युबीचको कमजोर सम्बन्ध पनि हो कि! आर्थिक लगायतका क्षेत्र जस्तै खेल क्षेत्र पनि मिडियाको रेभिन्युसँग जोडिएको भए यति कमजोर पक्कै हुने थिएन। पाठक छन् भनेर मात्र हो खेल पत्रकार राखिने। समाचार त बिक्छ तर व्यवसाय आउँदैन। त्यही भएर पनि सञ्चालकहरूले रिपोर्टर राख्ने तर धेरै चासो नराख्ने गरेको हो कि जस्तो लाग्छ।

राज्यले चाहने हो भने खेलको व्यवसाय नहुने हैन। प्याराग्लाइडिङ, बन्जी जम्प जस्ता साहसिक खेललाई खेल पर्यटनसँग जोड्न सकिन्छ। व्यावसायिक रूपमा क्रिकेट अनि फुटबल लिगको सङ्ख्या बढाउन सकिन्छ।

यसमा सीमित मात्रामा प्रयास त भएका छन् तर जुन ढंगले अगाडि बढ्नुपर्ने हो त्यो तरीकाले जान सकेन।

खेल क्षेत्रमा व्यवसायीकरण बढ्ने हो भने समाचार कक्षमा खेलका समाचार पनि प्राथमिकतामा पर्न थाल्थे।

त्यस्तै खेल पत्रकारले गर्नुपर्ने अर्को काम भनेको खेलमा हुने अपराध पनि हो। जस्तो बेटिङ। प्राय टुर्नामेन्टमा बेटिङ भएको देखिन्छ। खेलहरूमा अनलाइन बेटिङ गराउने अन्तर्राष्ट्रिय कम्पनीहरूको प्रभाव पनि बढ्दै गएको देखिन्छ। तर योबारेको जसरी मिडियामा उठ्नुपर्ने हो उठ्न सकेको छैन।

कि राज्यले बेटिङलाई कानुनी बनाउनु पर्यो होइन भने स्पष्ट कानुन ल्याउनु पर्यो। कानुनको छिद्र प्रयोग गरेर दुरुपयोग गरिरहन सक्ने त बनाउनु भएन।

पत्रकारिताको १६ वर्षे मेरो अनुभवले के भन्छ भने, अब स्कोर हेरेर समाचार त एआइले पनि बनाउन सक्छ। नीतिगत भ्रष्टाचार, प्रशिक्षक, खेलाडी, संघले कसरी काम गर्छन्, नियुक्ति कसरी हुन्छन्, खेलाडीको समाज प्रतिको बुझाइ, खेलाडीको क्षमता, उसको स्पिड, महिला खेलाडी महिनावारी भएको प्रशिक्षकलाई थाहा हुन्छ की हुँदैन, कुनै खेलमा कहाँ के किन यस्तो भयो ? संसदका कुरादेखि मैदानका कुरासम्म लेख्न सक्ने हुनुपर्छ अब।

एउटा मिडियामा काम गर्दाको अनुभव बाँडेर अन्त्य गर्छु।

नेदरल्याण्डमा रिर्पोटिङको लागि जानुपर्यो। अफिसले पठाउन त पठायो तर एकतर्फी टिकटको पनि पूरै पैसा दिएन। खेल समाचारको एक्स्ट्रा रिपोर्टिङ पनि खोज्ने अनि लगानी गर्न पनि डराउने त हुनु भएन।

पत्रकारको प्यासनले मात्रै पत्रकारिता टिक्न सक्दैन। अधिकांश नेपाली मिडियामा काम गर्ने पत्रकारहरू आर्थिक स्थिति फिटिक्कै सुधार नभएर पलायन भइरहेका छन्। खेल पत्रकारको हकमा पनि त्यही हो। खेलप्रति क्रेजी पत्रकारको भरले मात्रै अब खेलकुद पत्रकारिता टिक्दैन।

मीड करियरमा पुगेपछि तलब नबढ्दा, खर्च बढ्दा अधिकांशले पत्रकारिता छोडेको देखिन्छ। काम अनुसार तलब बढेन भने प्यासनले मात्रै पत्रकार रहन सकिँदैन। यो कुरा मिडिया हाउसले बुझ्न जरुरी छ।

आफू आर्थिक रूपमा कति सुरक्षित छु भन्नेमा सबैको ध्यान त जान्छ नै। नेपाली मिडियामा आउने पटक पटकको क्राइसिसले मिडियाप्रति नयाँ पुस्ता आउन डराइरहेका छन्। यो पक्षबारे बेलैमा सोच्नुको विकल्प छैन। मिडियाहरू प्रोफेसनल हुनुपर्यो।

 (क्यापिटल एफएम, हिमालय टाइम्स, दृष्टि साप्ताहिक, एबिसि टेलिभिजन, नयाँ पत्रिका, नेपाललाइभमा काम गरिसकेका कोइराला अहिले सेतोपाटीमा कार्यरत छन्। उनीसँग उकेराको चौथो अंग कोलमको लागि ‘खेलकुदमा नीतिगत समाचारमा केन्द्रित भएर उकेराकर्मी प्रजु पन्तले गरेको कुराकानीमा आधारित)

चौथो अंगका पुराना श्रृंखला 

१३ चैत, २०८०, १८:५३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।