उपसभामुख राना र सांसद खतिवडाबीच हाँसीमजाक : 'भोकाएजस्तो लाग्यो, खाजाको व्यवस्था गरौंला'

उपसभामुख राना र सांसद खतिवडाबीच हाँसीमजाक : 'भोकाएजस्तो लाग्यो, खाजाको व्यवस्था गरौंला'

काठमाडौं : बुधबारको प्रतिनिधिसभा बैठकमा उपसभामुख इन्दिरा राना र नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाबीच ख्यालठट्टा चल्यो।

बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल चलिरहेको थियो। सांसदहरूले राखेका जिज्ञासा अर्थमन्त्री वर्षमान पुनले सम्बोधन गर्ने कार्यक्रम थियो।

सांसद खतिवडाले संसदमा अर्थमन्त्री पुनलाई उपस्थित गराउन आग्रह गरे।

रोष्टममा पुगेका सांसद खतिवडाले भने, ‘प्रतिनिधिसभा नियमावलीमा संसद् बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य भनेको छ। त्यसकारण मन्त्रीलाई म पर्खन्छु। मन्त्रीलाई उपस्थित गराउन अनुरोध गर्छु। यो परम्परा २०७० को संविधानसभामा पनि सम्बन्धित मन्त्री उपस्थित नहुँदा संसद् स्थगन गरेर मन्त्री उपस्थित भएपछि चलाउने प्रचलन थियो। त्यतातिर ध्यान दिइयोस्।’

तर अर्थमन्त्री पुन राष्ट्रियसभामा सांसदको प्रश्नको जवाफ दिन गएका थिए। उपसभामुख रानाले अर्थमन्त्री केही बेरमा आउने बताइन्।

उपसभामुख रानाले भनिन्, ‘माननीय सदस्यलाई मैले भनिसकेँ, राष्ट्रियसभामा जवाफ दिन जानुभएको छ। जवाफ दिएपछि आइहाल्नुहुन्छ।’  

सांसद खतिवडाले थपे, ‘मैले बुझेँ। त्यो उपस्थिति व्यवस्था गर्ने काम सचिवालयको हो। मन्त्रीलाई कुन बेला राष्ट्रियसभामा पठाउने, कुन बेला प्रतिनिधिसभामा पठाउने। प्रतिनिधिसभामा छलफल भइरहेको छ, त्यसलाई आलोपालो गरेर मिलाउन सकिन्छ। प्रतिनिधिसभामा मन्त्रीको उपस्थिति चाहियो।’

त्यसपछि उपसभामुख रानाले भनिन्, ‘अब पर्खी बस्ने त होला। आउँदै हुनुहुन्छ अर्थमन्त्रीज्यू।’ 

सांसद खतिवडाले अर्थमन्त्री आउन्जेल पर्खिने बताए। उनले भने, ‘ठिक छ सभामुख महोदय रातिसम्म पर्खनुहुन्छ हामी पनि पर्खन्छौँ केही छैन।’

जवाफमा उपसभामुख रानाले भनिन्,  ‘एकैछिन पर्खौँ, आउँदै हुनुहुन्छ।’

त्यसपछि सांसद खतिवडाले थपे, ‘नियमावलीमै उल्लेख छ सभामुख महोदय परिच्छेद १७ मा।’

उपसभामुख रानाले बोल्दै गर्न आग्रह गर्दै भनिन्, ‘माननीय सदस्य बोल्न सुरु गर्दै गर्नुस्, आउँदै हुनुहुन्छ। बाटोमा आइसक्नुभएको छ।’

सांसद खतिवडाले आफू पर्खिने कुरा पुनः दोहोर्याए। ‘ठिक छ, म पनि बाटोसम्मै पर्खन्छु’, उनले भने।

त्यसपछि ख्यालठट्टा गर्दै उपसभामुखले भनिन्, ‘हुन्छ पर्खिनुहुन्छ भने खाजाको पनि व्यवस्था गरौँला पछि।’

‘सभामुख अलि भोकाएजस्तो लाग्यो, त्यसको व्यवस्था गर्न हामी पनि तयार छौँ। बरु संसद् कोषबाटै निर्माण गर्नुपर्छ भने पनि तयार छौँ सभामुख महोदय,’ सांसद खतिवडाले जवाफ फर्काए। 

त्यसपछि अर्थमन्त्रीको प्रवेश भयो।

सांसद खतिवडाले विषयवस्तुमा केन्द्रित भएर आफ्नो धारणा राख्न सुरु गरे।

७ चैत, २०८०, १५:५७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।