विद्यालय भवन बनाउँदा भ्रष्ट्राचार गरेको अभियोगमा प्रधानाध्यापक, इन्जिनियर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

विद्यालय भवन बनाउँदा भ्रष्ट्राचार गरेको अभियोगमा प्रधानाध्यापक, इन्जिनियर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौं : विद्यालय भवन बनाउँदा भ्रष्ट्राचार गरेको अभियोगमा प्रधानाध्यापक, इन्जिनियर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ।

रौतहटको ईशनाथ नगरपालिका-५ स्थित आधारभूत विद्यालय लक्ष्मिनिया, जटहरामा २ कोठे पक्की भवन निर्माणको क्रममा भ्रष्ट्राचार गरेको भन्दै विद्यालयका प्रधानाध्यापक मुहमद समिम अख्तर, ईशनाथ नगरपालिकाका तत्कालीन इन्जिनियर सत्यपाल सौरभ र प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ताविरुद्ध विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दायर भएको हो।

भवन निर्माणका क्रममा मापदण्ड, गुणस्तर र इष्टिमेट विपरीतको कार्य गरी इन्जिनियर सत्यपाल सौरभले ८६ हजार ६४७ रूपैयाँ ६३ पैसा बढी भुक्तानी गर्न प्रतिवेदन/विल तयार गरी पेश गरेको अभियोगपत्रमा उल्लेख छ।

साथै सौरभले भवनको छानामा यूपीभीसी प्रयोग गरेको अवस्थामा नापी कितावमा वास्तविकभन्दा फरक हुने गरी सीजीआई सिट उल्लेख गरेको एवं बढी भुक्तानीका लागि गलत प्रतिवेदन तयार गरेको समेत अख्तियारले जनाएको छ।

त्यसैगरी पालिकाका प्रमुख प्रशासकीय अधिकृत गुप्ताले अन्तिम भुक्तानीका लागि प्राविधिकबाट तयार गरिएको नापी किताव र कार्य सम्पन्न प्रतिवेदनमा १४ लाख ३५ हजार नौ सय रुपैयाँ बरावरको कार्य सम्पन्न भएको देखिएको थियो।

प्राविधिक प्रतिवेदन अनुसार विद्यालयले बेहोर्ने रकम ७१ हजार ७९५ रुपैयाँ कट्टा गरी १३ लाख ६४ हजार १०५ रुपैयाँ मात्र भुक्तानी दिनुपर्नेमा अन्तिम किस्ता भुक्तानी गर्दा सम्झौताबमोजिम पेश गर्नुपर्ने विद्यालयको माग निवेदन, नापी किताव, कार्य सम्पन्न प्रतिवेदन, प्राविधिकको सिफारिससमेतका कागजातहरू चेकजाँच नगरी बाँकी रकम निकासा गरी भुक्तानी नहुनुपर्ने २ लाख ३५ हजार ८९५ रुपैयाँ बढी भुक्तानी दिएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो।

त्यस्तै विद्यालयका तत्कालीन प्रधानाध्यापक अख्तरले प्राविधिकबाट अन्तिम भुक्तानीका लागि बनाइएको कार्य सम्पन्न प्रतिवेदन अनुसार नगरपालिकाबाट प्राप्त रकमसमेतबाट सम्झौता बमोजिम जम्मा १४ लाख ३५ हजार नौ सय रुपैयाँमा गलत नापजाँच गरी थप गरिएको बढी रकम ८६ हजार ६४७ रुपैयाँ ६३ पैसा घटाई हुन आउने रकम १३ लाख ४९ हजार २५२ रुपैयाँ ३७ पैसा मात्र खर्च हुनुपर्ने थियो।

तर, प्राप्त विल भरपाई र लेखापरीक्षण प्रतिवेदनसमेतका आधारमा १६ लाख ५३ हजार ५० रुपैयाँ खर्च देखाई हुँदै नभएको कामको झुट्टा विल पेश गरी ३ लाख ०३ हजार ७९७ रुपैयाँ ६३ पैसा बढी खर्च लेखेको अख्तियारको अनुसन्धानमा देखिएको थियो।

५ चैत, २०८०, १३:४२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।