‘यो काठमाडौं महानगरको मातहतमा पर्दैन’ भन्ने बोर्ड तीन दिनभित्र हटाउन सडक विभागको उर्दी

‘यो काठमाडौं महानगरको मातहतमा पर्दैन’ भन्ने बोर्ड तीन दिनभित्र हटाउन सडक विभागको उर्दी

काठमाडौं : सडक विभागले चक्रपथ सुधार आयोजनाको दोस्रो फेज अन्तर्गत कंलकीदेखि बसुन्धारा पुलसम्मको सडकमा स्वीकृतिविना राखिएको बोर्ड हटाउन तीन दिनको अल्टिमेटम दिएको छ।

शुक्रबार सार्वजनिक सूचना निकालेर विभाग अन्तर्गतको काठमाडौं चक्रपथ सुधार योजनाको कार्यालयले सडक विभागको पूर्व स्वीकृति विना नै सडक सीमाभित्र ‘यो काठमाडौं महानगरपालिका मातहत पर्दैन’ उल्लेख गरी राखिएको होडिङ बोर्ड हटाउन निर्देशन दिएको हो।

कार्यालयले तीन दिनभित्र बोर्ड नहटाए विभागले नै बोर्ड हटाएर सार्वजनिक सडक ऐन २०३१ को दफा ३० बमोजिम कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ।

यो दफामा मुद्दाको तहकिकात गर्ने र तहकिकातको काम पूरा भएपछि सडक विभागको सम्बन्धित कार्यालय प्रमुखले सडक विभाग वा दफा ३१ बमोजिम मुद्दा दायर हुने उल्लेख छ।

काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले दोस्रो चरणको काम समयमै पूरा नहुँदा काठमाडौंवासीले धुँवाधुलो खेप्नुपरेको र त्यसले काठमाडौंको सौन्दर्यतामा समेत प्रभाव परेको भन्दै केही दिनअघि सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका थिए।

सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाउँदै गर्दा उनले ‘यो काठमाडौं महानगरपालिका मातहत पर्दैन’ भनेर राखिएको बोर्डको तस्बिरसमेत राखेका थिए।

चक्रपथ सुधार योजनाको कार्यालयले २०१८ जनवरी १७ मा समझदारी भई नेपाल सरकारको तर्फबाट साइट क्लियर र डिटेल इन्जिनियरिङ डिजाइनको काम चिनियाँ पक्षबाट सम्पन्न भइसकेको उल्लेख गरेको छ। तर, खरिद कारबाही एवं सम्झौता भने नभएको कार्यालयको भनाइ छ।

२ चैत, २०८०, ०८:१८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।