पुनःस्थापना केन्द्र सञ्चालन गर्न गोदावरीले ट्रमा सेन्टरलाई दिएको जग्गा प्राप्तिको प्रक्रिया सुरू

पुनःस्थापना केन्द्र सञ्चालन गर्न गोदावरीले ट्रमा सेन्टरलाई दिएको जग्गा प्राप्तिको प्रक्रिया सुरू

काठमाडौं : राष्ट्रिय ट्रमा सेन्टरको राष्ट्रिय पुनःस्थापना केन्द्र सञ्चालनका लागि ललितपुरको गोदावरीमा सय रोपनी जग्गा प्राप्त गर्ने प्रक्रिया सुरू भएको छ।

राष्ट्रिय ट्रमा सेन्टरको पुनःस्थापना केन्द्र बनाउनका लागि ललितपुरको गोदावरी नगरपालिकाको वडा नम्बर १० र ६ को सीमामा पर्ने झ्यालुन्टार सामुदायिक वन र फैलुन सामुदायिक वन क्षेत्र भित्र बन्द भएको पुरानो ढुंगा खानी क्षेत्रको सय रोपनी जग्गा प्राप्तिको लागि प्रक्रिया अघि बढेको हो।

नगरपालिकाले सो जग्गा ट्रमा सेन्टरलाई उपलब्ध गराउने निर्णय गरिसकेकाले जग्गा प्राप्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले जानकारी दिए।

‘...करिब सय रोपनी जग्गा उपलब्ध गराउन नगरपालिकाको मिति २०८०÷०९÷०८ को निर्णयबाट लेखि आएको हुँदा उक्त जग्गा प्राप्तिको लागि आवश्यक प्रक्रिया एवं समन्वयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुरोध गरिएको छ,’ पत्रकारसँगको अन्तरक्रियात्मक कार्यक्रममा डा. रिजालले भने।

चोटपटक लागेका बिरामीहरूको उपचारको क्रममा लामो समयसम्म पुनःस्थापना केन्द्रमा बस्नुपर्ने हुन सक्छ। त्यस्ता बिरामीलाई पुनःस्थापना तथा जीवनशैलीको सहजताका लागि विशेष थेरापी लगायतका कार्यक्रम आवश्यक पर्न सक्छ।

मेडिकल सुपरिटेन्डेन्ट डा. रिजालका अनुसार यस्ता घाइते तथा बिरामीका लागि हालसम्म नेपाल सरकार मातहतमा पुनःस्थापना केन्द्र छैन। त्यसैले ट्रमा सेन्टरको मातहतमा पुनःस्थापना केन्द्र आवश्यक रहेकाले जग्गा खोजी गर्नेक्रममा नगरपालिकाले सो जग्गा दिने निर्णय गरेकाले जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाइएको डा. रिजालले जानकारी दिए।

डा. रिजालका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गरेकामध्ये ७० प्रतिशत भन्दा बढी बिरामीलाई पुन:स्थापना केन्द्र (रिह्याभ सेन्टर) आवश्यक पर्छ। तर, सरकारी क्षेत्रमा यस्तो पुनास्थापना केन्द्र नहुँदा महँगो शुल्क तिरेर बिरामी निजी पुन:स्थापना केन्द्रमा जानुपर्ने बाध्यता छ। त्यसैले यो जग्गा प्राप्त गरेर संरचना बनाएर जनशक्ति लगायतको व्यवस्थापन गरेर पुनःस्थापना केन्द्र सञ्चालन गर्न सकेको खण्डमा धेरै बिरामीले राहत पाउने उनले बताए।

त्यसैगरी अस्पतालमा हाल सञ्चालनमा रहेका पाँच वटा अप्रेशन थिएटरलाई मोडुलर अप्रेशन थिएटरमा स्तरोन्नति गर्न निर्माण कार्य भइरहेको पनि डा. रिजालले जानकारी दिए।

चोटपटक लागेका बिरामीको उपचारका क्रममा आकस्मिक रुपले डायलाइसिस गर्नुपर्ने भएमा उपयोग गर्नेगरी एउटा डायलाइसिस मेसिनको समेत व्यवस्था गरिएको उनले बताए।

उनले अस्पताल भर्ना भई उपचार लिइरहेका बिरामीको लागि नि:शुल्क वितरण गरिने खाना तथा खाजाको लागि भान्सा सञ्चालनमा ल्याउनुले लगायतको काम गरेको बताए।

१ चैत, २०८०, १८:२२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।