अपराध न्यूनीकरण गर्न विद्यालयमा सचेतना जगाउँदै सुर्खेत प्रहरी, ७ विद्यालयका ३८८ विद्यार्थी लाभान्वित

अपराध न्यूनीकरण गर्न विद्यालयमा सचेतना जगाउँदै सुर्खेत प्रहरी, ७ विद्यालयका ३८८ विद्यार्थी लाभान्वित

सुर्खेत : समाजमा हुने विभिन्न आपराधिक घटनाहरूलाई न्यूनीकरण गर्न सुर्खेत प्रहरीले विद्यालयमा सचेतना कार्यक्रम गरेको छ। यूनिसेफको सहयोग र नेपाल प्रहरीको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयको समन्वयमा सचेतना कार्यक्रम गरिएको हो।

सामाजिक विकृति, विसंगति र अपराध न्यूनीकरण गर्ने उद्देश्यले सुर्खेतका सात वटा विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न गरिएको हो। कर्णाली प्रदेश प्रहरी विद्यालय वीरेन्द्रनगर, सुर्यज्योति माध्यमिक विद्यालय मेहेलकुना, आनन्द माध्यमिक विद्यालय गुमी, शिव माध्यमिक विद्यालय धुलियाबिट, त्रिपुरेश्वर माध्यमिक विद्यालय ढोडेखाली, सरस्वती माध्यमिक विद्यालय फिनिकाँडा र नवज्योति केन्द्र लाटिकोइलीमा सचेतना कार्यक्रम गरिएको सुर्खेत प्रहरीले जनाएको छ।

उक्त कार्यक्रमबाट तीन सय ८८ जना विद्यार्थीले लागूऔषध र यसले पार्ने प्रभाव, बालिकामाथि हुने हिंसा र कानुनी प्रावधान सम्बन्धी सचेतना पाएका छन्।

घटनाको तथ्याङ्कलाई हेर्दा आपराधिक कार्यबाट बालबालिका र महिला बढी पीडित हुने गरेकोले त्यस्ता अपराधहरूको न्यूनीकरण गर्न विद्यालयमा सचेतना मूलक कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले बताए।

‘हामीले आपराधिक घटनालाई न्यूनीकरण गर्न विद्यालय सम्पर्क कार्यक्रम गरेका हौं। प्रहरीले समुदायमा सचेतना बढाउने क्रियाकलाप अन्तर्गत विद्यार्थी, शिक्षक तथा अभिभावकलाई लक्षित गरिएको छ,’ उनले भने, ‘अहिले प्रहरीले देशभर विभिन्न विद्यालयहरूमा यस्ता कार्यक्रमहरू गरिरहेको छ।’

उनका अनुसार लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्धि गरी विद्यालयमा लैङ्गिक हिंसा विरूद्ध शून्य सहनशीलता स्थापित गराउन, विद्यार्थीका अतिरिक्त शिक्षक, कर्मचारी, अभिभावकलाई पनि संलग्न गराई विद्यार्थीहरूलाई लैङ्गिक हिंसाको सूचना वा सो सम्बन्धमा संवाद गर्न, विश्वसनीय वातावरणको सिर्जना गर्न सचेतना कार्यक्रम गरिएको हो।

त्यस्तै, विद्यालय र समुदायको सेरोफेरोमा हुनसक्ने लैङ्गिक हिंसाका सम्भावित पीडित वा जोखिममा रहेका बालबालिकालाई बालमैत्री वातावरणको सिर्जना गरी न्यायको प्रत्याभूति दिन कार्यक्रमले सहयोग पुर्याउने उनको दाबी छ।

१० देखी १८ वर्ष उमेरसम्मका, कक्षा ६ देखि १२ सम्मका बालबालिका दुबैलाई विभिन्न समूहमा सचेतना कार्यक्रम गरिएको उनले बताए।

जिल्लाको महिला, बालबालिका विरुद्धको अपराध दरलाई आधार मानी उच्च घटना भएका क्षेत्रहरूलाई प्राथमिकता दिएर विद्यालयको छनोट गरिएको उनको भनाई छ।

विद्यालयमा गरिने यस्ता खालका कार्यक्रमले सचेतनासँगै अपराध न्यूनीकरणमा सहयोग हुने सरस्वती माध्यमिक विद्यालय बराहताल-९ फिनिकाँडाकी प्रधानाध्यापक उषाकुमारी चन्दले बताइन्।

सचेतना कार्यक्रममा बालबालिकाहरूलाई बाल अधिकार तथा बालबालिका सम्बन्धी सन्देश, अपराधका जानकारीमूलक सन्देशबारे सचेतना गराइएको थियो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक रेवन्त सेनको संयोजकत्वमा महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी नायव निरिक्षक संगिता रसैली र सामुदायिक प्रहरी साझेदारी कार्यक्रमका प्रहरी सहायक हवल्दार सर्जन श्रीषले विद्यालयहरूमा प्रशिक्षण दिएका थिए।

पछिल्लो समय साइबर अपराध, बलात्कार, सुसाइड जस्ता घटनामा विद्यालय उमेरका बालबालिका बढी रहेकोले विद्यालयमा सचेतना जगाउँदा आपराधिक घटना न्यूनीकरण हुने विश्वास प्रहरीको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयहरूले १० वटै जिल्लाका गाउँगाउँमा सचेतना कार्यक्रमहरू गरिरहेका छन्। प्रहरीले समुदाय साझेदारी कार्यक्रम र लालटिन अभियान अन्तर्गत, विद्यालयमा पुगेर बाल विवाह, ट्राफिक नियम, लागूऔषध, घरेलु हिंसा, आत्महत्या, सवारी दुर्घटना, साइबर अपराध र यात्रु सुरक्षा अभियान सम्बन्धी विषयहरूमा सचेतनामूलक कार्यक्रम गरिरहेको छ।

२८ फागुन, २०८०, २१:२९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।