कांग्रेस कार्यसम्पादन बैठकमा देखिएन सरकार गुमाउँदाको दुख, मन्त्री खोसिएकाहरूले अनुभव सुनाए, नेताहरू रमाए

कांग्रेस कार्यसम्पादन बैठकमा देखिएन सरकार गुमाउँदाको दुख, मन्त्री खोसिएकाहरूले अनुभव सुनाए, नेताहरू रमाए

काठमाडौँ : गत पुस १० गते यसै गरी प्रचण्डले एमालेसहितका दलसँग मिलेर सरकार बनाउँदाको माहौल भने खिन्न देखिएको थियो कांग्रेस नेताहरूमाझ। पुष्पकमल दाहाल  प्रचण्डको माग अनुसार पहिलो कार्यकाल प्रधानमन्त्री बन्न दिएको भए भइहाल्थ्यो भन्ने धेरै कांग्रेसीको प्रतिक्रिया आएको थियो।

उसैगरि माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकाएक सोमबार गठबन्धन बदलेपछि सत्ताधारीबाट प्रमुख प्रतिपक्षीको हैसियतमा झर्यो कांग्रेस।

अब के गर्ने भन्नेबारे छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा डाँकिएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा गठबन्धन बदलिएकोमा चिन्ता, पश्चात्ताप वा आक्रोश भन्दा हँसीमजाक बढी चलेको बैठकमा सहभागी एक नेताले सुनाए।

निवर्तमान मन्त्रीहरू समेत सहभागी रहेको बैठकमा उनीहरूले गठबन्धन बदलिएपछि बदलिएको माहौलबारे ठट्टा गर्दै आफ्नो अनुभव सुनाएका थिए। मुख्य रूपमा अर्थमन्त्री रहेका डा प्रकाशशरण महत र स्वास्थ्यमन्त्री रहेका मोहन बस्नेतले सरकारमा रहँदा आफूहरूले गरेको कामको बचाउ गरेका थिए।

सरकारमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूमध्ये बस्नेत सबैभन्दा धेरै विवादमा तानिए। अधिकांश स्वास्थ्य उपकरण र सामाग्रीको खरिद मिलेमतोमा भयो।

कार्यसम्पादन समितिको बैठकमा गठबन्धन भत्कनुमा पार्टीभित्रका कुन कुन नेताको भूमिकाले काम गर्यो भन्ने आरोप प्रत्यारोप चल्ने आङ्कलन गरिएको थियो। विशेष गरी उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाको प्रतिवेदनबारे माओवादी नेताहरूले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन बदलिनुको कारणमध्येमा यिनलाई पनि जोड्ने गरेका छन्।

बैठकमा संस्थापन पक्षबाट महामन्त्री थापाको आलोचना हुनसक्ने आङ्कलन पनि गलत भयो। नेताहरू आरोप प्रत्यारोपतिर भन्दा माओवादी अध्यक्ष प्रचण्डको स्वभाव धोका दिने नै रहेकाले चाँडै गठबन्धन बदलेर ठिकै गरे भन्ने निष्कर्षमा निस्किएको एक नेताले बताए।

नयाँ गठबन्धन बनाएपछि गठबन्धन बदल्नुको कारण भन्दै प्रचण्डले विभिन्न बहाना बनाउने भन्दै नेताहरूले प्रचण्डको गफतिर नभुली प्रमुख प्रतिपक्षीको रूपमा काम गर्नुपर्ने सुझाव दिएका थिए।

बैठकमा ठुलो दल भएर पनि साना दलहरूले खेलाउने अवस्थाको अन्त्य गर्न निर्वाचन प्रणाली लगायतका विषयमा संशोधन गर्नुपर्ने मत समेत आएको थियो।

बैठकमा भएको निर्णय सुनाउँदै उपसभापति धनराज गुरुङले भने,‘ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुन साथ दिएका थियौँ, विश्वास गरेका थियौँ हामीले आजबाटै समर्थन फिर्ता लिने निर्णय गरेका छौँ। अब हामी प्रतिपक्षमा बसेर अघि बढ्छौ।’

२२ फागुन, २०८०, २३:४७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।