१४ वर्षकी सालिनको मृत्युमा परिवारको चार शङ्का, पोस्टमार्टम प्रतिवेदन कुर्दै प्रहरी

१४ वर्षकी सालिनको मृत्युमा परिवारको चार शङ्का, पोस्टमार्टम प्रतिवेदन कुर्दै प्रहरी

चितवन : एक साता अगाडि चितवन-रत्ननगरको शिशु निकेतन बोर्डिङ स्कुलको छात्रावासमा मृत फेला परेकी १४ वर्षिया किशोरी सालिन पोखरेल मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानकाक्रममा स्कुलको तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइरहेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले स्कुलका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक कमल शर्मा पौडेल र होस्टेल इन्चार्ज किरणबहादुर अधिकारीलाई मंगलबार नियन्त्रणमा लिएको हो।

गत शनिवार १० बजेतिर स्कुलको छात्रावासमा बसेर कक्षा ८ मा पढ्दै आएकी १४ वर्षीय सालिनको शव झुन्डिएको अवस्थामा फेला परेको घटना सार्वजनिक भएको थियो। मृतक किशोरीको परिवारहरूले घटना आत्महत्या नभई बलात्कारपछि हत्या भएको शङ्का गरेका छन्। उनीहरूले स्कुल नेतृत्वलाई पक्राउको माग राख्दै शव उठाउन अस्वीकार गरेपछि प्रहरीले स्कुलका तीन जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार घटनास्थलको सूक्ष्म मुल्यांकनसहित मुचुल्का गरेर स्कुल र छात्रावास क्षेत्रको २४ घण्टाको क्लोज सर्किट टेलिभिजनको फुटेज, किशोरीसँगै बस्ने छात्राहरू लगायतकाहरुसँग जानकारी लिने लगायतका काम जारी छ।

किशोरीको परिवारले चितवनमै पोस्टमार्टम गर्न नमानेपछि शव काठमाडौँ पठाएको छ। चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रीराम भण्डारी पोस्टमार्टमको प्रतिवेदनको पर्खाइमा रहेको जानकारी दिए।

प्रहरीलाई स्कुलबाट प्राप्त विवरण र अनुसन्धानमा  किशोरी बस्ने होस्टलको कोठामा पाँच जना छात्रा समेत बस्ने गरेको खुलेको छ। घटनाको दिन उनी साथीहरूसँग खाना खान गएकी थिइनन्।

उनी जुत्ता धुँदै गरेकाले साथीहरू खाना खान गए। उनी कोठामै रहिन्। साथीहरू खाना खाएर कोठामा फर्कँदासम्म उनी आएकी थिइनन्। साथीहरू कोठामा फर्कँदा ढोका खुलेन।

ढोका नखुलेपछि शिक्षक आएर बल लगाएर ढोका खोल्दा उनको शव पङ्खामा झुन्डिएको अवस्थामा फेला परेको देखियो। त्यसपछि स्कुलबाट प्रहरीलाई जानकारी आएपछि घटनास्थल पुगेर मुचुल्का उठाउने काम भएको देखिन्छ। घटनास्थलमा बुबा-आमालाई सम्बोधन गर्दै सरी भनेको नोट फेला परेको र सो नोटमा रहेको अक्षर मृतक किशोरीको अक्षरसँग मिल्छ या मिल्दैन भनेर परीक्षणका लागि प्रहरी विधि विज्ञानमा पठाएको भण्डारीले उकेरालाई जानकारी दिए।

'मुचुल्कादेखि सबै पक्षको अनुसन्धानमा प्रहरी गम्भीर छ,' भण्डारीले भने' सिसिटिभी फुटेजसहितका प्रमाण सङ्कलन, स्कुलका साथी लगायतकाहरुसँग जानकारी लिने लगायतका काम जारी छ।'

सानैबाट बाबु-आमासँग अलग थिइन् किशोरी

किशोरी गोरखाकी भए पनि उनी चितवनको रत्ननगर–१५ माधवपुरमा रहेको मामा घरमा बस्दै आएकी थिइन्। उनी सानै हुँदा नै बाबुआमाको सम्बन्धविच्छेद भइसकेको थियो। आमा वैदेशिक रोजगारीकाक्रममा दुबई गइन्। दुई वर्षदेखि उनी शिशु निकेतनको होस्टलमा बसेर पढ्दै आएकी थिइन्।

प्रहरी अनुसन्धानमा स्कुलको छात्रावासमा मृतक किशोरीसहित पाँच जना छात्राहरू र २६ जना छात्र बस्ने गरेको खुल्यो। छात्र र छात्रा बस्ने छात्रावासको बिचमा च्यानल गेट रहेको देखिएको छ।

किटानी जाहेरी नलिँदा शङ्का

घटना लगत्तै मृतकको परिवारले प्रहरीमा स्कुलका प्रधानाध्यापकसहितको नामै किटेर किटानी जाहेरी दर्ताको तयारी गरे। उनीहरूलाई पक्राउ गर्न माग गरे।

प्रहरीले जाहेरी नभई उजुरी ल्याउन आग्रह गरेको देखियो। तर बालिकाको परिवारले किटानी जाहेरी नलिए शव नबुझ्ने अडान लियो।

किशोरीको बाबु दीपेन्द्रले पत्रकार सम्मेलन गरेर आत्महत्या गरिएको ठाउँमा पुग्दा सरसफाइ गरिएको, सालिनले लगाएका कपडाहरू सबै भिजाइएको, आफूहरूलाई घटना ढिला जानकारी गराइएको र परिवारको अनुपस्थितिमा होस्टेलको ढोका फोडिएकोमा शङ्का गरेका थिए।

चितवनमा पोस्टमार्टमको सुविधा भए पनि मृतकका परिवारले चितवनमा पोस्टमार्टम गर्न मानेनन्। अनि शव पोस्टमार्टमका लागि काठमाडौँको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइयो।

परिवारका सदस्यले किटानी जाहेरी नलिएको भन्दै प्रहरी अनुसन्धानमा शङ्का गरेको देखिन्छ। चितवन प्रहरीका प्रवक्ता भण्डारी घटनाबारे जानकारी आएदेखि नै प्रहरीले गम्भीर रूपमा अनुसन्धान अगाडि बढाएको, आत्महत्या हो पीडितको परिवारको दाबी अनुसार हत्या भन्ने चरणमा अनुसन्धान नपुगेकाले तत्काल किटानी जाहेरी नलिएको बताउँछन्।

'हामीले अनुसन्धान गरिरहेकै थियौँ। उहाँहरूले किटानी जाहेरी दिन चाहनुभयो। हामीले अहिले उजुरी दिँदा पनि हुन्छ। अनुसन्धानमा खुलेको आधारमा किटानी आवश्यक परे पछि दिए हुन्छ भनेका हौँ,' उनले भने' किटानी नलिए शव नबुझ्ने भएपछि किटानी अनुसार अदालतबाट अनुमति लिएर तीन जनालाई पक्राउ गरेका छौँ। अनुसन्धानमा हामी गम्भीर छौँ।'

१९ फागुन, २०८०, १२:२७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।