भरतपुरमा रेनुको शक्ति प्रदर्शन, विद्यालय बन्द गराएर कार्यक्रम, प्रधानमन्त्रीसहित भिआइपी एकै मञ्चमा

भरतपुरमा रेनुको शक्ति प्रदर्शन, विद्यालय बन्द गराएर कार्यक्रम, प्रधानमन्त्रीसहित भिआइपी एकै मञ्चमा

भरतपुर : रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयरसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको छोरी नभएको भए कुनै एक नगरपालिकाले घोषणा गरेको कार्यक्रममा प्रधानमन्त्रीसहित अधिकांश पूर्व प्रधानमन्त्री र सरकारी निकायका पदाधिकारी एकै मञ्चमा सहभागी हुन्थे होलान्?

पक्कै हुन्थेनन्। पुसमा धरान उपमहानगर पालिकाको धरान डेको प्रमुख अतिथि बनिदिन गरेको आग्रह प्रधानमन्त्री प्रचण्डले अस्वीकार गरेका थिए। त्यसपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह कार्यक्रमको प्रमुख अतिथि बनेका थिए।

शुक्रवार भरतपुर महानगरपालिकाले घोषणा गरेको भरतपुर भ्रमण वर्षमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड बिहीबारदेखि नै चितवन गएर बसे।

उनी मात्रै हैन, कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा विभिन्न दलको नेतृत्वमा रहेका नेताहरू समेत सहभागी भएका थिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, एमाले नेता कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्मकट्टेल लगायतकाहरु मञ्चमै थिए।

एमाले अध्यक्ष केपी शर्मा ओली समेत कार्यक्रममा सहभागी हुने बताइएको थियो। तर कार्यक्रमको उद्घाटनमा उनी पुगेनन्। पछि कार्यक्रममा सहभागी भए। उद्घाटन कार्यक्रममा एमाले नेता विष्णु पौडेल लगायतकाहरु, प्रहरी महानिरीक्षक वसन्त कुँवर लगायतकाहरु समेत सहभागी थिए।

पूर्व प्रधानमन्त्रीहरू देउवा, नेपाल र खनाल वर्तमान प्रधानमन्त्री प्रचण्डसँगै सद्भाव र्यालीको ब्यानर बोकेर हिँडेका थिए।

५० हजारको उपस्थितिमा कार्यक्रम उद्घाटन गर्ने घोषणा पुरा गर्न महानगरले आफ्नो क्षेत्रमा रहेका सामुदायिक विद्यालय बन्द गराएर विद्यार्थीहरुलाई कार्यक्रममा अनिवार्य सहभागी गराएको थियो।

भरतपुरमा आन्तरिक पर्यटक बढाउन महानगरले गरेको कार्यक्रमको तामझाम भने पर्यटक देखाउने भन्दा पनि भरतपुर महानगरकी मेयर रेनु दाहालको शक्ति प्रदर्शन गर्ने जस्तै देखिएको थियो।

१८ फागुन, २०८०, १६:२९:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।