‘बम गुरु’ दाबी गर्दै भारतीय सुरक्षाकर्मीले नेपालहुँदै भारत पूर्याइएका अब्दुल करिम टुण्डा निर्दोष ठहर

‘बम गुरु’ दाबी गर्दै भारतीय सुरक्षाकर्मीले नेपालहुँदै भारत पूर्याइएका अब्दुल करिम टुण्डा निर्दोष ठहर
बिहीबार अदालतमा उपस्थित गराइएका टुण्डा। तस्बिर साभार : द हिन्दू।

काठमाडौँ : नेपालको बाटोहुँदै गोप्य रूपमा भारत पुर्याइएका अब्दुल करिम टुण्डाले आतङ्कवादी घटनामा संलग्न रहेको आरोपबाट सफाइ पाएका छन्।  युएइमा उपचाररत रहेको बेलामा १० वर्ष अगाडि उनलाई भारतीय सुरक्षा एजेन्सीका अधिकारीहरूले हवाई मार्गबाट नेपाल ल्याएर भारत पूर्याएका थिए।

सन् २०१३ मा नेपालहुँदै भारत पूर्याइएका उनी नेपाल-भारत सीमाबाट पक्राउ परेको भारतीय सुरक्षा अधिकारीहरूले दाबी गरेका थिए। नेपालबाट भारत पूर्याएर सन् १९९३ मा भारतको पाँच सहरमा भएका शृङ्खलाबद्ध बम विस्फोटमा संलग्न रहेको आरोपमा उनलाई कारागारमा राखेको थियो।

बिहीबार अजमेरको टाडा अदालतले उनलाई आरोपहरूबाट सफाइ दिएको हिन्दु प्रकाशित समाचारमा उल्लेख छ। टुण्डा घरेलु प्रविधि प्रयोग गरेर विस्फोटक पदार्थ बनाउन माहिर रहेका र सन् १९९३ मा बाबरी मस्जिद ध्वस्त भएको पहिलो वर्षगाँठमा मुम्बई, हैदरावाद, कानपुर, लखनउ र सुरतमा रेलमा भएका शृङ्खलाबद्ध बम विस्फोटको मास्टरमाइन्ड भएको दाबी गरिँदै आएको थियो।

भारतको सीबीआईले टुन्डाविरुद्ध टाडा ऐन, आइपिसी, रेलवे ऐन, हतियार ऐन, विस्फोटक ऐनसम्बन्धी लगायतका अभियोग लगाएकोमा उनले सबै आरोपबाट सफाइ पाएका छन्। टुन्डा अजमेरको कारागारमा बन्द थिए। बिहीबार उनलाई कडा सुरक्षाबीच अदालतमा ल्याइएको थियो। उनी ८१ वर्षका भए। कोर्टमा उनी ह्विलचियरमा आएका थिए।

नेपालको स्थलमार्गहुँदै भारत पूर्याएर दिल्लीमा टुण्डालाई सार्वजनिक गर्दै भारतीय सुरक्षाकर्मी।उत्तर प्रदेश हापुडका टुण्डा पिलखुवामा सिकर्मीको काम गर्थे। उनले एउटा हात गुमाएपछि अब्दुल करिमसँगै ‘टुण्डा’ उपनाम जोडियो।

कुनै समाचारमा उनले सिकर्मी काम गर्दा हात काटिएको दाबी गरिएको भेटिन्छ त केहीमा बम बनाउने क्रममा पड्किएर उनले हात गुमाएको दाबी भेटिन्छ। भारतीय मिडियामा उनले पाकिस्तानमा इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) बनाउने तालिम लिएको दाबीहरु छन्। 

अदालतले सोही घटनामा हमेदुद्दीन र इरफानलाई दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको छ।

१७ फागुन, २०८०, १८:५८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।