दल र जनप्रतिनिधिका कारण स्वास्थ्य बिमा कार्यक्रम भष्ट्राचारको माध्यम बन्यो : सभामुख
![दल र जनप्रतिनिधिका कारण स्वास्थ्य बिमा कार्यक्रम भष्ट्राचारको माध्यम बन्यो : सभामुख](https://ukeraa.prixacdn.net/media/albums/devraj_ghimire_sgVUy8tee8.jpg )
काठमाडौँ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफै भ्रष्टाचारको माध्यम बनिरहेको टिप्पणी गरेका छन्। उनले राजनीतिक दल र जनप्रतिनिधिहरूको चेतनाको अभावका कारण सो कार्यक्रम भ्रष्टाचारको माध्यम बन्न गएको बताएका हुन्।
राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले शनिबार संसद भवनमा आयोजना गरेको नेपालमा क्यान्सर रोगको अवस्था र जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रियामा बोल्दै सभामुख घिमिरेले राजनीतिक दल र जनप्रतिनिधिहरूले मसिनोसँग ख्याल गर्ने हो भने त्यस्ता कार्यक्रमहरूमा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिने बताए।
'...यो नै एउटा भ्रष्टाचारको माध्यम बनिरहेको छ। स्वास्थ्य बिमालाई ठिक ढंगले प्रयोग गर्ने बारेमा जनप्रतिनिधि र राजनीतिक संघसंस्थाहरूकै चेतना छैन,' उनले भने, 'सरकारले यो कसरी लागु गरिरहेको छ र योभित्र भ्रष्टाचार कसरी हुनसक्छ भन्ने कुराकै जानकारी छैन।'
जनतामा चेतनाको अभावमा त्यस्ता घातक रोगहरू लाग्ने र त्यसलाई लाग्नै नदिने गरी जनप्रतिनिधिहरूले चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सभामुख घिमिरेले जोड दिए।
उनले क्यान्सर रोगको निदानका लागि आवश्यक ऐन, कानून बनाउने कुरामा आफूले सक्दो सहयोग गर्ने आश्वासनसमेत दिए।
फागुन १२, २०८० शनिबार १७:१०:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।