महिलाका गोप्य भिडियो परिवारका सदस्यलाई पठाइदिएपछि...

महिलाका गोप्य भिडियो परिवारका सदस्यलाई पठाइदिएपछि...

काठमाडौं : सम्बन्धमा हुँदा साटासाट भएका गोप्य फोटो र भिडियोहरू महिलाका आफन्त र परिवारलाई पठाइदिएपछि एक व्यक्ति पक्राउ परेका छन्।

प्रहरीले ती महिलाको चरित्र हत्या गरेको भन्दै काठमाडौंका एक व्यक्तिलाई पक्राउ गरेको हो।

पीडित महिलाको उजुरीका आधारमा प्रहरीले नुवाकोटको शिवपुरी घर भई हाल काठमाडौंको टोखा नगरपालिका-११, बानियाँटार बस्ने २७ वर्षीय किरण थापालाई पक्राउ गरेको हो।

उनीविरुद्ध गत पुस ८ गते महिलाले जाहेरी दिएकी थिइन्। तत्काल प्रहरीले थापालाई सम्पर्क गर्न खोजे पनि उनी फरार थिए।

खोजतलास गर्ने क्रममा थापालाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको साइबर ब्यूरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले जानकारी दिए। उनका अनुसार ती महिला र थापा सामाजिक सञ्जाल फेसबुकमार्फत् जोडिएर प्रेम सम्बन्धमा थिए।

त्यही क्रममा उनीहरुबीच मेसेन्जरमार्फत् गोप्य फोटो र भिडियोसमेत एकआपसमा साँटासाट भएको थियो। तर पछि सम्बन्ध बिग्रिएपछि थापाले प्रेमिकाको फोटो र भिडियो उनको परिवारका सदस्य र आफन्तहरुलाई पठाएर चरित्र हत्या गरेका थिए।

त्यसपछि ती महिलाले थापाविरुद्ध साइबर ब्यूरोमा जाहेरी दिएकी थिइन्। पक्राउ परेका थापालाई बिहीबारै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ।

११ फागुन, २०८०, ०८:१५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।