महानगर प्रहरीले शान्तिवाटिकाबाट लखेटेपछि फुटपाथमै बस्न बाध्य​​​​​​​ भए प्रदर्शनकारी

महानगर प्रहरीले शान्तिवाटिकाबाट लखेटेपछि फुटपाथमै बस्न बाध्य​​​​​​​ भए प्रदर्शनकारी

काठमाडौं : काठमाडौंको शान्तिवाटिकामा बस्दै आएका प्रदर्शनकारीलाई मंगलबार महानगर प्रहरीले हटाएपछि उनीहरूको बिचल्ली भएको छ।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोलीले शान्तिवाटिकामा रहेका झन्डै ५० जना प्रदर्शनकारीलाई हटाएपछि अहिले उनीहरू रत्नपार्कको फुटपाथमा बस्न बाध्य छन्।

महानगरले सम्पदा क्षेत्रमा बस्न नपाइने भन्दै त्यहाँ बाट हटाएपछि उनीहरू सडकपेटीमै बस्न थालेका हुन्।

शान्तिवाटिकामा मिटरब्याजी पीडितहरू, आरती साहका परिवार, बलात्कार आरोपी न्यायाधीश भुवन गिरीकी पीडित श्रीमती लगायतहरु बस्दै आएका थिए।

आरती साहका भाइ प्रेम साहले महानगर प्रहरी अग्रिम सूचना र समय नदिइकन लछार-पछार गरेको बताए। सार्वजनिक ठाउँमा आफूहरू बसेको हुँदा नहट्ने र हट्न परे आधिकारिक कागज देखाउन भन्दा पाण्डेले माथिको आदेश भन्दै जबर्जस्ती निकालेको उनले बताए।

अहिले उनीहरूले फुटपाथमै पानी र शौचालयको व्यवस्था मिलाएका छन्।

काठमाडौं जिल्ला प्रशासन कार्यालय माइतीघर मण्डलसहित केही स्थानमा प्रदर्शन गर्न निषेध गरेको छ। प्रशासनले निषेध गरेपछि उनीहरू शान्तिवाटिकामा पुगेका थिए।

२४ माघ, २०८०, १९:३५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।