‘मन्त्रिपरिषदमा एकजना पनि दलित मन्त्री नहुनु लोकतान्त्रिक भनेर आफैंलाई ढाँट्नु हो’

‘मन्त्रिपरिषदमा एकजना पनि दलित मन्त्री नहुनु लोकतान्त्रिक भनेर आफैंलाई ढाँट्नु हो’

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपालमा हालसम्म लोकतान्त्रिक अभ्यास हुन नसकेको बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै प्रमुख सचेतक परियारले अझै पनि महिला तथा दलितहरूको सहभागिताको सवालमा राज्य लोकतान्त्रिक हुन नसकेको बताए।

उनले संसद्मा दलित समुदायका सांसदहरूको प्रतिनिधित्व भए पनि मन्त्रिपरिषद्मा एकजना पनि फूल मन्त्री दलित समुदायको नहुनुले देशको लोकतान्त्रिक अभ्यासलाई छर्लङ्ग पार्ने बताए।

देशमा संघीयता पनि अभ्यासमा आउन नसकेको भन्दै उनले गणतन्त्र पनि राजतन्त्र भन्दा धेरै फरक नदेखिएको बताए।

उनले भने, ‘हाम्रो अभ्यासमा संघीयता छैन। हाम्रो राजनीतिको अभ्यासमा संघीयता छैन। संविधानमा संघीय शासन प्रणालीको परिकल्पना गर्यौँ तर त्यो हाम्रो जीवनमा अवलम्बन गर्न सकेका छैनौँ। लोकतान्त्रिक अभ्यासको कुरा गर्ने हो भने आज सदनमा सबै राजनीतिक पार्टीबाट दलित समुदायको प्रतिनिधित्व छ। तर मन्त्रिपरिषदमा एकजना दलित फुल मन्त्री हुँदैन। यो हुँदा खेरी हामी लोकतान्त्रिक छौँ भन्नु भनेको आफैँले आफैँलाई ढाँट्नु हुन्छ। त्यस अर्थ हामी लोकतान्त्रिक पनि छैनौँ। गणतन्त्र काम गराइको हिसाबमा हेर्दा खेरी हामी भन्नलाई चाहिँ गणतन्त्र भन्यौँ तर परम्परा र अभ्यासले पनि ज-जसले गणतन्त्र भनिरहेका छन्, त्यो राजतन्त्रभन्दा धेरै पर छ जस्तो मलाई लाग्दैन। जुन किसिमको सम्मान त्यसले खोज्छ, जुन किसिमको शक्ति त्यसले खोज्छ, अभ्यास गरिरहेको छ त्यो त्यति पर छैन।’

राजनीतिक दलहरूका कारण संसद्को सार्वभौमिकता नरहेको उनको भनाइ छ।

२३ माघ, २०८०, २१:३८:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।