बालेनलाई मन्त्री गुरुङको जवाफ- ‘धरहराको काम सकिएको छैन, पार्किङ नरोके राम्रो हुँदैन’

बालेनलाई मन्त्री गुरुङको जवाफ- ‘धरहराको काम सकिएको छैन, पार्किङ नरोके राम्रो हुँदैन’

काठमाडौं : सहरी विकास मन्त्री सीता गुरुङले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई धरहराको भूमिगत पार्किङ नरोके परिणाम राम्रो नहुने चेतावनी दिएकी छन्।

प्रतिनिधिसभाको बैठकपछि सोमबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री गुरुङले बालेनले निर्माणाधीन धरहराको भूमिगत पार्किङका सन्दर्भमा कसैसँग पनि समन्वय र छलफल नै नगरेको बताइन्।

उनले भनिन्, ‘एक महिना पर्खेको भए राम्रो हुन्थ्यो, समन्वय र सम्पर्क नगर्ने। यसमा सरकार जिम्मेवार हुन सक्दैन। अहिलेसम्म प्राथमिकतामा उहाँहरूले राख्नुभएको छैन। उहाँहरू यसरी गए राम्रो हुँदैन।’

महानगरपालिकाले निर्माण अवरुद्ध हुनेगरी गरेको निर्णय तत्काल रोक्नुपर्ने उनको भनाइ छ। मन्त्री गुरुङले २५० चार पाङ्ग्रे र ६०० दुई पाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिने भए पनि निर्माण सम्पन्न नभएकाले तीन तलाको बेसमेन्टमुनि अक्सिजनको अभाव, बत्ती र आगो निभाउने यन्त्र (फायर एक्सटिंग्विसर) जडानलगायतका काम बाँकी रहेको बताइन्।

उनले धरहराको निर्माण नसकिँदै पार्किङका लागि प्रयोग गरिएको बताइन्।

‘निर्माण नसकिँदै हुँदैन। निर्माण सम्पन्न गर्ने मुख्य कुरा हो। अनि मात्र कुन तहको सरकारले सञ्चालन गर्ने भन्ने हुन्छ। खल्तीको व्यक्तिलाई पार्किङ दिने हैन,’ उनले भनिन्।

मन्त्री गुरुङले निर्माण नै सम्पन्न नभएकाले महानगरले मान्ने/नमान्ने प्रश्न नै नभएको पनि बताइन्।

‘महानगरले मान्ने नमान्ने हुन्न। निर्माण सम्पन्न भएको छैन, बिल भुक्तानी कसले गर्ने? हामीले पनि जनताका लागि गरेको हो। लामो समय लागेको सत्य हो। तर, निर्माण सम्पन्न हुन दिनुपर्छ। समन्वय आवश्यक छ। निर्माण सम्पन्न हुनुपर्छ’, उनले भनिन्।

मन्त्री गुरुङले भनिन्, ‘धरहरा सम्झौताअनुसार पहिला नै निर्माण सम्पन्न हुनुपर्ने हो। कोभिडको कारण काम गर्न सकिएको थिएन। डिजाइनहरूसमेत करेक्सन गरेर अगाडि बढाउँदा ढिला भएको छ। अहिले निर्माण अघि बढिरहेको छ। हामीले फागुन महिनाभित्र सम्पन्न गराउने भनेर निर्माण व्यवसायी, आयोजना प्रमुख सँग छलफल गरेका छौं। तीन महिनामा सम्पन्न गर्ने भनेर एक महिना अघि नै छलफल भएको थियो। त्यही अनुसार काम भइरहेको थियो। काम गर्दा समस्या भएको छ।’

महानगरपालिकाले आयोजना र निर्माण व्यवसायीहरूलाई पनि जानकारी नदिइ पार्किङको व्यवस्था गरिएको उनले बताइन्।

२२ माघ, २०८०, २०:४८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।