रास्वपाको दबाब अभियानमा पार्टीको झण्डा र चुनाव चिन्हको प्रयोग नहुने

रास्वपाको दबाब अभियानमा पार्टीको झण्डा र चुनाव चिन्हको प्रयोग नहुने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गर्न लागेको ‘राष्ट्रव्यापी दबाब अभियान’मा पार्टीको झण्डा र चुनाव चिन्हको प्रयोग नगर्ने भएको छ।

विकासको मुद्दा कुनै दल विशेषको नभइ देश र जनताको हुने भएको भन्दै रास्वपाले आइतबारदेखि २१ चैतसम्म गर्न लागेको पहिलो चरणको अभियानका क्रममा पार्टीको झण्डा र चुनाव चिह्न प्रयोग नगर्ने निर्णय गरेको हो।

यसअघि नै २१ माघदेखि अभियान सुरू गर्ने तय गरे पनि रास्वपाले अवधिको टुंगो लगाइसकेको थिएन।

रुग्न र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउन तय गरिएको दबाब अभियान सिन्धुपाल्चोकको मेलम्चीबाट रास्वपाका सभापति रवि लामिछानेले सुरू गर्दैछन्।

मेलम्ची आयोजनाका लागि सिन्धुपाल्चोक-काठमाडौं दबाब यात्राको अगुवाइ सांसद सोविता गौतमले गर्ने छिन् भने सभापति लामिछानेले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्नेछन्।

दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्नेछन्।

अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन/तीन वटा योजना छनोट गरी २१ योजनामा दबाब दिइने रास्वपाले जनाएको छ।

२० माघ, २०८०, १५:३३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।