नेपाली चिकित्सकबाटै पहिलोपटक कलेजो प्रत्यारोपण, प्रधानमन्त्री प्रचण्डको बधाई

नेपाली चिकित्सकबाटै पहिलोपटक कलेजो प्रत्यारोपण, प्रधानमन्त्री प्रचण्डको बधाई

काठमाडौं : नेपालमा पहिलोपटक नेपाली चिकित्सकको टोली मात्रै रहेर कलेजोको सफल प्रत्यारोपण गरिएको छ।

त्रिवि शिक्षण अस्पताल टिचिङका कलेजो प्रत्यारोपण सर्जन डा.रमेशसिंह भण्डारीको नेतृत्वमा रहेको टोलीले सफल प्रत्यारोपण गरेको हो।

डा. भण्डारीका अनुसार गत पुस २७ मा नुवाकोटका ४१ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरेको थियो। उनलाई ४० वर्षीय श्रीमतीले कलेजो दिएकी थिइन्।

कलेजो प्रत्यारोपण गरिएका पुरुषको स्वास्थ्य अवस्था राम्रो रहेको र आज डिस्चार्ज हुने डा. भण्डारीले जानकारी दिए। दाता श्रीमतीको भने १० दिन अगाडि नै डिस्चार्ज भइसकेको छ।

यसअघि विदेशबाट आएका चिकित्सकहरूको सहयोगमा मात्रै कलेजो प्रत्यारोपण हुँदै आएको थियो। ८ वर्ष अगाडि नेपालमै कलेजो प्रत्यारोपण सुरू भए पनि प्रत्यारोपणको लागि विदेशी डाक्टर आउनुपर्ने बाध्यता थियो।

यसैबीच कलेजो प्रत्यारोपण गर्ने स्वास्थ्यकर्मीको टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'मलाई गर्व र खुशी छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीबाट कलेजो प्रत्यारोपणको काम सम्पन्न भएको छ। उक्त प्रत्यारोपणमा सहभागी विशेषज्ञ प्रा. डा. रमेशसिंह भण्डारीसहितको शल्य चिकित्सक, एनेस्थेसिया, नर्सिङ टिम लगायत सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।'

१८ माघ, २०८०, १३:१९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।