न्युरोडमा निषेध भएपछि धरहरामा आजदेखि नि:शुल्क पार्किङ

न्युरोडमा निषेध भएपछि धरहरामा आजदेखि नि:शुल्क पार्किङ

काठमाडौं : काठमाडौंको धरहरासँगै निर्मित पार्किङ भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ।

न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरिएपछि धरहरामा यो सेवा दिन लागिएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ।

‘यसअघि काठमाडौं टावर (साबिक पुरानो बसपार्क)मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराइसकिएको छ। सरोकारवालासँगको समन्वयमा धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेका हौँ,’ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले भने।

सो भवनमा ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका निम्ति उपलब्ध हुनेछ।

सहिद गेटबाट नयाँ सडकतर्फ जाँदा बायाँपट्टि काठमाडौं मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिने छ।

संरचनागत रूपमा यो ठाउँ नेपालकै ठूलो पार्किङ भएको महानगरको दाबी छ।

१४ माघ, २०८०, ०७:४९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।