भिजिट भिसामा भ्रमण खुकुलो बनाइयो, स्व घोषणा गरेर खाडीका ६ देश जान सकिने

भिजिट भिसामा भ्रमण खुकुलो बनाइयो, स्व घोषणा गरेर खाडीका ६ देश जान सकिने

काठमाडौँ : नेपाली वैदेशिक रोजगारीमा जाने ६ देशमा भिजिट भिसामा जान स्वघोषणा गर्नुपर्ने प्रावधानसहित गृह मन्त्रालयले नयाँ कार्यविधि जारी गरेको छ।

भिजिट भिसामा विदेश जान सरकारले कडाइ गरेपछि सङ्गठित गिरोहले त्यसैको बहानामा रकम असुल्ने गरेको पुष्टि भएपछि सरकारले केही खुकुलो प्रावधानसहित कार्यविधि ल्याएको हो। भिजिट भिसामा विदेश पठाएर वर्किङ भिसामा बदलिदिने भन्दै खाडी मुलुकमा नेपालीहरु पठाएर अलपत्र हुनेक्रम बढेपछि सरकारले कडाइ गरेको थियो।

मन्त्रालयले मङ्गलवार जारी गरेको कार्यविधि अनुसार संयुक्त अरब इमिरेटस्, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा स्वः घोषणा गर्नुपर्नेछ।

स्वः घोषणामा संलग्न विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमा रहने र स्वघोषणाको ढाँचा विभागले निर्धारण गरेबमोजिम हुनेछ उल्लेख छ।

कार्यविधि अनुसार ६ महिनाको वैध अवधि भए‌को राहदानी, गन्तव्य देशको प्रवेषाज्ञा वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेषाज्ञा नचाहिने उल्लेख छ।

दुईतर्फी हवाई टिकट, भ्रमण अवधिभर होटेल बुकिङ गरेको प्रमाण वा होटेल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।

भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा पाँच सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेबिट/क्रेडिट कार्ड) भएमा भिजिट भिसामा जान सकिने कार्यविधिमा उल्लेख छ।

९ माघ, २०८०, २३:२०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।