चौथो अंग : पत्रकारितामा भविष्य छैन भनेर सिनियर पत्रकारले निरुत्साहित गराउँदा नयाँ पुस्ता डराए
महिला आयोगकी अध्यक्ष कमला पराजुली पहिले एक गैरसरकारी संस्थामा काम गर्थिन्। उनको संस्थाले आर्थिक वर्ष २०७०-०७१ देखि जोरपाटीबाट साँखु जाने बाटो ‘संकल्प जेष्ठ नागरिक ग्राम’ बनाउने भन्दै महिला मन्त्रालय मार्फत भवन बनाऊ बजेट लगेको देखियो।
वैशाख २०७९ मा हामी स्थलगतमा गयौँ। तोकिएको समयमा भवन बन्नु त परको कुरा ६ करोड रुपैंया खर्चेर बनाइएको संरचना ध्वस्त नै थियो। भवन पूरा बनेकै थिएन। महिला मन्त्रालयले न त यसको निरीक्षण गर्यो न कमला पराजुलीले जिम्मेवारी पुरा गरिन्।
यसबारे २०७९ जेठमा कान्तिपुर दैनिकमा समाचार छापियो पनि। यो समाचार छापिनु भन्दा पहिले नै सरकारले उनलाई महिला आयोग जस्तो संवैधानिक निकायमा नियुत्ती दिइसकेको थियो।
राज्य कोषको दुरुपयोग गर्ने व्यक्तिलाई महिला आयोग जस्तो जिम्मेवार निकायमा पठाउनै हुन्थेन। छानबिन त परको कुरा उल्टो ठुलो पदमा लगेर राख्ने प्रवृत्ति यही घटनाबाट पुष्टि भयो।
यसबारे निरन्तर लेखेपछि उहाँले अप्रत्यक्ष रुपमा समाचार नलेख्न भन्नुभयो। सम्पादकीय टिमले प्रमाण भएसम्म निरन्तर समाचार लेख्न प्रेरित गरिरह्यो, मैले समाचार लेखेँ।
महिला आयोगका केही पदाधिकारीहरूले त महिलाले महिलालाई काम गर्न नदिएको जस्तो क्लिसे तर्क पनि गरे। महिला होस् या जोसुकै, जिम्मेवार निकायमा पुगेपछि काम गर्ने हो। लैङ्गिक आधारमा ‘एक्सक्युज’ खोज्ने होइन। राम्रो काम गर्दागर्दै पनि अन्य संयन्त्रबाट असहयोग भएको छ भने लेख्ने अलग्गै कुरा। भ्रष्टाचार गर्ने अनि ‘एक्सक्युज’ खोजेर हुन्छ?
मैले महिला तथा बालबालिका विषयमा रिपोर्टिङको जिम्मा पाएको थिएँ। यसमा गतिलो काम गर्न आयोगका प्रतिवेदन र औपचारिक कार्यक्रमको मात्र समाचार लेखेर हुँदैन भन्ने लाग्यो। त्यसमाथि महिलाका समाचार भन्ने बित्तिकै आँसु बिकाउने र इश्यु डाइभर्ट गर्ने प्रवृत्ति पनि छ हाम्रा मिडियामा।
यसलाई चिर्न सक्नुपर्छ भन्ने लाग्छ। महिलाका नाममा भएका भ्रष्टाचार, ज्येष्ठ नागरिकका नाममा भएका भ्रष्टाचार अनि बालबालिकाका नाममा भएका बदमासीहरू खोज्नुपर्छ।
मिडिया हाउसले महिला बिट छुट्याइदियो, महिला भएर सफ्ट बिट दियो भनेर रोइलो गर्नुभन्दा नीतिगत तहमा के समस्या छ भनेर रिर्पोटिङको दायरालाई फराकिलो बनाउने हो भने यसैमा पनि गतिलो रिपोर्टिङ गर्न सकिन्छ।
एकै बिटमा मात्रै केन्द्रित हुनु हुँदैन
विद्यालय पढ्दा नै भित्ते पत्रिकामा लेखिन्थ्यो। औपचारिक रूपमा भोजपुरबाट २०७२ साल देखि पत्रकारिता गरेको हुँ। लेख्न अलि-अलि जानेको अनि पढ्न खर्च पनि चाहिने भएकाले केही काम गर्न पाएँ हुन्थ्यो भन्ने लागिरहेको थियो। झापाबाट प्रसारण हुने हिमशिखर टेलिभिजनमा काम सुरु गरेँ।
हिमशिखरमा काम गरेपछि न्युज २४ मा पनि काम गर्न थालेँ। न्युज २४ मा काम गर्दा समाचारको प्रभाव बारे बुझ्न पाएँ। एक पटक भोजपुर सदरमुकाम भोजपुरबाट दक्षिण ४८ किलोमिटर कच्ची बाटो थियो। त्यहाँका यातायात व्यवसायीले धेरै भाडा उठाएको समाचार पठाएँ। प्रसारण भयो पनि।
यो समाचारका आधारमा तत्कालीन प्रमुख जिल्ला अधिकारीले ‘एक्सन’ लिए। यतिसम्म भयो की यातायात व्यवसायीले मेरो परिवारलाई गाडी चढ्नै नदिने समेत भने। भर्खर पत्रकारिता गर्दै गरेको थिएँ। यसबाट तथ्यगत कुरा लेख्दा प्रभाव पर्ने रहेछ भन्ने बुझेँ। यसले मलाई पत्रकारितामा अझ लाग्न प्रेरणा दियो।
न्युज२४ पछि नागरिक दैनिकमा केही समय र त्यसपछि कान्तिपुर दैनिकमा जिल्ला रिपोर्टर भएर काम गरेँ। भर्खरै स्नातक पढ्दै थिएँ। त्यहाँका सिनियर पत्रकारले कान्तिपुरले यस्तो सानी फुच्चीलाई के रिपोर्टर बनाएको होला भन्थे। मलाई भने उहाँहरूका अघि जसरी पनि समाचार लेख्नुपर्छ भन्ने लाग्थ्यो। टेलिभिजनमा काम गर्दा थोरै लेखे पुग्थ्यो। कान्तिपुर आएपछि थाहा भयो समाचार त धेरै लेख्न सकिने रहेछ। भिडियो बनाएर कान्तिपुर अनलाइनको लागि पठाउने, निरन्तर समाचार लेख्ने गरिरहेँ।
यसैबीच सञ्चारिका समूहले खोज पत्रकारिताको तालिम दिने भयो। तालिम दिनु भएको थियो शिव गाउँलेले। उहाँ खोज पत्रकारिता केन्द्रको सम्पादक समेत हुनुहुन्थ्यो। त्यतिबेला मैले जीवनमा एउटा स्टोरी चाहिँ खोज पत्रकारिताको लागि गर्छु भन्ने सोचेको थिएँ। तालिम लिएर आएपछि एक बिहान लागेर स्टोरी प्रपोजल पठाएँ। ‘स्कुल छाडेर जाँडको व्यापार’ भन्ने शीर्षकमा खोज पत्रकारिता गर्ने भइयो।
विद्यालय नै नगएर घरेलु जाँड रक्सी बेच्नुपर्ने वाध्यता थियो त्यतिबेला। यो मैले देखिरहेको र भोगिरहेकै विषय पनि थियो। यसले बच्चाको मनोविज्ञानमा पार्ने प्रभाव र कुलतमा फस्ने सम्भावनाबारे स्थलगत रिपोर्टिङ गरेँ।
६ महिना लगाएर गरेको रिर्पोटिङको उचित पारिश्रमिक आयो पनि। अनि मलाई लाग्यो पत्रकारिता गरेपछि जीविका पनि चलाउन सकिने रहेछ।
भोजपुरमा धेरै समय बसिन म। २०७४ देखि काठमाडौँमै आएँ। महानगरको रिपोर्टिङबाट सुरु गरेँ यता। २० वर्षपछि आएको स्थानीय तहले खटेर काम गर्ने भन्दा पनि भत्ता, विविध खर्चमा धेरै बजेट खर्च गर्न थालेका थिए। यसको खोजबिनगरी समाचार लेखियो। पछि काठमाडौँ महानगरपालिकाले कफी हैन चिया भनेको थियो। अर्थात् मितव्ययिता गर्ने उल्लेख गरेको थियो।
यसले जुन विषयको रिपोर्टिङ गरे पनि भित्रैसम्म पुग्न सक्यो भने प्रभाव पर्छ है भन्ने लाग्यो। कति भित्रसम्म पुग्न सकिएको छ वा छैन त्यसको मूल्याङ्कन त होला नै तर सकेसम्म पाएको सूचनालाई जरैसम्म पुगेर सार्वजनिक गर्नु पत्रकारको दायित्व हो।
पछि मेरो बिट महिला तथा बालबालिका भयो। महिला तथा बालबालिका धेरैले छाडिने बिट रहेछ। तर जब यो विषयको भित्रसम्म गएँ यस भित्र अनियमितता त कति हो कति पो देख्न थालेँ ।
महिलाका समाचार भन्ने बित्तिकै आँसु बिकाउने समाचार भन्दा फरक हुनुपर्छ भन्ने मलाई सधैं लाग्छ। अहिले पनि महिलाका आँसु पढ्न रुचाउलान्, समाचार खोजी होलान्, तर हामीले रिपोर्टिङ गर्दा रोइलो भन्दा विषयमै केन्द्रित भए राम्रो। रोइलो मात्र लेख्दा विषय विषयान्तर मात्र हुन्छन्।
अनि अर्को कुरा, बिट पत्रकारिताले काम गर्न सहज त हुन्छ तर एकै बिटमा रुमल्लिएर बस्न भने हुँदैन। आफूले पाएको बिटभन्दा पनि बढी काम गर्छु है भनेर पहिले नै नेतृत्वलाई भनेको राम्रो। एउटै बिटमा भुल्दा ज्ञानको दायरा साँघुरो हुनसक्छ। ज्ञानको दायरा त जति फराकिलो बनायो पत्रकारलाई त्यति फाइदा हो नि!
पत्रकार जहाँ गए पनि पत्रकार
एउटा रमाइलो घटना सुनाउन मन लाग्यो। रिर्पोटिङको लागि बझाङ पुगेकी थिएँ। बझाङ गइसकेपछि पर्यटन र धार्मिक रूपमा महत्त्वपूर्ण रहेका स्थान खप्तड पनि जाने कुरा भयो। त्यहीँका केही पत्रकार साथीहरूसँग खप्तडतिर लागियो।
खप्तड त गइयो, गोरेटो पनि राम्रोसँग नबनेको, पर्यटकको लागि कुनै सूचना समेत थिएन बाटोमा। यो किन भयो भनेर जिज्ञासा लाग्यो।
काठमाडौँ फर्किएपछि पर्यटन बोर्डमा सूचना माग्ने र बझाङका सहकर्मी बसन्तप्रताप सिंहले स्थलगत थप केही भयो भने रिपोर्टिङ गर्ने कुरा भयो। प्राप्त सूचना छक्कै पार्नेखाले थियो।
त्यो बाटो बनाउन १२ वर्षमा ५२ करोड रूपैयाँ खर्च भइसकेको रहेछ। होमस्टे १० वर्षदेखि बनिरहेको तर हामी पुग्दा बाख्राको खोर जस्तो थियो।
खप्तडको बजेटमा अछाममा बाटो बनेको रहेछ। कागजमा संरचना बने तर भौतिक रूपमा भने बनेनन्। यसमा स्थानीय तहदेखि मन्त्रीसम्मको मिलीभगत देखियो।
यो रिर्पोटिङले के सिकायो भने,घुम्न जाँदा पनि रिपोर्टिङ हुने रहेछ। अनि जिल्लामा रहनुभएका पत्रकारसँग कसरी समन्वय गरेर रिपोर्टिङ गर्न सकिने रहेछ भन्ने पनि ज्ञान भयो। पत्रकार त जहाँ जाँदा पनि अनि जहिले पनि पत्रकार नै हुने रहेछ।
यहीँनेर बिटको कुरा अलिकति जोड्छु। खप्तडमा भएको लगानी पर्यटनमा भएको लगानी थियो। म महिला तथा बालबालिका बिटमा काम गर्ने। घुम्न गएको बेला त्यो देखेको न हो। पर्यटन विषय मेरो हैन भनेर वास्तै नगरेको भए पनि हुन्थ्यो। चासो लाग्यो। काठमाडौँ फर्किएपछि सूचना मागेँ। राम्रो रिपोर्टिङ पनि भयो। बिटले त रोकेन लेख्न।
प्राविधिक रूपमा बिट छुट्याए पनि रिपोर्टिङ त जुनसुकैको गर्दा पनि भइहाल्छ। राम्रो विषय आयो भने न्युज टिमले तिम्रो बिट हैन भन्दैन नि।
घुम्न जाँदा रिपोर्टिङ गर्दाको अर्को अनुभव पनि छ। यही २०८० मा बाजुराको बडिमालिका गइयो। भारतका र नेपालका तीर्थालु त्यहाँ जान्छन्। सरकारले ३८ करोड बजेट खर्च पनि गरेको छ तर शौचालय समेत छैन। खप्तडकै शैलीले रिपोर्टिङ गरियो। राम्रो प्रतिक्रिया आएको थियो।
समय अनुसार ‘अपडेट’ हुनै पर्छ
पत्रकारिता दिनहुँ फेरिँदै छ। हिजो पत्रिकामा काम गर्नेले भिडियो जान्नु पर्दैनथ्यो। भिडियोमा गर्नेले थोरै लेखे पुग्थ्यो। अहिले त समय बदलियो। एक पत्रकार ‘वान मेन आर्मी’ समान भइसक्यो।
अहिले छापामा काम गरे पनि भिडियो खिच्ने, प्रस्तुति दिने, फोटो खिच्ने, फिचर लेख्ने, तथ्याङ्क भिज्योलाइजेशन गर्ने अनि भाषागत रूपमा पनि रोचक र सहज प्रस्तुति दिन सकिएन भने पछि परिन्छ।
समाचारलाई जति ‘इन्टर्याक्टीभ’ बनायो त्यति प्रभावकारी हुन्छ। त्यसैले अहिले पत्रिकामा काम गरेकाले भिडियो किन खिच्नुपर्यो भन्ने अवस्था छैन। प्रतिस्पर्धी हुने हो भने सबै सीप सिक्नै पर्ने अवस्था छ।
कतिपयलाई लाग्न सक्छ पत्रकारको काम लेख्ने हो अथवा प्रसारण गर्ने हो, समाचार बिकाउने काम होइन। मलाई त्यस्तो लाग्दैन। हामीले सार्वजनिक सरोकारका मुद्दा उठाइरहेका हुन्छौँ। पाठक/ दर्शक/ श्रोता जुन माध्यममा इन्गेज हुन्छन्, उनीहरूलाई जसरी सहज हुन्छ त्यसरी स्टोरी प्रस्तुति दिनु हाम्रो कर्तव्य हो।
पाठकले आफ्नो रुचि अनुसारको विषयमा रिपोर्टिङ गर्ने रिपोर्टरलाई सामाजिक सञ्जालमा पछ्याइरहेका हुन्छन्। त्यसैले रिपोर्टरले आफ्नो समाचार सामाजिक सञ्जालको आफ्नो खाताबाट शेयर गर्नु समाचार बिकाउनु हैन, आफ्नो सामग्रीको लक्षित पाठकसम्म पुर्याउनु हो।
मैले यो बीचमा तथ्याङ्कलाई कसरी सहज तरिकाले प्रस्तुत गर्ने भनेर जान्न तथ्याकं पत्रकारिता केन्द्रमा पनि केही सिकेँ। काठमाडौँका हाउजिङले खोला किनारा कसरी मिचे भनेर नक्सा समेतको प्रयोग गरेर समाचार लेखियो। त्यसको राम्रो प्रतिक्रिया पनि आयो।
अब एकोहोरो शब्दमा मात्रै समाचार लेखेर हुँदैन, त्यसमा तथ्याङ्कलाई सहज रूपमा भिज्योलाइज गर्ने हो भने अझ सहज रूपमा समस्या बुझाउन सकिने रहेछ।
धेरै सञ्चार गृहले सामाजिक सञ्जालले बजार लियो भनेर चिन्ता गरेको देख्छु। सामाजिक सञ्जाल त मिडियाको लागि बजार हो। त्यहाँ हामीले जति राम्रो कन्टेन्ट दिन सक्यो त्यति त्यो सहयोगी हुन्छ।
नयाँ निरूत्साहित हुन जरुरी छैन
मुसहरको रिपोर्टिङ गर्न पोहोर(२०७९) सर्लाही, सिरहा गएँ। त्यसअघि मुगु, जाजरकोट, हुम्ला नि गएँ. बझाङ, बाजुरा सोलुखुम्बु, धादिङ नि गएँ।
२०७९ मा प्रतिनिधि सभा निर्वाचन सम्बन्धी रिपोर्टिङ गर्न सिन्धुली, रामेछाप, दोलखा, काभ्रे, सिन्धुपाल्चोक गएको थिएँ। विभिन्न भूगोलमा पुगेर रिपोर्टिङ गर्न पाउँदा त्यहाँको सामाजिक आर्थिक अवस्था पनि बुझ्ने मौका पाएँ।
भिन्न भिन्न जिल्लामा जाँदा एक जिल्लाको सामान्य समस्या अर्को जिल्लाको जटिल देखिने रहेछ। पहाड मात्र भएर हुन्न। पहाडी जिल्लापिच्छे समस्या फरक छन्। मधेस मात्र भएर हुन्न। सर्लाहीमा नदेखिएको समस्या सिरहामा देखिन सकिन्छ। जिल्ला घुम्दा हामी चुकिरहेका विषय देखिन्छ। नयाँ आइडियाहरू आउँछन्।
एकातिर रिपोर्टिङ गर्नुपर्ने विषय धेरै हुनु, अर्कोतिर एक-दुईखाले समस्या नभएको होइन हाम्रो मिडियामा। आर्थिक सङ्कटले गर्दा मिडिया हाउसमा समस्या आउनु, रिर्पोटरहरुलाई अलि सिनियहरुबाट पत्रकारितामा भविष्य नै छैन भनेर काम गर्नै निरूत्साहित गर्ने पनि समस्या बढेको देख्छु।
पत्रकारितामा भविष्य नभएको होइन छ तर सिनियरबाट यति निरूत्साहित गरिन्छ की पत्रकारिता नै नगरौँ क्यारे भन्ने स्थिति सिर्जना हुन थालेको छ। यथार्थमा त्यो होइन।
आर्थिक सङ्कट जताततै छ, मिडियामा मात्रै होइन। केही समयपछि यो हट्ला पनि। यतिन्जेल हामीले आफूलाई अपडेट गर्न र फैलाउन भने छाड्न हुँदैन। खोज पत्रकारिता केन्द्र, अर्थ जर्नालिजम नेटवर्क जस्ता संस्थाले फेलोसिपमा स्टोरी गर्न लगाउँछन् समय निकालेर त्यता पनि स्टोरी गरेर आर्थिक समस्यामा भरथेग गर्न सकिन्छ। मिडिया हाउसको काममा नकारात्मक प्रभाव नपर्ने गरी दुबैतिर स्टोरी हुनेगरी फिल्डमा जान सकिन्छ। गर्ने हो भने धेरै अवसर छ। अब केही पनि भएन भनेर बस्यो भने केही अवसर पनि देखिन्न।
मेरो अनुभवमा सम्पादकहरूले त काम गर्न प्रोत्साहित नै गरिरहेका छन्। केही वर्गले निरूत्साहित गर्न सक्छन्। हामी रिर्पोटरले संगत गर्दा कस्तो व्यक्तिको गरिरहेका छौँ भन्नेमा धेरै भर पर्छ जस्तो लाग्छ।
विषयगत दक्षता भएका व्यक्ति भेट्ने, नयाँ-नयाँ व्यक्तिहरूसँग कुराकानी गर्ने हो भने नयाँ आइडिया आउँछन्। केही गैरसरकारी संस्थाले राम्रा काम पनि गरेका छन्, तिनका रिर्पोट, सरकारी प्रतिवेदनलाई अध्ययन गर्न जरुरी छ।
केही समय अघि केन्या र दक्षिण कोरिया जाने अवसर पाएको थिएँ। त्यहाँ पुग्दा थाहा भयो, त्यहाँको सिनियर महिलाहरूले राम्रो खोज पत्रकारिता गरिरहेका छन्। उनीहरूको सोचाइ धेरै फराकिलो लाग्यो। हाम्रोमा त सिनियरहरुमा सिकाउने सोचाइ नै देख्दिन म त।
सिनियरले जुनियरलाई सिकाउने भन्दा पनि यो पेसा कामै छैन भनेर निरूत्साहित मात्र धेरै गर्छन्। उनीहरू यही पत्रकारिता पेसाबाट व्यवस्थित भएका छन्। अनि उनीहरू नै यो पेसा कामै छैन भन्छन्।
तर त्यहाँ गएपछि के थाहा भयो भने, सिनियरले विषयवस्तु बुझाउने रहेछन्। दक्ष हुन सिकाउने रहेछन्। हाम्रो न्युज रुमले पनि एक रिपोर्टर र अर्को रिपोर्टबीच समन्वय गराउने हो भने, सिक्ने र सिकाउने सँस्कारको विकास गर्ने हो भने समाचार कक्षको वातावरणमा सुधार हुन्छ।
आजका सिनियर पत्रकारहरू पनि हिजो त जुनियरै थिए नि। उनीहरूलाई सिनियरले यसैगरी कामै छैन भनेर निरूत्साहित गर्ने, आफ्नो अनुभवै नबाँड्ने अनि आफूले जानेको सीप नसिकाएको भए आजको अवस्थामा आइपुग्थे होलान् र!
(हिमशिखर टेलिभिजन, न्युज २४ टेलिभिजन, नागरिक दैनिक र हाल कान्तिपुर दैनिकमा आबद्ध राई खोज पत्रकारिता केन्द्रकी कार्यसमिति सदस्य समेत हुन् उनै राईसँग ‘नेपाली पत्रकारितामा नयाँ पुस्ताको भविष्य’ विषयमा प्रजु पन्तसँग भएको कुराकानीको आधारित।)
चौथो अंगका पुराना श्रृंखला
माघ ९, २०८० मंगलबार १९:३७:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।