शीर्ष दलका नेतालाई बोलाएर राष्ट्रपतिले भने- संविधान कार्यान्वयन गरिदिनुस्, जनता पछाडि फर्किन चाहँदैनन्

शीर्ष दलका नेतालाई बोलाएर राष्ट्रपतिले भने- संविधान कार्यान्वयन गरिदिनुस्, जनता पछाडि फर्किन चाहँदैनन्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनको कार्य फितलो भएको गुनासो गरेका छन्।

आज शीतल निवासमा संसदीय दलका नेताहरूलाई माघे सङ्क्रान्तिको शुभकामना दिँदै उनले जनताले जे पाइएला भन्ने आशा गरेका छन् त्यसलाई निराशामा परिणत नगर्न आग्रह गरे।

‘संविधान कार्यान्वयनमा ल्याउन आवश्यकता छ। व्यवहारमा ल्याउनुपर्यो,’  उनले भने, ‘पीडित, उपेक्षित वर्गलाई अधिकार दिइएको छ। त्यो सार्थक हुनुपर्यो।’ 

उनले मित्र राष्ट्रका प्रतिनिधिसँगको भेटलाई उधृत गर्दै नेपालको संविधान संसारकै उत्कृष्ट मध्येमा एक भएको टिप्पणी गर्दै यसलाई व्यवहारमा उतार्नका लागि कानुन बनाउनुपर्ने बताए।

‘संविधानले जुन परिकल्पना गयो। त्यसलाई कानुनद्वार व्यवस्थित गर्नुपर्ने आवश्यकता छ। ती कानुन निर्माण छिटोभन्दा छिटो हुन जरुरी छ,’  उनले भने।

जनताका चाहना अघि बढ्ने नै रहेको उनको भनाइ छ। समावेशी लोकतन्त्र साकार पारेर छाडिने उनले बताए।

‘निराशाका कुरा आएका छन्। संविधान कार्यान्वयनको कमीले हो। अब पछाडि फर्कन कोही जनता चाहँदैनन्,’ उनले भने।

राष्ट्रपति पौडेलले माघी पर्वको अवसरमा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संसद्मा प्रतिनिधित्व गर्ने दलका नेता, संघीय समितिका सभापति सहितलाई राष्ट्रपति कार्यालयमा बोलाइ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुरूमै आएर अर्घाखाँचीका लागि निस्किएका थिए। एमाले अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित भए।

१ माघ, २०८०, १४:१०:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।