प्रदीप पौडेलको प्रश्न- ‘गुणस्तरहीन स्वास्थ्य सेवा भनेको दाहिने खुट्टा अप्रेशन गर्नुपर्यो भने देब्रे खुट्टा अप्रेशन गर्ने भनेको हो?’

प्रदीप पौडेलको प्रश्न- ‘गुणस्तरहीन स्वास्थ्य सेवा भनेको दाहिने खुट्टा अप्रेशन गर्नुपर्यो भने देब्रे खुट्टा अप्रेशन गर्ने भनेको हो?’
फाइल फोटो

 

काठमाडौं :  प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले स्वास्थ्य सेवाको विषय गुणस्तरीय र गुणस्तरहीन भन्ने नहुने तर्क गरेका छन्।

‘स्वास्थ्य सेवा पनि गुणस्तरीय र गुणस्तरहीन हुन्छ?,’ पौडेलले प्रश्न गरे, ‘गुणस्तरहीन स्वास्थ्य सेवा भनेको के? दाहिने खुट्टा अप्रेशन गर्नुपर्यो भने देब्रे खुट्टा अप्रेशन गर्ने भनेको हो?’

सरकारी अस्पतालले गुणस्तरीय सेवा दिन सकेका छैनन् भन्नुको अर्थ सरकारी अस्पतालले स्वास्थ्य सेवा नै दिन नसकेको मान्नुपर्ने पौडेलले तर्क गरे।

आज ‘टोखा चण्डेश्वरी अस्पताल’को न्यूनतम सेवा मापदण्ड (एमएसएस) सम्बन्धी अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै पौडेलले सो तर्क गरेका हुन्।

प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले ‘टोखा चण्डेश्वरी अस्पताल’ले खासै प्रगति गर्न नसकेको बताएका छन्।

‘अहिले तपाईंहरूको मापनमा यसले प्रगति हासिल गरेको होला,’ पौडेलले भने, ‘तर, मेरो विचारमा यो अस्पतालले खासै प्रगति गरेको छैन।’

जुन तहको अस्पताल भएपनि त्यसले पूर्ण क्षमता प्रस्तुत गर्न सक्नुपर्ने उनले तर्क गरे। टोखा चण्डेश्वरी अस्पताल पूर्ण क्षमताको प्रयोग गर्ने गरी काम गर्नुपर्नेमा उनको जोड थियो।

व्यक्तिमा ‘टोखा अस्पताल के जानु, प्रदेशको अस्पताल खासै केही छैन’ भन्ने मनोविज्ञान निम्तिन नहुने वातावरण बनाउनुपर्ने उनले बताए। त्यसैले अस्पताललाई राम्रो बनाउन आवश्यक औजार तथा उपकरण लगायतको विषयमा सूची तयार गर्न आग्रह गर्दै अस्पतालको सुधारका लागि सहयोग गर्न आफू तयार रहेको उनले बताए।

पौडेलले अस्पतालमा आवश्यक केही उपकरण निकै मेहनत गरी व्यवस्थापन पनि गरिएको जानकारी दिए।

अस्पतालका विकासका लागि थप मेसिन, औजार, उपकरण तथा आवश्यक सामग्री, जनशक्ति लगायतको व्यवस्थापनका लागि पहल र सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे।

वागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयका चिकित्सा सेवा तथा रोग नियन्त्रण शाखाका प्रमुख डा. नवीन दर्नालले अस्पतालको फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए।

कार्यक्रममा बोल्दै टोखा चण्डेश्वरी अस्पतालकी निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सुजाता नगरकोटी र अस्पताल विकास समितिका अध्यक्ष युथ महर्जनले अस्पतालले प्रगति गरिरहेको भएपनि जनशक्ति तथा मेसिन औजार लगायतको अभावको समस्या रहेको बताए।

२६ पुस, २०८०, १९:०८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।