स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. लोहनी र स्वास्थ्य व्यावसायिक परिषद्मा शर्मा

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. लोहनी र स्वास्थ्य व्यावसायिक परिषद्मा शर्मा

काठमाण्डौं : स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त भएका छन्।  सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै तनहुँका डा. लोहनीलाई मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको जानकारी दिइन्।

डा. लोहनी स्वास्थ्य मन्त्रालयमा १२ औँ तहमा रहँदा एक वर्ष अघि अनिवार्य अवकाश उमेर हदका कारण सरकारी जागिरबाट अवकाश पाएका थिए। डा. लोहनीले यसअघि पनि करिब दुई वर्ष स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारीमा काम गरिसकेका छन्।

स्वास्थ्यका नीति योजनाका क्षेत्रमा समेत अनुभव बटुले उनले अन्यौलताले थला परेको स्वास्थ्य बीमालाई सही दिशा दिन सक्ने आशा गरिएको छ।

त्यसैगरी नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सुबोध कुमार शर्मा मनोनीत भएका छन्। मन्त्रिपरिषद्को बैठकले महोत्तरीका शर्मालाई परिषद्को अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो।

दुवै स्वास्थ्य मन्त्रालयको प्रस्तावमा नियुक्त र मनोनयन भएका हुन्।

१४ मंसिर, २०८०, १८:१७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।