स्वास्थ्यमन्त्री बस्नेतमाथि खनिए डा. केसी- ‘माफियाहरूको नाइके मन्त्री भइरहनू लोकतान्त्रिक मूल्य मान्यताको बर्खिलाप हो’

स्वास्थ्यमन्त्री बस्नेतमाथि खनिए डा. केसी- ‘माफियाहरूको नाइके मन्त्री भइरहनू लोकतान्त्रिक मूल्य मान्यताको बर्खिलाप हो’

काठमाडौं : अभियन्ता डा.गोविन्द केसीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको बर्खास्तीको माग गरेका छन्।

आइतबार विज्ञप्ति निकालेर डा.केसीले बस्नेतले स्वास्थ्य मन्त्रालय सम्हाले देखिनै माफियाको पक्षमा लबिङ गरिरहेको दाबी गर्दै बर्खास्तीको माग गरेका हुन्।

‘माफियाहरूका नाइके स्वास्थ्य मन्त्री बस्नेत पदमा रही रहनु लोकतान्त्रिक मूल्य मान्यताको बर्खिलाप हो’, केसीले विज्ञप्तिमा भनेका छन्।

स्वास्थ्य सेवाबाट वञ्चित नागरिकहरूले पेट काटेर तिरेको करबाट तलब-भत्ता खाने र सुविधा उपभोग गर्ने स्वास्थ्य मन्त्रीले उनीहरूको भोको पेटमा लात्ती हानी रहेको केसीको आरोप छ।

मन्त्री बस्नेतसँग स्वास्थ्य सम्बन्धी ज्ञान र अनुभव नभएको र जान्ने प्रयास पनि नगरेको भन्दै डा. केसीले ठूलामुखे, गैरजिम्मेवार, भ्रष्ट र गँवार व्यक्तिलाई स्वास्थ्य मन्त्री बनाएर प्रचण्ड र देउवाले जनताको स्वास्थ्यमाथि खेलाबाड गरेको आरोप लगाएका छन्।

उनले यसलाई राजनीतिक तथा सामाजिक अपराधको संज्ञा दिएका छन्।

शनिबार काठमाडौंमा भएको कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले डा. केसीलाई गिरोहले सञ्चालन गरेको आरोप लगाएका थिए। यस्तै उनले केसीको पक्षमा लाग्ने र साथ दिने चिकित्सकहरूलाई कारबाही गर्ने धम्कीसमेत दिएका थिए।

१० मंसिर, २०८०, १४:२०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।