ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिन्छ : स्वास्थ्यमन्त्री बस्नेत

ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिन्छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने बताएका छन्।

राष्ट्रिय ट्रमा सेन्टरको दशौं वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालय अहिले ठूला उपकरण खरिद गर्ने पक्षमा नभए पनि ट्रमा सेन्टरलाई नभइ नहुने एमआरआई मेसिन खरिद गर्न सकारात्मक रहेको बताएका हुन्।

मन्त्री बस्नेतले भने, ‘धेरैजसो अस्पतालहरूले कमिसनको चक्करमा परेर ठूला उपकरण किन्ने र थन्क्याउने गरिएको पाइयो। त्यसैले अत्यावश्यक बाहेक ठूला उपकरण तत्काल किन्ने पक्षमा मन्त्रालय छैन। तर ट्रमा सेन्टरको हकमा अत्यावश्यक भइसकेको एमआरआई मेसिन खरिद गरिने छ। यसमा मन्त्रालय सकारात्मक छ।’

ट्रमा सेन्टरमा छ महिनाअघि खरिद गर्न लागिएको एमआरआई मेसिन विविध कारण रोकिएको थियो। मन्त्री बस्नेतले ट्रमा सेन्टरले प्रदान गरिरहेको सेवा सन्तोषजनक भएको बताउँदै यसको सेवा विस्तारका लागि स्वास्थ्य मन्त्रालयले सक्दो सहयोग गर्ने आश्वासन दिए।

ट्रमा सेन्टरमा हरेक वर्ष विरामीको संख्या बढ्नुको कारण यसले प्रदान गरिरहेको सेवा विश्वसनीय भएको प्रमाण मान्न सकिने बताउँदै मन्त्री बस्नेतले विपन्नको उपचार नि:शुल्क हुनुपर्छ भन्ने आफ्नो मान्यता अनुसार वीर अस्पताल र ट्रमा सेन्टरले काम गरिरहेकोमा प्रशंसा समेत गरे।

काम गर्न सक्ने उमेरमै अवकाश प्राप्त गरेका विशेषज्ञ, चिकित्सक, नर्सिङ जनशक्तिले काम गर्ने वातावरण बनाउन र चिकित्सा शिक्षाको अध्ययनका लागि विदेश जाने विद्यार्थीले स्वदेशमै पढ्ने व्यवस्था मिलाउन आफूले १०० देखि ३०० शय्यासम्मका अस्पतालले नर्सिङ र प्यारामेडिक्स तथा ३०० शय्याभन्दा माथिमा अस्पताले एमबीबीएस र विशेषज्ञ चिकित्सकको पढाइ सञ्चालन गर्न पाउने गरि कानून परिवर्तन गर्न पहल गरिरहेको मन्त्री बस्नेतले बताए।

आफ्नो प्रस्तावमा प्रधानमन्त्रीदेखि मन्त्रीपरिषद्का अधिकांश मन्त्री सहमत भएको र संसदले कानून बनाएपछि लागू गर्न सकिने मन्त्री बस्नेतको भनाइ थियो।

९ मंसिर, २०८०, १४:२७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।