नरदेवीमा रमिता : वैद्यखानामा खटाइएका डा. केसी नरदेवीमै बसेर चेकमा साइन गर्दै

नरदेवीमा रमिता : वैद्यखानामा खटाइएका डा. केसी नरदेवीमै बसेर चेकमा साइन गर्दै

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नरदेवी आयुर्वेद चिकित्सालय (नरदेवी आयुर्वेद अस्पताल) बाट सिंहदरबार वैद्यखाना विकास समितिको कार्यकारी निर्देशकको रूपमा कामकाज गर्न खटाएको एक महिना बितिसक्दा पनि डा. प्रदीप केसी वैद्यखाना गएका छैनन्।

मन्त्रालयले उनलाई नरदेवी अस्पतालको निर्देशकबाट हटाइसक्यो। तर उनी नरदेवीमै निर्देशकको आर्थिक र प्रशासनिक काम गरेरै बसेका छन्।  

तर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कात्तिक दुई गते नै नरदेवी चिकित्सालय ११ औँ तहका निर्देशक डा. केसीलाई आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी सिंहदरबार वैद्यखाना विकास समितिको कार्यकारी निर्देशकको रूपमा काम गर्न खटाएको थियो। मन्त्रालयले खटाएको ठाउँमा उनी गएका छैनन्। मन्त्रालयले किन नगएको भनेर सोधेको पनि छैन।

मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट २०८०-०७-०२ मा साबिककै निकायमा दरबन्दी रहने गरी अर्को व्यवस्था नभएसम्म सिंहदरबार वैद्यखानामा पठाएको थियो।

मन्त्रालयले सोही दिन नरदेवी आयुर्वेद चिकित्सालयमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका दसौँ तहका डा. श्यामबाबु यादवलाई निमित्त निर्देशकको जिम्मेवारी दिएर पठाएको थियो।

 डा. यादवले नरदेवीमा निमित्त निर्देशकको रूपमा हाजिर गरे। तर डा केसी ‘म नै नरदेवीको निर्देशक हुँ’ भन्दै निर्देशकको हैसियतमा काम गरिनै रहे।

डा. यादवको नेमप्लेट हटाउँदै स्वघोषित निर्देशकका रूपमा आफू निर्देशक भएको दाबी गर्दै निर्देशकको कुर्सीमा डा. केसी बस्ने क्रम मङ्गलवार साँझ सम्म पनि चलिनै रह्यो।

बुधवारबाट मात्रै अस्पतालको बैङ्क खाता डा यादवको रोहबरमा आएको छ। तर, औपचारिक रूपमा अझै डा. केसीले डा. यादवलाई नरदेवीको बरबुझारथ गरेका छैनन्।

मन्त्रालयले कारबाही गर्न सक्ने

निर्देशकको जिम्मेवारीबाट हटिसकेपछि समेत आर्थिक तथा प्रशासनिक काम गरेकाले डा. केसीलाई मन्त्रालयले स्पष्टिकण पत्र काट्न सक्ने मन्त्रालय स्रोतले जानकारी दियो।

अटेर गर्दै गए कारबाही प्रक्रिया समेत अगाडी बढाउन सकिने  र निर्देशकबाट हटाइसकेको अवस्थामा समेत आर्थिक तथा प्रशासनिक काम गर्ने डा. केसीलाई स्पष्टीकरण सोध्न सकिने मन्त्रालयका एक उच्च तहका कर्मचारीले बताए। ‘त्यस (आर्थिक तथा प्रशासनिक काम गरेको विषयमा)स्पष्टीकरण सोधिन्छ,’ती कर्मचारीले भने।

त्यसो त डा. केसी वैद्यखानामा नगए स्वास्थ्य मन्त्रालयमा नै ल्याएर हाजिर गराउने तयारी रहेको मन्त्रालयका एक कर्मचारीले बताए। ‘उहाँ (डा. केसी) वैद्यखाना हाजिर गर्न जानु भएन भने वैद्यखानामा अर्कैलाई पठाउनुपर्ने हुन्छ,’उच्च तहका एक कर्मचारीले भने,‘उहाँ (डा. केसी) मन्त्रालयमा हाजिर गर्नुहुन्छ। बस्नु हुन्छ।’

डा. केसीको विषयमा जिज्ञासाका लागि मन्त्रालयकी प्रशासनतर्फकी सचिव देव कुमारी गुरागाईँसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन। अघिल्लो पटक कुराकानीका लागि म्यासेज गर्दा मन्त्रालयका प्रवक्तालाई सम्पर्क गर्न अनुरोध गर्दै उनी पन्छिएकी थिइन्। 

६ मंसिर, २०८०, २१:५४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।