टेन्डर विवादमा तानिएका मन्त्री बस्नेत कर्मचारी सरुवामा मस्त, भरतपुर र प्रयोगशालाको प्रमुख फेरिए

टेन्डर विवादमा तानिएका मन्त्री बस्नेत कर्मचारी सरुवामा मस्त, भरतपुर र प्रयोगशालाको प्रमुख फेरिए

काठमाडौँ : स्वास्थ्य सामग्री खरिदको टेन्डर विवादमा तानिएका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य संस्थाका प्रमुख तथा कर्मचारी सरुवामा केन्द्रित देखिएका छन्।

मन्त्री बस्नेतले मङ्गलवार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झालाई हटाउँदै डा. राजनराज भट्टईलाई प्रयोगशालाको निर्देशकमा नियुक्त गरेका छन्।

यी दुवै प्रयोगशालामा कार्यरत ११ औँ तहका चिकित्सक हुन्। डा. झालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नै काम गर्ने गरी निर्देशकबाट हटाइएको मन्त्री बस्नेतको सचिवालयले जानकारी दिएको छ। झा. लामो समयदेखि प्रयोगशालाको प्रमुखको रूपमा कार्यरत थिइन्।

त्यसैगरी दशौं तहका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेललाई हटाउँदै मन्त्री बस्नेतले भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (निर्देशक) मा डा. श्रीराम तिवारीलाई नियुक्त गरेका छन्। ११औँ तहका डा. तिवारी यसअघि वीर अस्पतालमा कार्यरत थिए।

त्यसैगरी कान्ति बाल अस्पतालमा काम गरिरहेकी ११औँ तहकी नर्स रोशनीलक्ष्मी तुईतुईलाई मन्त्री बस्नेतले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा गरेका छन्।

टेकुस्थित स्वास्थ्य सेवा विभागमा कार्यरत उपेन्द्र ढुङ्गानालाई स्वास्थ्य मन्त्रालयमा रहेको स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाइमा जिम्मेवारी तोकिएको छ।

विशेषगरी जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण सिर्जित स्वास्थ्य समस्या लगायतका विषयको व्यवस्थापनको फोकल पर्सनका रूपमा उनलाई स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाइमा जिम्मेवारी दिइएको मन्त्री बस्नेतको सचिवालयले जानकारी दिएको छ।

२१ कात्तिक, २०८०, १६:४१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।