आम्दानीभन्दा ९० लाख बढी खर्च गरेको देखिएपछि स्याङ्जाका तत्कालीन सिनियर अहेवमाथि भ्रष्टाचार मुद्दा दायर

आम्दानीभन्दा ९० लाख बढी खर्च गरेको देखिएपछि स्याङ्जाका तत्कालीन सिनियर अहेवमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : आम्दानीभन्दा ९० लाख बढी खर्च गरेको देखिएपछि स्याङ्जाका तत्कालीन सिनियर अहेवमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा स्याङ्जाको चापाकोट नगरकार्यपालिकाका सिनियर अहेव बिन्दु कोइरालाले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको पुष्टि भएपछि उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

कोइरालाले सार्वजनिक सेवामा नियुक्ति पाएको २०५4 कात्तिक 0५ गतेदेखि 207८ मंसिर २१ गतेसम्मको जाँच अवधिमा २ करोड ९७ लाख ८१ हजार ८०२ आय आर्जन गरेको र ३ करोड ८८ लाख २१ हजार ४२२ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएपछि बढी भएको ९० लाख ३९ हजार ६२० रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको देखिएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो।

उनीउपर भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५¸ दफा १६ग¸ दफा ३ र दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२) बमोजिम विगो बमोजिम जरीवाना र कैद सजायको माग आयोगले गरेको छ।

कोइरालाले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको स्रोत नखुलेको, स्रोत खुलेको सम्पत्ति समेतबाट साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १६ग¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ ख बमोजिम जफत/असुल उपर गरी पाउन मागदावी लिइएको छ।

साथै बिन्दु कोइरालाले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति श्रीमती गीता कोइराला समेतको नाममा बैंक खातामा रकम मौज्दातमा गरिएकाले बिगो र जरिवाना गीतामार्फत जफत गराउनसमेत माग गरिएको प्रवक्ता दाहालले बताए।

२० असोज, २०८०, ०९:१९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।