इन्भेष्टमेण्ट बैंक नेतृत्वलाई आत्महत्या दुरुत्साहनको जोखिम, मानवीय संवेदना नदेखाएको युनियनको आरोप

इन्भेष्टमेण्ट बैंक नेतृत्वलाई आत्महत्या दुरुत्साहनको जोखिम, मानवीय संवेदना नदेखाएको युनियनको आरोप

काठमाडौँ : हेटौँडा शाखामा कार्यरत नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका कर्मचारी निरञ्जन देवकोटा त्रिशूली नदीमा हाम फालेको घटना सार्वजनिक भएसँगै उनको खोजी जारी छ। तर तेस्रो दिनसम्म पनि सुरक्षाकर्मीले उनलाई फेला पार्न सकेको छैन।

घटनास्थलका प्रत्यक्षदर्शी, फेला परेको मोटरसाइकल र चप्पलको आधारमा नदीमा हाम फाल्ने व्यक्ति देवकोटा  हुनसक्ने सम्भावना बढी छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिम गोताखोरसहित देवकोटाको खोजी गरिरहेको छ। तर कर्मचारी हराएको तीन दिनसम्म पनि बैङ्कको केन्द्रीय तहमा रहेका जिम्मेवार अधिकारीहरू भने घटनाबारे मौन छन्। बैङ्कले हालसम्म आफ्नो कर्मचारी हराएकोबारे केही विवरण सार्वजनिक गरेको छैन।

जानकारस्रोतका अनुसार बैंक व्यवस्थापन अहिले देवकोटाको खोजीमा भन्दा पनि देवकोटाको परिवारले चाल्न सक्ने कानुनी प्रक्रियामा बढी चासो राखेको छ।

परिवारीक स्रोतका अनुसार देवकोटाको श्रीमती बैंकका केही उच्च अधिकारीको खराब व्यवहारका कारण आफ्नो श्रीमानले आत्महत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिने तयारीमा छिन्।

तर परिवारका अन्य सदस्यहरूले शव फेला नपरेसम्म कानुनी प्रक्रियामा नजाऊँ भन्दै उनलाई रोकिराखेका छन्।

देवकोटा परिवार एमालेका केही नेताहरूसँग निकट रहेको सूचनाको आधारमा बैंक व्यवस्थापनमा रहेका केही व्यक्ति भने आन्तरिक रूपमा घटना मिलाउन सक्रिय छन्।

बैङ्कको केन्द्रीय कार्यालयका केही उच्च पदाधिकारीहरूले खराब कर्जा उठाउन दबाब दिएको र राजिनामादिँदा पनि स्वीकृत नगर्दा उनी तनावमा रहेको सार्वजनिक भइसकेको छ।

बैंक व्यवस्थापनमा मानवीय संवेदना देखिएन

कर्मचारी हराएको तीन दिनसम्म पनि बैङ्कले यसबारे आधिकारिक केही जानकारी सार्वजनिक नगरेपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कर्मचारी युनियनले विज्ञप्ति निकालेर बैंक व्यवस्थापकमा न्यूनतम मानवीय संवेदना समेत समेत नदेखिएको गम्भीर आरोप लगाएको छ। मानवीय संवेदना समेत ख्याल नगरी नियतवश हराइरहेका कर्मचारीको चरित्रहत्यामा व्यवस्थापन पक्षकै मिलेमतो रहेको शङ्का बढाएको उल्लेख गरेको छ।

बैंकका उच्च अधिकारीलाई उद्धृत गर्दै देवकोटाको चरित्रहत्या हुने समाचारहरू सार्वजनिक गर्दै घटना विषयान्तर गर्ने प्रयास भएको र यसबारे व्यवस्थापनपक्षबाट खण्डन समेत नभएकाले देवकोटाको विषय विषयान्तर गर्न व्यवस्थापनपक्षले नै नियतवश घटना विषयान्तर गर्न खोजेको शङ्का बढाएको कर्मचारी युनियनका अध्यक्ष शिवहरि भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनले विज्ञप्तिमा बैंक व्यवस्थापन पक्षबाट बेलाबखत भएको भनिएका विभिन्न चरणको अनुसन्धान, देवकोटालाई सेवाबाट अवकाश दिने प्रक्रिया लगायत भएका कानुनी आधारहरू र सो विषयका सन्दर्भमा व्यवस्थापन पक्षबाट भएका व्यवहारबारे प्रश्न समेत उठाएका छन्।

'अनुसन्धानको नाममा बैंकका तर्फबाट विभिन्न व्यक्तिहरूबाट सङ्कलन गरेको भनिएको कथित आरोप पत्र लगायत सबै प्रक्रियामा युनियनको गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा भनिएको छ' यस्ता घटना पुन दोहोरिन नदिन कर्मचारीहरूलाई अनुसन्धानको नाममा कानुनी व्यवस्था तथा दायरालाई समेत बेवास्ता गरेर गर्ने गरिएको कथित अनुसन्धान बन्द गर्न माग गर्दछौँ।'

युनियनले अनुसन्धान आवश्यक भएको खण्डमा नियम बमोजिम समिति गठन गरेर कर्मचारी सेवा विनियमावलीको अधीनमा रहेर गर्न समेत माग गरेको छ।

देवकोटाको अवस्थाबारे तत्काल जानकारी दिन बैंक व्यवस्थापन पक्षसँग युनियनले माग समेत गरेको छ।

दुरुत्साहनको मुद्दा लाग्छ ?

मुलुकी अपराध संहिता अनुसार कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साह दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन नहुने उल्लेख छ।

ऐनको दफा १८५ मा भएको व्यवस्था अनुसार कसैले काम गरेमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैँया जरिवानाको कानुन व्यवस्था रहेको छ।

परिवारले बैङ्कको उच्च अधिकारीहरूको व्यवहारमा कारण देवकोटाले आत्महत्या गरेको दाबी गरिरहेका छन्। खराब ऋण उठाउन दबाब दिएको र राजीनामा दिँदा समेत ऋण नउठाएसम्म स्वीकृत नगर्ने भनेर रोक्दा उनले सो कदम चालेको परिवारको दाबी देखिन्छ।

उनले बैंकका उच्च अधिकारीले गरेको व्यवहारबारे डायरीमा लेखेको भेटिएको दाबीहरू आए पनि प्रहरीसम्म सो डायरी पुगेको छैन। यदि उनले डायरीमा लेखिए अनुसार आत्महत्याको कारण बैंकका उच्च अधिकारीहरूको दबाब देखिएमा र उनले ती अधिकारीहरूको नाम समेत डायरीमा लेखेको प्रमाणित भएमा बैंकका अधिकारीमाथि कानुन अनुसार आत्महत्या दुरुत्साहनको मुद्दा लाग्न सक्छ।

सम्बन्धित समाचार

 

१९ असोज, २०८०, १९:४७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।