नेपालगञ्जमा दिउँसोको कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

नेपालगञ्जमा दिउँसोको कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

बाँके : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा दिउँसोको समयमा कर्फ्यु हटाइएको छ। 

बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्मका लागि नेपालगञ्ज क्षेत्रमा लगाइएको कर्फ्यु हटाएको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ। 

बिहिबार आज राति ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म भने कर्फ्यु कायमै रहेको सूचनामा उल्लेख छ। कर्फ्यु आंशिक रुपमा हटाइए पनि निषेधाज्ञा भने जारी छ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर ५ जनाभन्दा बढी भेला हुन, जुलुस निकाल्न, बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए। 

हिन्दु  र मुस्लिम  समुदायबीच भएको विवादले मङ्गलवार दिउँसोदेखि अशान्त रहेको नेपालगञ्ज तीन दिनपछि शान्त बनेको छ। 

दुई समुदायबीच बढेको तनावले उग्ररुप लिने अवस्था देखिएपछि ‘कर्फ्यू’ आदेश जारी गरिएको थियो।

सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले असोज १४ गते गरेको विरोध प्रदर्शनका कारण उत्पन्न परिस्थिति एवम् ओमकार परिवार हिन्दु समाजले निकालेकोर् यालीका क्रममा विवाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शन कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भङ्ग हुने स्थिति देखिएकाले कर्फ्यु आदेश जारी गरिएको थियो।

१८ असोज, २०८०, १०:४९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।