चिकित्सक संघको राजनीति : सुरक्षाको माग राख्दै आन्दोलन, सेवा विधेयक ल्याउने सहमति गरेर स्थगित

चिकित्सक संघको राजनीति : सुरक्षाको माग राख्दै आन्दोलन, सेवा विधेयक ल्याउने सहमति गरेर स्थगित

काठमाडौँ : चिकित्सक पिटिएको विषयमा स्वास्थ्य सेवा बन्द गरेर आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक सङ्घले वार्तामा बस्दा फरक माग राख्दै स्वास्थ्य मन्त्रालयसँग सहमति गरेको छ। कार्यक्षेत्रमा चिकित्सकहरू कुटिएको भन्दै शान्ति सुरक्षाको माग राख्दै सङ्घ आन्दोलनमा उत्रिएको थियो।

शान्ति सुरक्षाको माग राख्दै गरिएको आन्दोलनको सम्झौतामा ‘चिकित्सकहरूको सेवा सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा बिदेसिने प्रवृत्ति कम गर्ने लगायत समस्या समाधान गर्ने गरी तीन महिना भित्र चिकित्सक सेवा सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न आवश्यक प्रक्रिया अगाडी बढाउने’ समेत उल्लेख छ।

आइतबार सङ्घ र स्वास्थ्यमन्त्रीस्तरीय निर्णय अनुसार अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा गठित वार्ता समिति र नेपाल चिकित्सक सङ्घका अध्यक्ष (डा. अनिल कार्की) सहितका प्रतिनिधिहरुवीच वार्ता भएर सहमति भएको थियो।

सङ्घ र सरकारबिच भएको वार्तामा ६ बुँदे सहमति भएपछि सङ्घले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। सहमतिमा हेटौँडामा चिकित्सक पिट्न संलग्नमा पक्राउ परेका चार जना र पक्राउपूर्जी जारी भएका पाँच जना सहित अन्य दोषीलाई ऐन बमोजिम कारबाही प्रक्रिया अगाडी बढाउने उल्लेख छ।

त्यसबाहेक सहमतीमा स्वास्थ्यकर्मी सुरक्षा सम्बन्धी ऐनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, समन्वय समितिको बैठक हरेक महिनामा बस्ने अनि सचेतना सम्बन्धी कार्यक्रम चलाउने उल्लेख छ।

भदौ ३१, २०८० आइतबार २०:०३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।