आन्दोलनरत चिकित्सकसँग वार्ता गर्न पाँच सदस्यीय समिति गठन

आन्दोलनरत चिकित्सकसँग वार्ता गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न समिति गठन गरेको छ।

मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटाको नेतृत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरिएको सहसचिव तुलसीनाथ गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। 

समितिले आन्दोलनरत नेपाल चिकित्सक सङ्घलाई वार्तामा आउन आग्रह गरेको छ। 

चिकित्सक कुटपिटको विरोधमा नेपाल चिकित्सक सङ्घको आह्वानमा चिकित्सकहरूले आइतबार देशैभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छन् ।

चिकित्सकहरूले सुरक्षाको माग गर्दै अस्पताल र स्वास्थ्य संस्थाहरू ठप्प पारेका हुन्। 

यही भदौ २७ गते हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरहरू विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो।

हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै थापा र बिडारीमाथि कुटपिट भएको थियो। 

कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई गत बिहीबार पक्राउ गरेको थियो।


 

भदौ ३१, २०८० आइतबार १२:२६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।