रुसको लुना–२५ चन्द्रमामा सफ्ट ल्याण्डिङ हुनुभन्दा एक दिनअघि दुर्घटनाग्रस्त

रुसको लुना–२५ चन्द्रमामा सफ्ट ल्याण्डिङ हुनुभन्दा एक दिनअघि दुर्घटनाग्रस्त

काठमाडौं : रुसको लुना–२५ अन्तरिक्ष यान चन्द्रमामा दुर्घटनाग्रस्त भएको छ। रुसले यो अभियान भारतको चन्द्रयान ३ मिशनको केही दिनपछि सुरु गरेको थियो।

यो मानवरहित यानले चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्यान्डिङ गर्न लागेको थियो तर त्यसअघि नै प्राविधिक गडबडी र सम्पर्क टुटेको जानकारी आएको थियो।

रसियाको राज्य अन्तरिक्ष एजेन्सी रोसकोसमोसले आइतवार बिहान बताएअनुसार शनिबार अपराह्न १४ः५७ (११ः५७ जीएमटी) को केही समय पछि लुना–२५ सँग सम्पर्क टुटेको थियो।

यो अपरिचित कक्षमा गएर चन्द्रमाको सतहसँग ठोक्किएको बयानमा भनिएको छ। रुसले चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्न भारतको चन्द्रयान–३ सँग प्रतिस्पर्धा गरिरहेको थियो।

भारतको चन्द्रयान–३ अर्को साता चन्द्रमाको सतहमा अवतरण गर्ने तयारी भएको छ।अहिलेसम्म कुनै पनि देशले चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्न सकेको छैन। यद्यपि अमेरिका र चीनले चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गरेका छन्।

पछिल्लो झण्डै ५० वर्षमा रुसको चन्द्रमामा यो पहिलो अभियान थियो। यो यान सोमबार अवतरण हुने थियो।

लुना २५ चन्द्रमाको त्यो भागको अनुसन्धान गर्न गएको थियो जहाँ वैज्ञानिकहरूले जम्मा भएको पानी र धेरै मूल्यवान तत्वहरू फेला पार्ने अपेक्षा गरिएको छ।

३ भदौ, २०८०, १६:२३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।