इजरायली आक्रमणमा मारिए हमासका सशस्त्र शाखा प्रमुख एजेदिन

इजरायली आक्रमणमा मारिए हमासका सशस्त्र शाखा प्रमुख एजेदिन

एजेन्सी : इजरायलमा सन् २०२३ अक्टोबरमा भएको आक्रमणका मुख्य सूत्रधार मानिएका हमासको सशस्त्र शाखाका प्रमुख एजेदिन अल-हद्दाद गाजामा गरिएको इजरायली हवाई आक्रमणमा मारिएका छन्।

इजरायली सेनाले शुक्रबार गाजाको शहरी क्षेत्रमा गरेको सटिक हवाई आक्रमणमा हद्दादको मृत्यु भएको शनिबार पुष्टि गरेको हो। प्यालेष्टिनी सशस्त्र इस्लामिक लडाकु समूह (हमास)ले पनि आफ्ना वरिष्ठ कमान्डर हद्दादको इजरायली आक्रमणमा मृत्यु भएको स्वीकार गरेको छ।

हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि, इजरायली सेना र गुप्तचर सेवाहरूले गाजा र यस क्षेत्रमा समूहका वरिष्ठ राजनीतिक नेताहरू र लडाकु कमान्डरहरूलाई लक्षित गर्दै व्यापक अभियान चलाएका छन्। शुक्रबार सेनाले गाजामा अल-हद्दादलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो भने उनको मृत्यु भएको पुष्टि शनिबार गरेको हो।

सेनाले आफू र शिन बेट घरेलु सुरक्षा निकायलाई सङ्केत गर्दै भनेको छ, “इजरायली रक्षा बल (आइडिएफ) र इजरायली सुरक्षा निकाय (आइएसए) ले शुक्रबार गाजाको शहरी क्षेत्रमा गरेको एक सटीक आक्रमणमा हमासको सशस्त्र शाखाका प्रमुख अल-हद्दादको मृत्यु भएको छ।”

हमासका दुई अधिकारीले पनि हद्दाद इजरायली आक्रमणमा मारिएको पुष्टि गरेका छन्। हमासका एक वरिष्ठ अधिकारी (सिनियर कमान्डर)ले भने, “गाजा शहरमा एक आवासीय अपार्टमेन्ट र एक नागरिक गाडीलाई लक्षित गरी इजरायलले गरेको आक्रमणमा एजेदिन अल-हद्दादले शाहदत प्राप्त गर्नुभएको छ।”

हमासको सशस्त्र शाखाका एक अर्का सदस्यले उनको मृत्युको पुष्टि गरेका छन्। हमास निकट स्रोतका अनुसार, हद्दाद, उनकी श्रीमती र एक छोरीसहितको इजरायली आक्रमणमा मृत्यु भएको थियो। एएफपीका तस्बिरहरूमा शोकाकुल व्यक्तिहरूले हमासको झन्डाले बेरिएको हद्दादको शवलाई भवनको भग्नावशेषबाट उठाएर स्ट्रेचरमा बोकेको देखाइएको छ।

इजरायली सेनाले अक्टोबर ७ को नरसंहारको योजना र कार्यान्वयनको निर्देशन दिएका हद्दाद हमासको सैन्य शाखाका अन्तिम वरिष्ठ कमान्डरमध्ये एक भएको बताएको छ। युद्धका क्रममा बन्धक इजरायलीलाई लुकाएर राख्ने र ठाउँहरू सार्ने व्यवस्था गर्ने काममा पनि हद्दाद संलग्न रहेको बताइएको छ।

“हद्दादले हमासको बन्धक बन्दी प्रणालीको व्यवस्थापन गरेका र बन्धकहरूलाई ढाल बनाएर पटक-पटक आफ्नो जीवन जोगाउन सफल भएका थिए,” विज्ञप्तिमा भनिएको छ। इजरायलका सेना प्रमुख लेफ्टिनेन्ट कर्णेल इयाल जमिरले उक्त कारबाहीलाई ‘महत्त्वपूर्ण उपलब्धि’ भनेका छन्।

“मैले फिर्ता भएका बन्धकहरूसँग गरेको प्रत्येक कुराकानीमा बारम्बार अल-हद्दादको नाम आउने गरेको थियो,” जमिरले भनेका छन्, “आज हामी अल-हद्दादलाई हटाउन सफल भयौं। आइडिएफले शत्रुहरूलाई पछ्याउने कामलाई जारी राख्नेछ, उनीहरूलाई आक्रमण गर्नेछ र अक्टोबर ७ को नरसंहारमा भाग लिने सबैलाई जबाफदेही बनाउनेछ।”

इजरायलले अक्टोबर ७ को आक्रमणको प्रमुख योजनाकार मानिने याह्या सिनवारसहित धेरै हमास नेताहरूको युद्धको क्रममा मृत्यु भएको आक्रमणको जिम्मेवारी लिएको छ।

जेठ २, २०८३ शनिबार १९:२३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।