जिल्लाको आदेशविरुद्ध उच्चमा गएका भुटानी शरणार्थी मुद्दाका सबै प्रतिवादीको मुद्दा एकसाथ सुनुवाइ हुने

जिल्लाको आदेशविरुद्ध उच्चमा गएका भुटानी शरणार्थी मुद्दाका सबै प्रतिवादीको मुद्दा एकसाथ सुनुवाइ हुने

काठमाडौँ : उच्च अदालतले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा गएकाहरूले दिएको पुनरावलोकनको मुद्दा एकै पटक हेर्ने भएको छ।

प्रतिवादीहरू अलग-अलग रूपमा जिल्ला अदालत काठमाडौँको आदेशको पुनरावलोकनको माग गर्दै उच्च अदालत पाटन गएका थिए। बिहीबार अदालतका न्यायाधीश हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासले पुनरावलोकनको निवेदकजति सबैको निवेदनलाई एकै साथ राखेर पेस गर्न आदेश दिएका हुन्।

पुर्पक्षका लागि कारागार पठाउने जिल्लाको आदेश विरुद्ध नरेन्द्र केसी, टेकनारायण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, इन्द्रजित राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शमशेर मिया र गोविन्द चौधरीले उच्चमा छुट्टाछुट्टै निवेदन दिएका थिए।

बिहीबार १० जना प्रतिवादीका छुट्टाछुट्टै मुद्दा पेशीमा चढेको थियो। एकै मुद्दाका प्रतिवादीहरूले फरक फरक मितिमा पुनरावलोकनका लागि निवेदन दिए पनि एकैसाथ राखेर इजलासमा पेस गर्न आदेश दियो।

पुर्पक्षका लागि थुनामा राख्ने आदेशसँगै पाँच लाख धरौटीमा छुटेकी लक्ष्मी महर्जनले समेत पुनरावलोकन निवेदन दिएकी थिइन्। अदालतले महर्जनसँगै  टङ्क गुरुङलाई १० लाख र केशव तुलाधरसँग १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद आङटावा शेर्पा, बिचौलिया सानु भण्डारी, केशव दुलाल, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हरिभक्त महर्जन र आशिष बुढाथोकी भने पुर्पक्षका लागि कारागारमा छन्। 

३२ साउन, २०८०, १७:३२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।