उकेरा टप फाइभ : ललिता निवास र गौर घटनालाई लिएर सत्ता गठबन्धनमा अनबनदेखि महेश बस्नेतलाई पढाउने ऋषव सरको अनुभवसम्म

उकेरा टप फाइभ : ललिता निवास र गौर घटनालाई  लिएर सत्ता गठबन्धनमा अनबनदेखि महेश बस्नेतलाई पढाउने ऋषव सरको अनुभवसम्म

काठमाडौं : सोमबार प्रतिनिधिसभा बैठक बस्यो। नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ परेका कांग्रेस सांसद सुनिल शर्माले पक्राउ पर्दाको अनुभव सुनाए। त्यति मात्रै होइन उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागे। अनि प्रधानमन्त्री र गृहमन्त्रीलाई आतंककारीको सरकार हो कि डेमाक्रेसीको भन्दै प्रश्न गरे।

त्यसपछि माओवादी सांसदले त्यसको प्रतिवाद गरे। त्यसपछि सदनको माहोल नै बिग्रियो र हंगामा भयो। अनि प्रमुख प्रतिपक्षी दलले नाराबाजी गरे। एमालेले सुन प्रकरणको छानविन गर्नका लागि उच्चस्तरीय छानविन समितिको माग गर्यो। त्यहि विषयलाई लिएर सोमबारको सदन पनि अवरुद्ध भयो। सभामुख देवराज घिमिरले भदौ ३ गते दिउँसो १ बजे बैठक बोलाए।

यस्तै, सोमबार नै सत्ता गठबन्धनको बैठक बस्यो। बैठकमा सुन प्रकरणमा एमालेले माग गरेको उच्चस्तरीय छानविन समिति गठन नगर्ने निष्कर्ष निकाल्यो। यसका साथै प्रधानमन्त्रीले गौर हत्याकाण्डका पीडितलाई गरेको प्रतिबद्धताको विषयमा समेत प्रश्न उठ्यो। बैठकले गौर हत्याकाण्डको समेत छानविन नगर्ने निष्कर्ष मात्र निकालेन ललित निवास जग्गा प्रकरणमा अदालतले दिएको आदेशमाथि समेत नेताहरूले प्रश्न उठाए।

अब लागौँ टप फाइभतर्फः
उकेराले सोमबार दिउँसो सिंहदरबार अगाडि प्रदर्शन गरेका एक समूहलाई धरपकड गरेको समाचार तस्बिर र भिडियोसहित छाप्यो। रहस्यमय मृत्यु भएकी जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोककी २२ वर्षीया आरती साहलाई न्याय माग्दै बसेका पीडितहरूलाई प्रहरीले धरपकड गरेको हो।
पूरा समाचारः दाइजोको नाममा हत्या गरिएकी आरतीलाई न्याय माग्न बसेकाहरूमाथि प्रहरीको ज्यादती

दिउँसो नै उकेराले संसदमा भएको खैलाबैलाको समाचार छाप्यो। समाचारमा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले आफूलाई जबर्जस्ती पक्राउ गरेर बिनाकारण यातना दिएको भन्दै माओवादी नेतृत्वको सरकारलाई आतंककारी भनेपछि हंगामा भएको प्रसङ्ग उल्लेख गरिएको छ।
पूरा समाचारः कांग्रेस सांसद सुनिल शर्माले सरकारलाई आतंककारी भनेपछि संसद्मा खैलाबैला, एमालेको नाराबाजी

यस्तै, उकेराले दिउँसो नै माओवादी केन्द्रले नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग बाक्लो सम्पर्क देखिएका पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुललाई बचाउन बल लगाइरहेको समाचार लेख्यो।
पूरा समाचारः महरा प्रकरण विषयान्तर गर्न खोज्दै माओवादी, पर्याप्त प्रमाण हुँदाहुँदै अनुसन्धान हैन भाषणबाजीमै सीमित

त्यसैगरी उकेराले नियमित स्तम्भअन्तर्गत भुइँमान्छेमा एक शिक्षक ऋषवदेव बुढाथोकीको अनुभव समेट्यो। उनले एमाले नेता एवं पूर्वसांसद् महेश बस्नेतलाई पढाएका थिए। आफ्नो अनुभव समेट्ने क्रममा उनले बस्नेतको स्वभावको विषयमा समेत चर्चा गरे।
पूरा समाचारः महेश बस्नेतलाई पढाएका ऋषव सर भन्छन्– ‘निडर त थियो तर उत्ताउलो स्वभाव थिएन’

साँझमा उकेराले ललिता निवासमा रहेको सरकारी जग्गा हिनामिनामा सत्ताधारी दलको एक घटक एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि अनुसन्धान गर्ने बाटो खुल्नु अनि गौर हत्याकाण्डको अनुसन्धान गर्न गृहमन्त्रीले सहमति गर्दा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार सङ्कटमा परेको समाचार लेख्यो।
पूरा समाचारः फसाउन खोजेको भन्दै गठबन्धनको दलमा रिसाए माधव नेपाल, गौर घटनाको अनुसन्धान भनेको के हो भन्दै राजेन्द्रले प्रधानमन्त्रीलाई सोधे

२९ साउन, २०८०, २१:४२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।