क्विन्टल सुन तस्करीका आरोपी दोहोरो राहदानीमा पनि जोडिए, अडुकिया र दावासँग दुई देशको राहदानी
काठमाडौँ : एक क्विन्टल सुन तस्करीको क्रममा शंकामा परेका र पक्राउ परेकाहरूबाट दोहोरो नागरिक रहेको अर्को अपराध खुलेको छ। प्रहरीले घरमा छापा मारेका व्यवसायी राकेश अडुकिया नेपाल र भारतको दोहोरो नागरिक रहेको खुलिसकेको छ। आइतबार पक्राउ परेका होटेल भियनाका सञ्चालक दावा छिरिङसँग पनि बेल्जियम र नेपालको राहदानी रहेको खुलेको छ।
अडुकिया नेपालमा बसेर अटो मोबाइल, शेयर र चाँदीको कारोबारमा संलग्न थिए। सुन तस्करीमा पनि जोडिएपछि राजश्व अनुसन्धान विभागको अनुसन्धानमा उनले विदेश आउजाउ गर्न नाम बदलेर भारतीय राहदानी प्रयोग गर्ने गरेको खुलेको थियो।
उनी नेपाली नागरिकको हैसियतमा २०६३ मा लक्ष्मी बैङ्कको सञ्चालक नियुक्त भएका थिए। त्यो बेला उनी सर्वसाधारणको तर्फबाट बोर्डमा पुगेका थिए।
तिब्बती मूलका दावा पक्राउ पर्दा बेल्जियम नागरिक रहेको विभागले सार्वजनिक गर्यो। उनीसँग दावा छिरिङ तामाङको नाममा सन् २०२३ जनवरी ४ मा जारी भएको राहदानी देखिन्छ। यसको म्याद १० वर्षको छ।
उनले काभ्रेपलान्चोक जिल्लामा जन्मिएको दाबी गर्दै निकालेको नेपाली राहदानी समेत रहेको खुलेको छ। काभ्रेको नमोबुद्ध उनले ठेगाना राखेका छन्। माओवादी नेताहरूसँग राम्रै हिमचिम देखिएका उनी होटेल व्यवसायमा संलग्न छन्।
उनी सुन तस्करीमा संलग्न रहेको प्रारम्भिक सूचनाको आधारमा प्रहरीको सहयोगमा राजश्वले छापा मारेर केही कागजात बरामद गरेको थियो। विभागले अहिले राजश्व छलीमा अनुसन्धान गरिरहेको छ। अनुसन्धानमा फेला परेका राहदानी विवरणले यो प्रहरीको अनुसन्धानको दायरामा आउने देखिन्छ।
विभागले यस अगाडि १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ जसमा भारतीय र चिनिया नागरिक समेत छन्। उनीहरूलाई आइतबार अदालतमा पेस गरेर विभागले अनुसन्धानका लागि १५ दिनको म्याद पाएको छ।
विभागले आइतबार दावासहित ट्याक्सी चालक अशोक लामा, भन्सारका एजेन्ट दाबी गरिएका तर बिचौलिया देखिएका राजेन्द्र राई, रेडी ड्रेडर्सका सञ्चालक दिलीप भुजेल, दिलीपका मामा रामकुमार भुजेल र दिलीपलाई कम्पनी खोल्न सघाएका हर्कराज राईलाई पक्राउ गरेको थियो।
यसैगरि तिब्बतीय मूलका भारतीय नागरिक थुप्तेन छिरिङ, चिनियाँ नागरिक क्युयाङ लीन, कार्गो सञ्चालकहरू राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट, भन्सार अधिकृत सन्तोष चन्द, भन्सार जाँचकी कुमार ढकाल र एक्स-रे अपरेटर सरोज श्रेष्ठ पक्राउ परिसकेका छन्।
भन्सार एजेन्ट यादव शङ्कर पराजुली, सुदर्शन गौतम, रुकमिना सुब्बा र गोदामका लागि कोठा भाडामा खोजिदिने सन्तोष तामाङ समेत पक्राउ परिसकेका छन्।
यो बिचमा विभागले प्रहरीबाट एसपी कृष्ण पङ्गेनीलाई ल्याएर अनुसन्धान टिममा संलग्न गराएको छ। अहिलेसम्म विभिन्न स्थानमा छापा मारेर सुन निकाली सकेको ब्रेक सुसँगै सुन गाल्न प्रयोग भएको मेसिनहरू समेत फेला पारेको छ।
अहिलेसम्म पक्राउ परेकामध्ये चिनियाँ नागरिक नै मुख्य देखिएका छन्। तर चिनियाँ नागरिकबाट माथिल्लोतहमा विभागको अनुसन्धान जान सकेको छैन। विभागको हिरासतमा रहेका तिब्बती मूलका भारतीय नागरिकले अनुसन्धानमा सघाए पनि चिनियाँ नागरिकले भने अनुसन्धानमा असहयोग गरिरहेका छन्।
साउन १४, २०८० आइतबार २०:०९:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।