सुन तस्करीमा संलग्न गिरोह जोगाउन आफ्नो नाम मुछिएको दीपक मल्होत्राको दाबी

सुन तस्करीमा संलग्न गिरोह जोगाउन आफ्नो नाम मुछिएको दीपक मल्होत्राको दाबी

काठमाडौं : व्यापारी दीपक मल्होत्राले सुन तस्करीमा संलग्न गिरोहको अनुसन्धान डाइभर्ट गर्न आफ्नो नाम मुछिएको दाबी गरेका छन्।

राजश्व अनुसन्धान विभागले बरामद गरेको ८० किलो बढी सुन तस्करीमा नाम मुछिएपछि उनले पत्रकार सम्मेलनमार्फत यस्तो दाबी गरेका हुन्।

उनले यस्तो धन्दामा कहिल्यै संलग्न नभएको भन्दै यसबारे अहिलेसम्म आफुसँग कुनै सरकारी निकायबाट सोधपुछ नभएको बताए।

‘जसको सामान हो ती गिरोहलाई जोगाउन, अनुसन्धान डाइभर्ट गर्न झुटो कुरा लेखियो,’ उनले प्रश्न गरे' तस्करीमा सं‌लग्न भएको ब्यक्ती लुकेर बस्छ कि पत्रकार सम्मेलन गर्छ?'

२०५५/०५६ सालतिर झिटिगुन्टाको व्यापारको क्रममा विदेशबाट नेपाल आउने नेपालीले ल्याएको सुन लिने गरेको तर त्यसयता सुन कारोबारमा संलग्न नभएको उनको दाबी छ।

उनले आफू सुन तस्करीमा कहिल्यै संलग्न नभए पनि आफ्नो नाम बारम्बार मुछिने गरेकोमा आश्चर्य लाग्ने बताउँदै भने' विमल पोद्दारसँग एक अपार्टमेन्टमा साझेदारी गरेको थिए। त्यो बाहेक कुनै व्यवसायमा उनीसँग संलग्न छैन। तर उनी साढे ३३ किलो सुनमा पक्राउ पर्दा पनि मेरै नाम जोडियो। मल्होत्राको बिजनेश पाट्नर सुन तस्करीमा पक्राउ भनेर समाचार लेखियो। '

उनले सबै व्यापारी चोखो नहुने तर जो संलग्न छैनन् उनीहरूलाई दु:ख दिने नियतले समाचार सम्प्रेशण नगर्न पत्रकारलाई आग्रह गरे। ८० किलो बढि सुन तस्करीमा परेका कसैलाई नचिन्ने र कसैसँग पनि नभेटेको दाबी गर्दै उनले आफूले मोबाइल फोनबाहेक अन्य समान आयातै नगर्ने बताए।

‘म सुन तस्करीमा संलग्न छैन भन्ने प्रमाण यही पत्रकार सम्मेलन हो,’ उनले भने' यदि कुनै प्रमाण छ भने प्रमाणसहित समाचार लेखे हुन्छ। तर अनुमानको भरमा कसैको चरित्रहत्या त गर्नु भएन नि।' 

यस प्रकरणका अन्य सामग्री

साउन ४, २०८० बिहीबार १३:४४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।