सुन तस्करीमा गृहमन्त्रीलाई जोड्दै फेसबुकमा लेखेको भन्दै प्रेस चौतारीका अध्यक्ष बस्नेतविरुद्ध साइबर ब्युरोमा उजुरी

सुन तस्करीमा गृहमन्त्रीलाई जोड्दै फेसबुकमा लेखेको भन्दै प्रेस चौतारीका अध्यक्ष बस्नेतविरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौँ :  गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सारबाट सुन पास गराएको लेख्ने प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध साइबर ब्युरोमा उजुरी परेको छ।

राजश्व अनुसन्धान विभागले बुधवार ८० किलोभन्दा बढी तस्करीको सुन बरामद गरेको थियो। उक्त प्रकरणमा गृहमन्त्री श्रेष्ठको संलग्नता रहेको भन्दै बस्नेतले फेसबुकमा स्टाटस लेखेका थिए। 

गृहमन्त्री श्रेष्ठले 'सुन पास गराएको' भन्दै फेसबुकमा लेखेर भ्रम फैलाएको भन्दै गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले बस्नेतविरुद्ध उजुरी दिएका हुन्। उनले 'जनबोली डटकम'विरुद्ध समेत प्रेस काउन्सिलमा बिहीबार उजुरी दिएका छन्।

बस्नेतले फेसबुकमा'आफूलाई सूचना आएको' भन्दै साउन ४ गते स्टाटस लेखेका थिए। गृहमन्त्री श्रेष्ठको व्यक्तिगत निष्ठा, आचरण र नैतिकतामाथि सामाजिक सञ्जालमा अतिरञ्जित भ्रम सिर्जना गरेको उजुरीमा दाबी गरिएको छ।

जनबोली डटकमले 'तौलन नसकिने हालसम्मकै ठूलो परिणाममा सुन बरामद, गृहमन्त्री श्रेष्ठको संलग्नता' भन्दै समाचार प्रकाशित गरेको थियो।

आपराधिक मनोवृत्ति राखेर भ्रमपूर्ण समाचार सार्वजनिक गरेको भन्दै  उक्त अनलाइनविरुद्ध प्रेस काउन्सिलमा उजुरी परेको हो। काउन्सिलमा समेत गिरीले नै उजुरी दिएका हुन्।

साउन ४, २०८० बिहीबार १६:१८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।