'हराएका' छिन काङलाई हटाएर चीनका राष्ट्रपतिले परराष्ट्रमन्त्रीमा नियुक्त गरे वाङलाई

'हराएका' छिन काङलाई हटाएर चीनका राष्ट्रपतिले परराष्ट्रमन्त्रीमा नियुक्त गरे वाङलाई

काठमाडौँ : एक महिनादेखि सार्वजनिक रूपमा नदेखिएका छिन काङलाई बर्खास्त गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले वाङ यीलाई पुनः नियुक्त गरेका छन्।

ग्लोबल टाइम्सले परराष्ट्रमन्त्रीमा वाङ यी नियुक्त भएको समाचार प्रकाशित गरेको छ। रुसी उपविदेश मन्त्री आन्द्रे रूदेन्कोसँग बेइजिङमा भेटवार्ता गरेपछि काङ सार्वजनिक रूपमा देखिएका छैनन्। उनीहरूबिच गत जुन २५ मा भेटवार्ता भएको थियो।

त्यसपछि चिनिया परराष्ट्र मन्त्री सहभागी हुने कुनै राष्ट्रिय अनि अन्तर्राष्ट्रिय मञ्चमा देखिएका छैनन्। उनी इन्डोनेसियाको जकार्तामा भएको दक्षिण-पूर्वी एसियाली मुलुकहरूको सङ्गठन आसियानमा समेत सहभागी भएका थिएनन्। उनको अवस्थाबारे चीनले कुनै विवरण सार्वजनिक गरेको छैन।

काङ दुई पटक चिनियाँ विदेश मन्त्रालयको प्रवक्ता भएका थिए। २०१७ मा उनी चिनियाँ विदेश मन्त्रालयको प्रोटोकल विभागका महानिर्देशक भए। २०१८ देखि २०२१सम्म उपविदेश मन्त्रीको जिम्मेवारी पाएका थिए।

९ साउन, २०८०, १७:२९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।